✍️ धनराज गिरी

सरल र सज्जन, उही गाउँमा जन्मिए, बालसखा, सज्जन सात महिनाले जेठो, हेर्दा जुम्ल्याहाजस्ता । समय चिप्लिन के बेर, उनीहरू पनि लक्का जवान भए । आफ्नो आफ्नो कारोबार, परिवार। दायित्व आफ्नो आफ्नो । असजिलोमा एक अर्काको सहयोगी । उनीहरूको मित्रता जगजाहेर, कृष्ण र अर्जुन जस्तो। पत्नी पनि जोडी मिलाएर नै बिहे गरे, उनीहरू पनि सहेली । एम ए,चारै जना, साहित्यमा रुचि !

सरलले केही दृश्यहरू देख्यो,विघटनको । केही नजिक भएका आत्मीय बन्धुहरू अति छिटो भीम र दुर्योधन भएको पायो । साझेदारहरू पानी बाराबारको स्थितिमा पुगेको पायो । तीन भाइ भएका कुइकेल परिवारको कुरुक्षेत्र पनि अवलोकन गर्यो । राजनीतिमा झन् बढी विघटन !

‘एक प्रश्न’ जन्मियो सरलको मनमा, होइन, के आश्चर्य हो, मानिसहरू यति धेरै नमिल्दारहेछन्, मिलेको अभिनय पो रहेछ । तर,तर, सज्जन र म ? खोइ त हामी आजसम्म न रातो मुख, न कालो मुख, ऊ जे भन्छ, म मान्छु ,म जे भन्छु, ऊ मान्छ ! केले मिलायो हामीलाई ? ‘सरलको मनमा एक प्रश्न’ जन्म लियो।

पुग्यो बाइक लिएर सज्जनको घर । आफ्नो मनोदशा सुनायो। सरलभन्दा सज्जन तार्किक र सिर्जनशील हो । समस्या समाधान गर्न सिपालु पनि हो।धेरै जोडीको सम्बन्ध बिच्छेद जोगाएको छ । दाजुभाइको विवाद पनि सुल्झाएको छ।

….‘मेरो सरल मित्र सरल,केही हुन केही हुनुपर्छ । हेर ,महाभारतमा भीष्म प्रतिज्ञा हुन्न थियो भने कथा अर्कै हुने थियो ।  पहिलो कुरा, साथीसाथीमा दरार ल्याउने पदले गर्दा हो, हामी बीचमा कुनै पदको विवाद आएन । दोस्रो कुरा, शकुनि र मन्थराको कुराले हो सम्बन्ध खरानी हुने, हाम्रो जीवनमा त्यो पनि भएन, तेस्रो पात्र कोही पनि आएन तेरो मेरो जीवनमा । सकियो ।

चालिस बर्षको हाम्रो मित्रताको जीवनमा तेरो गोजी, मेरो गोजी, मेरो गोजी, तेरो गोजी, सहयोग गरियो, लिने काम भयो, दिने काम भयो । द्रव्य शाहले पनि हाम्रो मन बिगार्न सकेनन् ! अर्थशास्त्र असजिलो विषय हो, तेरो ७७ र मेरो ८१ आएको हो, एम ए मा ! साथी,  हामी संगम सिनेमाको राज कपुर र राजेन्द्र कुमार पनि हुन परेन, साझा फूल र जोर भमरा पनि हुन परेन।

प्रेमस्रेमको चक्कर पनि आएन हाम्रो जीवनमा । यार, हिरोइनजस्ती पत्नी भए पतिलाई भित्र भित्र तनाव हुने सम्भावना हुन्छ, झन् यो फेसबुक ’ हीरोजस्तो पति भएमा उता पत्नीको नीद खराब ! हाम्रो हकमा, हामी आफ्नो आफ्नो भान्सामा तृप्त। अतृप्ति छैन। तैले मेरी शोभातिर नजर लगाएको मैले तेरी प्रभातिर नजर लगाएको भए उहिले हाम्रो दोस्ती एकादेशको कथा हुने थियो ।

हामीले नारीलाई सम्मान गर्न सिकेको हो, यो कुरा हाम्रा आदरणीय गणित गुरू प्रोफेसर विवेकनारायण जमरकटेलले हामीलाई उहिले सिकाउनु भयो, अनेक उदाहरण दिएर। पञ्चायत किन जन्मियोरुहामी दुबैलाई थाहा छ। अब के कुराले हाम्रो मन बिथोल्ने ? भन्त, मेरो सन्त, जान्छ मन अन्त ? मित्रताको दीर्घजीवनको रहस्य यही हो। पवित्रता, सरलता, सज्जनता, इमान, नो छलछाम, नो झूट ! जोगिन्छ सम्बन्ध ! चित्त बुझ्यो ? “विवेक गुरूले हिसाब बुझाए जसरी बुझाइस्, मज्जाले चित्त बुझ्यो ! सलामत रहे दोस्ताना हमारा……….” गहभरि दह बनायो सरलले । ‘पिन्चे मोरा !’ सज्जनले साथीको गाला मुसार्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर