पनौती नगरपालिका वडा नं. ७ निवासी सूर्यप्रसाद लाकोजू नेपाली भाषा र साहित्यमा चर्चित नाम हो । लामो समयदेखि अक्षरमार्गमार्फत साहित्यिक पत्रकारिता गर्दै आएका उनी नेपाल साहित्यिक पत्रकार संघका केन्द्रीय कोषाध्यक्ष हुन् । पुस्तकहरू अध्ययन गर्ने र लेख्ने अभिरुचि भएका लाकोजूका साहित्यिक गतिविधि लोभलाग्दा छन् । साहित्यिक संस्थाहरूमासमेत सक्रिय रहेका उनको मौलिक कृतिको सङ्ख्या तीन दर्जन पुग्न लागेको छ । हालसम्म उनको स्पर्श, मेरो मन मेरो मीत, घामको चुम्बन, मेरो घाम, घाम फुल्ने यामगरी पाँचओटा कवितासङ्ग्रह, पाँचओटा मुक्तकसङ्ग्रह प्रकाशित छन् ।
भावनाका फूलहरू, फूलहरूको मेला, शास्वत स्वरहरू, स्वर्णिम धुन र अक्षरका स्वरूप मुक्तक सङ्ग्रह, गुराँस फुल्ने मन र अक्षरका स्वरहरू हाइकुसङ्ग्रह, पनौती पनौतीको बाह्रवर्षे मकरमेला अनुसन्धानमूलक निबन्ध सङ्ग्रह, स्मृतिका आलेखहरू, प्रेरणाको चौतारी (प्रेरकप्रङ्ग), केही काभ्रेली अक्षरकर्मीहरू-१ प्रकाशित छन् ।
बालसाहित्यमासमेत कलम चलाउने लाकाजुको कोपिला, घाम उदायो, मेरो घाम, फूलैफूल, साथी, मेरो सानो घर बालकविता सङ्ग्रह प्रकाशित छन् भने यःमरी (परिचयात्मक बालपुस्तक) र मकरको कथा प्रकाशित छन् । त्यस्तै, आसामको स्पर्श नियात्रा, सुसेली गीत सङ्ग्रह, दिवारका चुम्बन हिन्दी कवितासङ्ग्रह, अरनिकोको श्वैतचैत्य (नेपाल भाषाबाट नेपालीमा)अनुवाद प्रकाशित छन् । पछिल्लो समय उनी नसना कथासङ्ग्रह र आफ्नो बाल्यकालिन केही संस्मरण पनि प्रकाशन तयारीमा छन् ।
फुटकर रूपमा राष्ट्रिय दैनिकहरूमा प्रकाशित उनका कथाहरू पनि लोकप्रिय छन् । नेपाली भाषाका साथै अंग्रेजी भाषामा समेत कलम चलाउँदै आएका उनको त्यतिकै सङ्ख्यामा सम्पादित कृति पनि छन् ।
सांस्कृतिक निबन्धको अर्को एउटा पुस्तक पनि लेखनको क्रममा रहेको बताउने लाकोजूसँग आजको आँगनमा मनु विद्रोहीले गरेको भलाकुसारीको सम्पादित अंश यस्तो छः
साहित्य यात्रा कहिलेदेखि सुरु गर्नु भयो ?
लामो समय भयो । २०५४ सालमा मेरो पहिलो कृति भावनाका फूलहरू मुक्तक सङ्ग्रह प्रकाशनमा आएको थियो । हुनत त्योभन्दा पहिले फुटकर रचनाहरू सिर्जना गर्दै आएको थिएँ ।
कुन विधाबाट साहित्यमा प्रवेश गर्नु भयो ?
स्कुले जीवनमै कविता लेख्ने प्रयास गरेको थिएँ । म कक्षा नौ मा पढ्दा जिल्लामा भएको कविता प्रतियोगितामा भाग लिएको थिएँ । त्यसबेला प्रथम भएको याद छ । त्यहीँ सफलताबाट कवितामा अगाडि बढ्न हौसला मिल्यो ।
साहित्यमा लाग्ने प्रेरणा कहाँबाट मिल्यो ?
