नेपाली साहित्यमा सक्रिय एम.पी. केयरलेस पेसाले सिभिल इन्जिनियर हुन् । हाल दोस्रो स्थानीय निर्वाचन २०७९ मा नागरिक उन्मुक्ति पार्टीको लम्की चुहा नगरपालिकाको मेयर पदका उम्मेदवारसमेत बनेका उनीसँग आजको आँगनका लागि समसामयिक विषयमा मनु विद्रोहीले गरेको कुराकानीकोे सारांश यस्तो छः
तपाईं कविता, गजल र कथा लेखिरहनु भएको मान्छे राजनीतिमा किन आउनु भो ?
म जे लेख्थे / लेखिरहेको छु / लेख्नेछु ती सब यहीँ समाजका घटना हुन । ती सब यही राजनीतिले निर्माण गरेका परिवेश हुन् । लेख्दा लेख्दै आक्रोशित हुँदै कति गाली गर्नु नेता र राजनीतिलाई । खराब छ भन्ने लाग्यो भने अरुलाई सपार्न जा भन्न पनि मिलेन ।
त्यसमाथि हाम्रो समाज अर्काको छोराछोरी जोगी, सन्यासी भएको मन पराउँछ तर आफ्नो छोराछोरी घर व्यवहार नै गरोस् भन्ने चाहन्छ । त्यसैले मलाई लाग्यो म नै राजनीतिमा जानुपर्छ त्यसैले म राजिनिती गर्न आइपुगे।
तपाईंलाई राजनीतिमा लाग्ने प्रेरणा कहाँ बाट मिल्यो ?
यो देशमा यस्तो कुनै नेता छैन जसलाई हेरेर हामीलाई राजनीतिमा जाने प्रेरणा मिलोस् । हामी त बाध्यता परेर राजनीतिमा हाम फाल्नु पर्छ । झुठो आश्वासन, उच्च भ्रष्टाचार, घिनलाग्दो नातावाद र चाकरीको बिरोध गर्दागर्दै म राजनीतिमा आएको हुँ ।
तपाईंलाई नै किन जिताउने ?
मलाई नै जिताउन् भन्ने मलाई अहिले पनि लाग्दैन । सबैका एजेन्डा पढुन् । कसको योजना सही छ र कार्यन्वयन हुनसक्छ उसैलाई जिताउन। सिङ्गापुर बनाउने मोडालिटी अक्षरसः ल्याएर कोही आयो र हो, यसरी बन्न सक्छ लाग्यो भने म पनि उसैलाई भोट हाल्नेछु ।
त्यसो भए, तपाईंले चुनाव जित्नु र नजित्नुमा अन्तर के छ ?
जिते भने अबको दश बर्षमा यो ठाउँमा बेरोजगार युवा भेटिने छैनन् । चुनाव प्रचार प्रसार यति भड्किलो हुनेछैन । नानीहरू स्कुलमा समान हैसियतका साथ पढिरहने छन्। यदि, चुनाव हारे भने म हार स्वीकार गर्नेछु । र अरु के हुनेछ त्यो त समयले बताउला ।
समाज सेवा गर्ने माध्यमहरू थुप्रै छन् राजनीति नै किन रोज्नु भो ?
मलाई समाज सेवाको नाममा कसैसँग पैसा मागेर कसैलाई चामल बाँड्दै हिड्नु छैन । मलाई केही नहुनेलाई रोजगार दिनुछ ।
बालबालिकालाई राम्रो शिक्षा र राम्रो खेलकुद मैदान दिनुछ । शुद्ध खानेपानी र निःशुल्क स्वास्थ सेवा दिनुछ । असल संस्कृतिलाई अगाडि बढाउनुछ । यति थोक गर्नका लागि राजनीतिमा आउन जरुरी छ । त्यसैले राजनीति रोजे ।
राजनीति एक असजिलो पेसा हो, कुरा एउटा गर्ने व्यवहारमा अर्कै देखाउने प्रवृत्ति हावी छ यस कुरामा तपाईं अरुभन्दा फरक कसरी हुनुहुन्छ ?
