✍️ विश्वेश्वरप्रसाद कोईराला
सुनकोशी र तामाकोशीको सङ्गममा बिहान भयो । सुनकोशी उत्तरबाट प्रशस्त वेगसँग बगेर आउँथ्यो, पूर्वतिरबाट तामाकोशी धागोजस्तो पातलो धारा लिएर आउँथ्यो र सुनकोशीमा मिसिन्थ्यो । सुनकोशीलाई तर्न सक्ने कोही मात्र होलान् तर तामाकोशीलाई दह्रो तिघ्रा भएको जसले पनि तर्न सक्थ्यो । यी दुवै नदीको किनारमा दुवैतिर हरियो–परियो केही उम्रेको थिएन । यिनको सम्मानार्थ रूख पातहरू ठाडै उभिएका जस्ता थिए ।
सूर्यको प्रथम किरण पर्नासाथ पृथ्वीमा पाप्रा उप्केजस्तो गरेर नदीका किनारमा घुम्लुङ्ग परेर सुतेका चार पाँच जना उठे । सबैको मनमा उठ्नासाथ प्रश्न उठ्यो पेट कसरी भर्ने ? एउटाले अर्कोको मनोभाव बुझेकोजस्तो गरेर सबै मुखामुख गर्न लागे । विधवाको दृष्टि गोरेमाथि थियो । विधवाले सबैलाई सम्बोधन गरेर भनिन्– ‘होइन, तिमीहरू घरबाट हिँड्दा पेट भर्न के उपाय गरेर हिँडेका थियौ ? के खाउँला भनी ठानेका थियौ ?’ सबै जना विधवाको कुराले विस्मित भए । भोटेले भन्यो– ‘मेरो त घरै छैन ।’ बूढोले भन्यो– ‘मेरो त थियो, तर अब म पनि घरद्वार नभएको छु । तर नानी, तिम्रो भए किन यहाँ आएकी त ?’
घरद्वार नभएका यी चार जना माग्ने भनूँ वा कुल्ली भनूँ काम पाए कुल्ली नत्र माग्नेका माझमा घरद्वार भएकी विधवा कागको हूलमा हँसिनी थिइन् । तिनले अन्नपूर्णा झैँ झट्ट आफ्नो पोकोबाट चिउरा झिकिन् र भाग लाउन थालिन् र सबैको चिउरामाथि थप थप चाकूका डल्ला राखिन् । सबैको आँखामा अकस्मात् तेज आयो र सबैको हृदयमा विधवाप्रति महान् आदरको भाव उत्पन्न भयो । गोरेलाई आफ्नू भागबाट चिउरा थपिदिँदै भनिन्– ‘तिमी जवान छौ । तिमीलाई अरूभन्दा बढ्ता भोक लाग्दो हो ।’ फेरि सबैलाई सम्बोधन गरेर भनिन्– ‘मधेसतिर हिँडेकी, पोइ छैनन् । सासू ससुरा फुटेका आँखाले हेर्दैनन् । देवर रुखो माया गथ्र्यो तर पोइ नभएको घरमा टिक्न सकिनँ ।’
यो वाक्यले ती चारैजनाको हृदयमा खूब प्रभाव पार्यो । खान पाउने ठाउँ पोइ छैन भन्दैमा लत्याएर हिँड्नु लरतरो काम होइन । तिनीहरू ती विधवालाई झन् मान गर्न थाले ।
उनले सोधिन्– ‘तिमीहरू कहाँ हिँडेका नि ? तिमीहरूले त राती पनि केही खाएको देखिनँ, त्यसै सुत्यौ । मेरो पनि कोही साथी नभएकोले तिमीहरूनेर आएर सुतेँ । रातभरी तिमीहरूको माया लागिरह्यो ।’
भोटेले बडो आश्चर्य मानी सोध्यो– ‘तपाईँलाई हाम्रो किन माया लाग्यो ? हामी तपाईँको पोइ होइनौँ, छोरा होइनौँ, बाबु होइनौँ ।’
विधवाले भनिन्– ‘तिमीहरू मान्छे त हौ ।’