आफ्नो इच्छा, विद्यालयमा हुने अतिरिक्त कृयाकलाप, घरपरिवार विशेष गरेर मेरा पिताजीको गीत आदिका कारण साहित्यमा तानिएँ ।
तपाईंको विचारमा साहित्य के हो ?
मनको भावनालाई कलात्मक ढङ्गले प्रकाशन गर्ने प्रकृया नै साहित्य हो । यो समाजको प्रतिबिम्ब पनि हो ।
असल राजनीति गरे समाजको हित हुन्छ । व्यावसाय गरे अर्थ उपार्जन हुन्छ । खेती किसानीबाट अन्न उब्जनी हुन्छ । बिभिन्न सरकारी वा प्राईभेट सेवामा लागे रोजगारी र समाजलाई सेवा पनि हुन्छ । कविता लेखेरचाहिँ के हुन्छ ?
सबैभन्दा महत्वपूर्ण कुरा चेतना हो । कविताले मानिसको मनलाई शुखानुभूत मात्र गराउँदैन । यसले त समाजमा चेतना प्रवाह समेत गर्दछ ।
नेपालमा कविहरू धेरै किताबचाहिँ कथा उपन्यासको धेरै बिक्री हुने भन्छन् किन होला ?
कवितामा बौद्धिकता बढी हुन्छ । सायद त्यसैले कथा, उपन्यासको तुलनामा कविताले संख्यात्मक रूपमा थोरै पाठकको मन तान्ने गरेको होला ।
सामाजिक संजालमा चर्चाले उचाइमा पुगेको पुस्तक पढ्दा त्यत्तिकै उत्कृष्ट र स्तरीयता पाउनुभएको छ ?
कुरो सही हो । पाउनु पर्ने पुस्तकले चर्चा नपाएको पनि यथार्थ हो । कुनै पुस्तकले हैसियतभन्दा बढी चर्चा पनि कमाएको कुरा सतही हो ।
साहित्यलाई समाजको ऐना मानिन्छ,कस्ता कस्ता विषयमा जोड दिने हो भने समाज परिवर्तनको लागि सहयोग पुग्ला ?
साहित्य आफ्नो लागि मात्र नभई समाजकै लागि पनि लेखिने विषय हो । साहित्य जहिले पनि समाजको सकारात्मक परिवर्तनका लागि भूमिका खेल्न सक्ने भयो भने समाज रूपान्तरणमा टेवा पुग्दछ । यसो भन्दैगर्दा सर्जक कुनै निश्चित सीमाभित्र बाँधिएर लेख्नुपर्छ भन्ने मेरो भनाइ होइन । कुनै विषय वा घटनाप्रति सर्जकको पनि आफ्नै विचार, धारणा वा भावना हुन्छन् । त्यस्ता विचार, भावना अथवा धारणालाई पनि स्वतन्त्र किसिमले व्यक्त गर्ने वातावरण हुनुपर्छ ।
साहित्यमा दीगो विकासका लागि राज्यस्तरबाट कस्तो कदम चालिदिए राहत महसुस गर्न सकिएला ?
हामी कलमजिवीले जहिले पनि यथार्थताको धरातलमा उभिएर कलम चलाउनु पर्छ । यसरी सत्य कुरा व्यक्त गर्न राज्यस्तरबाट प्रोत्साहन हुन आवश्यक छ । साहित्यको दीगो विकासका लागि राज्यस्तरबाट ठोस योजनासहित लेखन, प्रकाशन, वितरणलाई सहज बनाउन आवश्यक छ ।
तपाईंलाई भन्न मन लागेको मैले सोध्न छुटाएको केहि छ कि ?
यो अवसरका लागि यहाँप्रति आभारी छु । र अन्तमाः
सबै अट्ने एउटै छाना छाउन पाए हुन्थ्यो
सबैसँग चोखो प्रीति लाउन पाए हुन्थ्यो
हिमाल, पहाड र तराईको शब्द जोडेर
सधैभरि देशको गीत गाउन पाए हुन्थ्यो ।
प्रतिक्रिया
-
४