मलाई लाग्छ राजनीति त्यही असजिलो क्षेत्र हो भन्ने । यदी घुसखोरी , भ्रष्टाचारी बन्नु छ भने यो गाह्रो पेसा हो । हैन गाह्रो नै पेसा भए आफ्ना छोराछोरीलाई किन यस पेसामा लगाउँछन यी नेताहरू । यो सोझा जनतालाई डराउनका लागि उनीहरूले भन्ने गरेको बोली हो ।
यिनीहरू बोल्छन् एउटा र गर्छन् अर्कै । म पारदर्शी रूपले काम गर्नेछु । हेरौं कस्तो रहेछ राजनीति । म १०० रुपैयाँभन्दा माथिको हरेक हिसाब जनताले चाहेको खण्डमा बुझाउनेछु । सूचनाको हक सतप्रतिशत लागू गर्नेछु । कसरी हुँदो रहेछ गाह्रो । सत्य लुकाउन गाह्रो नै छ । अहिलेसम्म यिनीहरूले गर्न खोजेको भनेकै सत्य लुकाउने खेल हो ।
चुनावी घोषणा पत्रमा केके कुराहरूलाई जोड दिनुभएको छ ?
म मेयर भए भने निम्न लिखित कार्यहरू गर्ने छैन ।
जग्गा पल्टिङ गरेर किन्ने बेच्ने काम गर्ने छैन र यस्तो कार्यलाई निरुत्साहित गर्नेछु ।
तलबवाहेक अन्य कुनै भत्ता लिने छैन । यदी लिनै पर्ने कुनै भत्ता भए त्यो म टोलमा गठन भएका खेलकुद क्लबलाई दिनेछु ।
म पेट्रोल र डिजलबाट चल्ने कुनै पनि सरकारी साधनको उपयोग गर्ने छैन । (नगरपालिका भित्रको हकमा)
मेरो परिवार भित्रबाट कसैलाई पनि नगरपालिकामा जागीर खानदिने छैन । (करार, ज्यालादारीमा)
म निम्न लिखित कामहरू गर्नेछु ।
शिक्षा
आगामी पाँच बर्षमा बास तथा कृषि विश्व विद्यालय निर्माण गरिनेछ ।
देशमा उद्योग तथा कलकारखाना न्यून रहेकाले । र देश कृषि प्रधान भनिएकाले हामी कृषिमा प्राबिधिकमा बिशेष जोड दिनेछौ । कृषि प्राबिधिकलाई सतप्रतिशत रोजगारको सुनिश्चितता प्रदान गर्ने छौ ।
अन्य प्राबिधिक सिभिल ईन्जिनियर , इलोक्ट्रोनिक्स , मेकानिकल र कम्प्युटर ईन्जिनियरलाई चालिस प्रतिशत रोजगार प्रदान गर्नेछौ ।
स्वास्थ
१. हरेक वार्डमा स्वास्थ चौकी निर्माण गरि । नेपाल सरकारले तोकेका ७२ प्रकारका औषधि निःशुल्क बनाउने छौ । औषधिको कृत्रिम अभाव बनाएर बिरामीलाई जबजस्ती औषधि किन्न बाध्य पारिने अवस्था शून्यमा झार्ने छु ।
२. हरेक वार्डमा एक्सेरे मेसिन राखिने छ ।
३. ६५ बर्षभन्दा माथिका बुढा पाखालाई घरमा पुगि सामान्य खालका रोगको उपचार गरिनेछ ।
४. गर्ववती तथा प्रस्तुति सम्बन्धि सम्पूर्ण खर्च नगरपालिकाले बेहोर्ने छ । आजभोलि औषधि आफैँले किन्न परेको जन गुनासो आईरहेको छ ।
