✍️ विकास शैलपुत्र

 

१. छोरो

सही गरिनौ आमा
तिमीले त्यो कागजमा सही गरेर
तिमीलाई थाहा छैन,
सम्पतिको हक छोरोमा सरेपछि
छोरो, छोरोजस्तै रहँदैन
मात्र ‘छोरो’ रहन्छ ।

२. हारजित

अब त मलाई
हारजितको कुनै मतलव रहेन
वर्षौंदेखि फैसला नभएको मुद्दामा
तारीख धाउँदा धाउँदै
म धेरै पटक
हारिसकेको छु ।

३. नास्तिक

साम्यवादका ठेली घोकेर
कट्टर नास्तिक बनेको हुँ म ।

र, आज धेरै दिनपछि
पेटमा अन्न परेको छ
प्रसादका नाममा ।

४. बूढो रुखको कथा

बल छउन्जेल
लाखौं मान्छेलाई छहारी दिएको रुख
आफ्नै समयमा बूढो भयो ।

काम नलाग्ने अर्थमा
शहरको सौन्दर्य बिगारेको आरोपमा
केही तन्नेरी मिलेर काटिदिएछन्
इतिहास समान त्यो बूढो रुख ।

ठूलो अलमलमा छु,
सुनाउँ कि नसुनाउँ
मेरा सन्ततिहरूलाई
त्यो बूढो रुखको कथा ।

५. न्याय

साक्षीहरू ज्यूँदै छन्
सग्लै छन् सबुतहरु
सबैलाई थाहा छ
मारिने को ? मार्ने को ?

तर थाहा नहुँदो रहेछ
यो देशमा,
हत्या कतिबेला भवितव्य बन्छ ?

प्रतिक्रिया

सम्बन्धित खवर