हिजो दिनभरि नखाएको पेटमा चिउराका कणहरू पर्दा सबै फुर्तिला भएर उत्साहसँग कराई कुरा गर्न थाले । बूढोले भन्यो– ‘नानी, हामीहरू चारजनाको केही नाता छैन । कसैको घर छैन । यता काम पाइन छाड्यो । कतै काम पाइन्छ कि भनेर हिँडेको, अहिले तिम्रा कुराले मधेस जानुपर्नेजस्तो लाग्यो । के भन्छौ साथी हो, मधेस झर्ने ? मधेसमा पेटभरि खान पाइन्छ । म एकचोटि भारी बोकेर मधेस गएको थिएँ ।’
उत्निखेर सबैले मधेस लाग्ने निश्चय गरे र पाँचैजना, चार लोग्ने मानिस एक स्वास्नीमानिस दक्षिणको बाटो लागे । बूढो आफ्नू बितेको जीवनका घटनाहरूलाई भन्थ्यो । उसले एकचोटि निकै पैसा कमायो, सत्र रोपनी खेती गथ्र्यो, पछि त्यसै बिग्रीबिग्री आयो । त्यस बेला त्यो जवान थियो, निधारमा नाम्लो हाली भरियाको काम गरी पेट भर्न सक्थ्यो । अब त त्यो पनि सामर्थ्य छैन । नत्र यो बूढो यसै भोकभोकै हल्लिरहन्थ्यो र ? अब मर्ने बखत पनि भयो । पेटको ज्वाला खप्न नसकेर मात्र यताउति हिँड्नुपरेको ।
विधवाले भनिन्– ‘मेरो त मधेसमा गएर राम्ररी घरबार गरेर बस्ने इच्छा छ । सानो खेतबारी गर्यो । वहाँ खेती गर्न सजिलो छ रे । जग्गा पनि त्यसै पाइन्छ रे । यहाँ त सासू ससुराका कचकचेले अड्नै सकिएन । फेरि पोइ मरेको ठाउँमा त्यसै उच्चाट लागेर आउने ।’
भोटे र धने यिनीहरूको कुरा चाख मानेर सुनिरहेका थिए तर आफू केही बोल्दैनथे । गोरे थाकेजस्तो भएको थियो, त्यो सबभन्दा पछि गोडा घसारी हिँडिरहेको थियो । विधवा गोरेको निम्ति पर्खिन् । उनी थामिएपछि सबै थामिए । गोरे नजिकै आएपछि विधवाले भनिन्– ‘के थाक्यौ गोेरे ? घाम पनि अग्घोर छ । तिम्रो टाउको तात्यो होला, लौ लेऊ, यो कपडा टाउकोमा राख ।’ उनले आफ्नो टाउकोमा राखेको सेतो लुगा झिकेर गोरेको टाउकामा राखिदिइन् ।
फेरि सबै जना हिँड्न थाले । त्यो बूढो भन्नु मात्र थियो, त्यो सबभन्दा अघिअघि लमकलमक गरेर हिँड्थ्यो । भोटे र धने त्यसको दुवैतर्फ त्यसका कुरा सुनीसुनी हिँडिरहेका थिए । आफ्नो पछिल्लो जीवनको घटनालाई त्यसरी रुचाएर तिनीहरूले सुनेको देख्दा बूढो झन् सुरिएर भएनभएको कुरा गर्न थाल्यो । भोटे र धने पक्क परेर सुनिरहेका थिए । भित्रभित्र तिनीहरू बूढाको आदर गर्थे ।
विधवा र गोरे पछिपछि बिस्तार बिस्तार आइरहेका थिए । गोरेको उमेर पच्चीस वर्षको हुँदो हो, विधवाको तीस । गोरे धेरै नबोल्ने र लाज मान्ने स्वभावको थियो । त्यसको खपटे गाला धेरै दिनको परिश्रमले झन् तल भासिएको थियो, आँखा ज्योतिहीन थिए । विधवाले सोधिन्– ‘तिमी मधेस गएर के गर्छौ ?’