५. आधामै काम रोकिएको ५० शय्याको अस्पताललाई पूरा गरी आउदो बर्षदेखि नै सञ्चालनमा ल्याईने छ ।
६. तीन बर्ष भित्र स्यानेटरी प्याड निःशुल्क बनाइने छ ।
खानेपानी
दुईसय लिटर सम्मको खानेपानी निशुल्क वितरण ९ महिनाभित्र १० वार्डमा वितरण गर्नेछौ ।
यातायात
विद्युतीय सवारी साधनका लागि चिसापानी , लम्की र चुहा गरि तीन ठाउँमा चार्जिङ स्टेसन राखिनेछ । र विद्युतीय साधन खरिद गर्नेको दुई बर्षसम्म नगरपालिकाले नै सवारी साधनको कर तिरिदिने छ । र तीन महिनासम्म निःशुल्क चार्जिङ गर्न पाउने छन्।
अबको तीन बर्षभित्र हरेक वार्डमा नगर बस सञ्चालन गरी महिला तथा फरक क्षमता भएकालाई निःशुल्क र विद्यार्थीलाई ५० प्रतिशत गाडी भाडा छुट हुनेछ ।
व्यापार
लम्की चुहा तराईको नगरपालिका पूर्ण रूपमा कृषिमा निर्भर छ । दिउँसो गर्मीमा खासै व्यापार नहुने हुँदा पूर्ण सुरक्षाको प्रत्याभूत गरी नजिकका साना बजार बेलुका नौ बजेसम्म खोल्ने व्यवस्था गरिनेछ ।
उद्योग
जुनसुकै कुटिर उद्योग र मझौला उद्योग खोल्नेलाई २५ प्रतिशत अनुदान दिइनेछ ७५ प्रतिशत कर मिनाहा गरिनेछ ।
बाँसको प्रयोग गरी विभिन्न बस्तु उत्पादन गर्ने उद्योग निर्माणमा नगरपालिकाले बिशेष पहल गर्नेछ । प्लाष्टिकजन्य वस्तुको उत्पादन निरुत्साहित गरिनेछ ।
पर्यटन
१. प्रत्येक गाउलाई होमस्टेमा परिणत गरिनेछ ।
२. होम स्टे सञ्चालन गर्नेहरूलाई कुनै कर लाग्ने छैन । (स्थानीय तहमा उत्पादन भएका सामाग्री त्यहीँ खपत गरेको खण्डमा मात्रै)
घर जग्गा पास
अनलाइनमार्फत घरको नक्सा पास गर्ने काम तत्काल सुरु गरिने छ । घर बनाउनुभन्दा पहिला दुईवटा फलफूलको बोट अनिवार्य रोप्नु पर्नेछ। फलफूलको बोट नगरपालिकाले उपलब्ध गराउनेछ ।
लगानीको स्रोत
वैदेशिक रोजगारीमा बाहिर पुगेका जनशक्तिलाई स्थानीय तहमा लगानीका लागि वातावरण बनाइनेछ । प्रदेशमा रहेका युवाले यदी कलकारखाना खोल्न चाहेमा नगरपालिकाबाट जग्गा उपलब्ध गराइनेछ वा भनौँ जग्गा भएको मान्छेसँग स्थानीय तहले सहकार्य गरिदिनेछ । (शेयर बाँडफाँडको आधारमा)
त्यस्तो लगानी निम्न लिखित कार्यमा लगाईने छ ।
– फलफूल बगैंचा
– विभिन्न बस्तुभाउ पालन
– फिल्म हल
– वाटर पार्क
– पार्क
– फन पार्क
– फिल्म सिटी
यसको मुख्य उद्देश्य बिदेशमा बसेका नेपाली केही बर्ष उता कामदारको रूपमा काम गरे पनि नेपाल आउदा उनीहरू मालिक बनेर आउन भन्ने हो ।
पारदर्शिता
रु १०० भन्दा माथिका सबै बजेटको हिसाब किताब कार्यपालिकामा पारदर्शी रूपमा राखिनेछ ।
खेलकुद तथा मनोरञ्जन
जिल्ला स्तर भन्दा माथिका खेलाडीलाई कोचको रूपमा स्कुलहरूमा जागीर दिइने छ । (पार्ट टाईम)
हरेक वार्डमा खेलमैदान निर्माण गरिनेछ ।
तीस जनाको समूह बनाएर हरेक वडा हरेक समुहलाई छ महिनाको अन्तरालमा नगरपालिका बाट ५० हजार बराबरको खेलकुद सामाग्री उपलब्ध गराइनेछ ।
हरेक बर्ष उत्कृष्ट खेलाडी घोषणा गरिनेछ । उत्कृष्ट खेलाडीलाई खेल्नका लागि चाहिने हरेक कुरा जस्तैः पञ्जा, जर्सी, जुत्ता मोजा एक बर्षका लागि नगरपालिकाले निःशुल्क प्रदान गर्नेछ ।
कला, साहित्य, समाचार र फिल्म
नगरपालिकाको आफ्नै अनलाइन मिडिया हुनेछ ।
हरेक वडा मध्यम खालको पुस्तकालय निर्माण गरिनेछ ।
खोजमूलक हरेक रचनालाई उचित मूल्यमा नगरपालिकाले किनेर आफ्नै अनलाइन मिडियामा प्रकाशन गर्नेछ ।
आर्टिकल कलेक्सनमा अवकाश प्राप्त शिक्षकहरूलाई विशेष प्राथमिकता दिईनेछ ।
नगरपालिकाभित्र भैरहेका कृषि कार्यक्रम तथा अन्य कार्यक्रमलाई बिशेष प्राथमिकताका साथ समाचारको रूपमा प्रकाशन गर्नेछ।
यसो गर्दा सतप्रतिशत पारदर्शिता रहनेछ।
यस क्षेत्रमा भएका विभिन्न सांस्कृतिक पर्व, नाचगानको संरक्षणका लागि विशेष कदम चालिनेछ ।
यस क्षेत्रमा भएका ऐतिहासिक घटना, संस्कृति, कला र पहिचान झल्काउने खालका फिल्म निर्माणका लागि ‘फिल्म सिटी’ निर्माण गरिने छ ।
कृषि
स्मार्ट कृषि एपको सहायताले झण्झटरहित तरिकाले जनताले सजिलै खेत जोत्ने र अन्नबाली काट्ने व्यवस्था गरिनेछ ।
क) हरेक वार्डमा तीन थान ट्याक्टर , तिन थान हैरा (हलो), तीन थान ट्रली, तीन थान थ्रेसर, तीन थान कटिङ मेसिन गरी आधुनिक कृषि उपकरण राखिने छन् । ती सामान केही अनुदानसहित हरेक वार्डको कृषि काममा लाग्नेछन्।
कृषि सामाग्रीको परिचालन
क) वार्डले हरेक यन्त्र तथा उपकरण केही अनुदानमा दिनेछ । ती सामानको रेखदेख वार्डले नै गर्नेछ । त्यसका लागि आवश्यक जनशक्ति वार्डले नै राख्नेछ ।
ती यन्त्र तथा उपकरण (ट्याक्टरलगायतका सामान) समय, उपलब्धता छ छैन , घरमा बसी बसी अनलाइनबाटै आफ्नो खेत जोताउन सकिनेछ, फलेको अनाज कटाउन सकिने छ ।
कसरी ?