गोरेले भन्यो– ‘कुन्नि ।’
विधवाले भनिन्– ‘के तिमी घरबार गर्दैनौ ? खेतीबारी गरी बस्न मन छैन ?’
गोरेले भन्यो– ‘पैसा खोइ नि ?’
विधवाले भनिन्– ‘मधेसमा खेती गर्न त्यसै पाइन्छ । वहाँ खेत सित्तैँ पाइन्छ । तिम्रो उमेर के भयो होला र ? घरद्वार गर । स्वास्नी पाल, छोराछोरी पाल । यस्तो उरण्ठ्याउलो भएर कति दिन बिताउँछौ ?’
विधवाले फेरि एक्कासि प्रश्न गरिन्– ‘तिमीलाई स्वास्नीमानिस मन पर्दैनन् ?’ गोरेले टाउको उठाएर विधवातिर तीव्र दृष्टिले हेर्यो र भन्यो– ‘किन मन पर्दैनन् ?’
विधवाले भन्न थालिन्– ‘म मधेस गएर खेतीबारी गर्छु । घरबार गर्छु, तर स्वास्नीमान्छेले मात्र घर बनाउन सक्तैनन्, लोग्नेमानिस पनि चाहिन्छ । मेरो मनमा त्यसै यो विचार आयो– ‘किन हामी दुईजना मिलेर घर नचलाऔँ ?’
गोरेले विस्मयको दृष्टिले विधवालाई हेर्यो । विधवाले अलिक अप्रतिभ भएर भनिन्– ‘के म तिम्रो लायक छैन र ? मेरो उमेर धेरै भएर के भयो त ? मैले आफ्नो शरीर जोगाएर राखेकी छु । मेरो लोग्ने मरेदेखि मलाई कसैले छुन पाएको छैन । मेरो सन्तान पनि कोही भएन, त्यसो हुनाले शरीर बिग्रन पाएन ।’ गोरेले चकित भै विधवालाई हेरिरह्यो । विधवाले भनिन्– ‘गोरे, मेरो धेरै दिनदेखि आफ्नो घर बनाएर बस्ने इच्छा छ । पोइ चाँडै मरिदिए । आफ्नो इच्छा मुटुमै सुकेर जाला जस्तो भयो । म के छोराछोरी पाउन सक्तिनँ र ? खोइ मेरा छोराछोरी ? खोइ मेरो आफ्नो घर ? खोइ मेरो आफ्नो मान्छे ?’
विधवाको मुख अकस्मात् रुन्चेजस्तो भयो । उनको मुख रातो भयो । मुन्टो तल गाडेर नबोली हिँड्न थालिन् । धेरै बेरसम्म उनीहरू नबोली हिँडिरहे । साँझ पर्ने बखत हुन थाल्यो । विधवाले निस्तब्धतालाई भङ्ग गरेर भनिन्– ‘गोरे मसँग अलिक गहना पनि छ, रुपियाँ पनि छ, त्यसैले गएर खेती किनौँला, घरद्वार बनाउँला, तिमी मेरो भयौ भने यो सब तिम्रो हुन्छ ।’
अलिक पर बूढो भोटे र धने एउटा ठूलो ढुङ्गामा बसेर तिनीहरूलाई पर्खिरहेका थिए । उनीहरूलाई आएको देखेर टाढैबाट बूढोले भन्यो– ‘अब बस्ने होइन ? खाने के नि ?’
सबैको दृष्टि विधवामाथि पर्यो । उनले भनिन्– ‘अलिकता चिउरा बाँचेको छ, पेटभरि नभए तापनि अलि अलि त थेग्ला ।’ तिनीहरू बसेर चिउरा फाँक्न थाले र आकाशलाई छानो बनाएर गुँडुल्किएर त्यहीँ बाटोको छेउमा सुते ।
दिनभरि हिँडेका हुनाले तिनीहरू सुत्न पनि पाएका थिएनन्, भुसुक्क निदाए ।
बिहान सूर्यको पहिलो किरणको साथसाथैमा बूढो उठ्यो र खोक्न थाल्यो । सब जना उठे । तर गोरेको पत्ता थिएन । विधवाले आत्तिएर सोधिन्– ‘गोरे खोइ ?’