स्मार्ट कृषि एप बनाएर ।
खेत जोताउन र कटाउनका लागि अनलाइनमा गएर आफ्नो कित्ता नम्बर, कति कट्ठा र बिगाहा, कति पल्ट जोत्नुपर्ने ? वा बीउ काट्नु पर्ने ? काम गर्नुपर्ने मिति ? जग्गा धनीको मोबाइल नम्बर लेखेर छोडिदिनु भएको खण्डमा तपाईं भनेको समयमा तपाईंको खेत आँगनमा ट्याक्टर आईपुग्ने छ । तपाईंको खेतको मात्रा अनुसार पैसा अनलाइनबाटै बचत हुनेछ ।
यसका फाइदाहरू
१. खेतीपातीको सिजनमा ट्याक्टर खोज्नुपर्ने अप्ठ्यारो र झण्झट आईपर्ने छैन ।
२. पैसा सिधै बैंकमा जम्मा हुनेछ । यसले गर्दा पारदर्शिता रहिरहने छ ।
३. ट्याक्टर खोज्न जनुपर्ने समय , बैंकमा पैसा बुझाउन जानुपर्ने समयको बचत हुनेछ ।
४. स्वदेश तथा बिदेश तपाईं जहाँ भएपनि तपाईंको खेत जोत्नलाई , बाली काट्नलाई कुनै झण्झट हुनेछैन । नेपालको खेत जोत्नलाई नेपालमै हुनुपर्दैन । जसले जहाँबाट गरे पनि गर्न सक्नेछ यो काम ।
के हाम्रा नेपालमा सबैले मोबाइलमा भएको एप चलाउन सक्लान् त ?
एप सरल र सजिलो हुनेछ । यदि त्यो पनि चलाउन गाह्रो भयो भने जनताले वार्ड कृषि प्राविधिकलाई फोन गरेर सम्पूर्ण विवरण टिपाउन सक्नेछन् र खेत जोतिनेछ ।
यसरी जाने हो भने खेत बाझो रहने अवस्था शून्यमा पुग्नेछ ।
कृषक आफ्नो समय विषदिरहित उत्पादनमा लगाउने छन् ।
के यो सम्भव छ ?
लम्की चुहा नगरपालिकाले आधा अनुदानमा गएको पाँच बर्षमा हरेक बर्ष किसानलाई ट्याक्टर बाडेको देखियो ।
किसानका नाममा ट्याक्टर आफ्ना पार्टीका कार्यकर्तालाई सिधा सिधा बाँडेको पनि पाइयो । यसरी बाँडिएका ट्याक्टरले कति समय कृषिमा दिनुपर्थ्यो ? ती ट्याक्टरले निर्माण कार्यमा कति समय काम गर्न पाइन्थ्यो । जस्ता प्रश्न त छदैँ छन् । म यसरी ट्याक्टर बाड्ने छैन । म स्मार्ट कृषिको पक्षमा छु ।
हरेक वार्डमा एक एक वटा कृषि सङ्कलन तथा बितरण पसल बनाइने ।
भैंसी पालन, गाई पालन जस्ता क्षेत्रलाई विशेष प्राथमिकता दिईनेछ । गाउँलाई जतिसक्दो ब्यायो गाँस (गोबर ग्यास)तर्फ आकर्षण गरी एलपिजी ग्यासको आयत आगामी पाँच बर्षमा ५० प्रतिशतले घटाइनेछ ।
माछा पालन , बाख्रा पालन , विभिन्न चरा चुरुङी पालनबाट उत्पादित सामानको बजार व्यवस्थपन पनि नगरपालिकाले नै गर्नेछ ।
बाँस खेतीलाई ७० प्रतिशत अनुदान दिइनेछ ।
अन्य ।
हरेक वार्डमा जेष्ठ नागरिक मिलन केन्द्र स्थापना गरिनेछ ।
हरेक वार्डमा चिल्ड्रेन गार्डेन निर्माण गरिनेछ ।
हरेक वार्डमा ‘भलभान्सा’ (विवाह ब्रतबन्ध, सानातिना बैठक गर्न सकिने घर) निर्माण गरिनेछ ।
आगामी पाँच बर्ष भित्र २४, ००० हजारलाई रोजगारी दिईने छ र आगामी आठ बर्षभित्र ५० हजारलाई जागिर दिईने छ ।
स्कुलको ब्यवस्थापन समितिको अध्यक्ष हुनलाई कम्तिमा पनि पाँच बर्ष शिक्षण सेवा गरेको मान्छे मात्रै हुन पाउने छ । यसले बिद्यालयमाथि भइरहेको राजनीतिलाई रोक्नेछ ।
लम्कीदेखि चुहासम्म साईकल लेन र फुट पाथसहितको चार लेनको बाटो निर्माण गरिने छ र चिसापानीमा पनि साइकल लेन र फुटपाथसहितको चार लेनको बाटो बनाइनेछ । साथै पिच नभएका हरेक बाटो पिच गरिने छ ।
चुनावका जित्न लागि त आर्थिक रूपमा पनि खर्च टन्नै लाग्छ भन्छन्, कसरी जोहो भएको छ ?
मैले चुनाव लड्नुअघि आफैसँग प्रतिबद्धता गरेको थिए । म भड्किला खालका कुनै कार्यक्रम गर्ने छैन । कसैको बाइकमा पेट्रोल हाली दिएर प्रचारमा जाउ भन्ने छैन । दारु मासु खुवाउने छैन भनेर ।
जे म खाजाको रूपमा खान्छु मसँग हिडेका साथीहरूलाई त्यहीँ खुवाउछु । त्यसैले मैले खाजा खर्च बाहेकको अरु खर्च गर्दिन । यसका लागि अलि अलि सानो सहयोग पनि आएको छ । र केही रकम आफूसँग पनि बचत थियो ।
नेपाल भ्रष्टाचारको चरम दलदलमा फसेको देखिन्छ । यसैकारण पनि विकासको खुड्किला चढ्न सकेको छैन् । तपाईँले जित्नुभयो भने यो समस्याको समाधान कसरी गर्नुहुन्छ । तपाईँनै भोलि भ्रष्टाचारमा फस्नुहुन्न भनेर कसरी विश्वास गर्ने ?
विश्वास गर्ने त जनताको कुरा हो र मैले माथि नै भनिसके मैले केके गर्दिन भनेर यसो नगर्ने हो भने पनि सायद यति मात्रै नगर्ने हो भने भ्रष्टाचार न्यून हुन्छ ।
अबको ५ वर्षमा लम्की चुहा नगरपालिकामा के कस्ता विकास र सुबिधा हुन्छ ?
अबको पाँच बर्षमा लम्की चुहाका स्कुल राजनीतिभन्दा पर हुनेछन् । सरकारी स्कुलमा अस्वाभाविक रूपले विद्यार्थीको संख्या बढ्नेछ । जनताले पाउनुपर्ने निःशुल्क औषधि पाउने छन् । खानेपानीको समस्या सतप्रतिशत हट्नेछ । कम्तीमा हरेक बर्ष दुई राष्ट्रिय खेलाडी लम्की चुहाबाट हुनेछन् । ६० प्रतिशत युवा देशमै काम गरेको भेटिनेछन् ।
लम्की चुहा नगरपालिकालाई व्यवस्थित र समृद्ध कसरी बनाउनु हुन्छ ?
मैले माथि बोलेका कुरा अक्षरसः लागू गरेर व्यवस्थित लम्की चुहा हुनेछ । हरेक व्यवस्थित ठाउँ आफैँ समृद्ध बन्छ । यसमा कुनै शङ्का छैन ।
अन्त्यमा तपाईंलाई भन्न मन लागेको र मैले सोध्न छुटाएको केही छ कि ?
कृपया यसपालि तर, पनि, र जस्ता कारण लगाएर आफ्नो मान्छे भन्दा पनि यो देशमा लागू गर्न सक्ने योजना बोकेका हरेक मान्छेलाई जिताउनुस् ।
यदी त्यसो भएन भने ४० कटेसी रमाउने आस पनि आस नै हुनेछ । कम्तिमा विदेशमा बसेर काम गरिरहेको छोरो नेपालमा मालिक बन्न सक्ने वातावरण सृजना गरौँ।
प्रतिक्रिया
-
४