बूढोले शान्त भएर भन्यो– ‘गयो होला कतै, अब हामीले हिँडिहाल्नुपर्छ । अहिले खानलाई केही छैन । साँझसम्म त पुग्नुपर्छ । त्यहाँ केही खाने उपाय हुन सक्छ ।’
विधवाको हृदय भारी भयो र उनी बूढो, भोटे र धनेको हृदयहीनता देखेर छक्क परिन् । दुर्दिनको सँगी यसरी अल्पिँदा यिनीहरूको मनमा अलिकता पनि दुःख नहुनु ? तिनी आफ्नो पोको बटुल्न थालिन् । उनको हृदय धक्क भयो । उनको गहनाको पोको छैन ।
सब जना हिँड्न तयार भए । तर विधवा बसेर पोकाहरू बाँधबुँध मात्र गरिरहेकी थिइन् । त्यो देखेर बूढाले सोध्यो– ‘के गरिरहेको, हिँडिहालौँ नत्र साँझसम्म… पुगिँदैन । भोकै सुत्नु पर्ला ।’ विधवाले रुन्चे स्वरमा भनिन्– ‘मेरो गहनाको पोको छैन ।’
सब जना छक्क परेर विधवातिर टुलुटुलु हेर्न थाले । बूढाले भन्यो– ‘तिमी गहना–गुरिया लिएर कहाँ हिँडेको त ? लग्यो होला गोरेले । अब चोरिने कुरा चोरिइहाल्यो, रोएर के गर्नु ?’ विधवालाई त्यसको कुरा सुनेर रिस उठ्यो । उनले चिच्याएर भनिन्– ‘चूप लाग बूढा । त्यस गहनाले मैले के के गरुँला भन्ने विचार गरेकी थिएँ, खेती किनुँला, बिहा गरुँला, घर जमाउँला, छोरा पाउँला । मेरा सारा आशा नष्ट भयो ।’
यति भनेर डाँको छोडेर रुन लागिन् । बूढो तिनी भएनेर गएर उनको काँधमा हात राखेर भन्न थाल्यो– ‘किन रोएकी नानी ? चोरिने कुरा चोरियो । मधेसमा केही न केही उपाय भैहाल्छ । तिमीले पोइ पनि पाउँछ्यौ । तिम्रो घर पनि हुन्छ । नआत्तियौ, लौ हिँड ।’
विधवा टोल्हाएर उभिइन् र बूढोको पछिपछि लागेर हिँड्न थालिन् ।
त्यो टाढाको टाकुरामा पुगेर बूढोले बडो उत्साहसँग दक्षिणतिरको आँखाले भ्याउञ्जेलसम्मको, ठूलो विस्तीर्ण मैदानलाई देखाएर आफ्ना साथीहरूलाई भन्न थाल्यो– ‘ऊ त्यही हो मधेस । त्यहीँ हाम्रो उद्धार हुन्छ । त्यहीँ हामीले अघाउञ्जेल खान पाउँछौँ ।’
भोटे र धनेको आँखामा उत्साहको आभा दगुर्यो । भोकले सुकेको गालामा पनि आनन्दको गुलाफी देखियो । कानसम्म मुखको कुना पुर्याएर मुखभरि चाउरी पारेर तिनीहरू हाँसिरहे ।
तर विधवामा उत्साह थिएन । आफ्नो उमेर ढलिसकेको थियो । उनले तिनै गहना र रुपियाँको आकर्षणले कुनै युवकलाई तानेर आफ्नो बनाउने इच्छा गरेकी थिइन् । आफ्नो सानै उमेरदेखिको सपनालाई– आफ्नो सानो घर, छोराछोरी– सफल बनाउने इच्छा गरेकी थिइन् । सब तासको घर झैँ भताभुङ्ग भयो । उनले पनि देखासिखी गरेर उत्साहहीन दृष्टिले दक्षिणतिरको मैदानलाई हेरिन् ।
प्रतिक्रिया
-
४
