– विकास शैलपुत्र

तिमीले गाँउ छाडेपछि
छाडेका छैनन् मलाई ऐठनहरुले
दिन प्रतिदिन पल प्रतिपल
मलाई झस्काइरहन्छन्, सम्झाइरहन्छन
तिमी गाउँमा नहुनुको परिणाम ।

तिमीले नभुलेको हुनुपर्छ
यही गाउँको उर्वर छातीमा
हामीले रोपेका थियौं
समर्पणका उन्नत बिरुवाहरू
खनेका थियौं सँगसँगै
सहयात्राको प्रेमील बाटो
पुजेका थियौं देउरालीलाई
आस्थाका पातीहरुले ।

नबिर्सेको हुनुपर्छ तिमीले
हामी  अन्मिएको गोधूली
हामीले सँगसँगै भरेका मेलाहरु
सँगसँगै गरेका पर्महरु
सँगसँगै पुगेका मन्दिरहरू।

पक्कै सम्झिएको हुनुपर्छ
हामीले सँगसँगै मनाएका दशैंहरु
सँगसँगै गाएका घाँसेगीतहरू
सँगसँगै नाचेका असारहरू
सँगसँगै बोकेका ढाकरहरु
सँगसँगै चाखेका काफलहरु
सँगसँगै बाँचेका जिन्दगीहरु
सँगसँगै भोगेका दैनिकीहरु ।

तिमीले गाउँ छाडेपछि
ती सँगसँगै अब एक्ला भएका छन्
यो मनजस्तै बाँझा भएका छन्
हामीले मुरी फलाउने खेतहरू
मजस्तै टोलाउन थालेका छन्
ऐजेरु पलाएका पिपलहरु
त्यो देवतुल्य देउराली
पर्खिरहेको छ , एउटा सुस्ताउने बटुवा
पर्खिरहेको छ कलधारो
एउटा तृषित यात्री
कुरिरहेको छ त्यो देवालय
आस्था बोकेका मनहरु ।

तिमीले गाउँ छाडेपछि
जतन नपाएर हुनुपर्छ
मासिएका छन् हाम्रा उनन्तीहरु
विलाउँदैछन् शनै शनै
हामीले जोडेका सतका धनहरु ।

मलाई थाहा छैन कस्तो छ
तिमी पुगेको शहर
तर शंका छ मलाई
त्यहाँको रमझम र तामझामले
तिमीलाई लागेको त छैन बिर्सने रोग ?
त्यहाँको मतलबी हावाले
छोएको छैन त तिम्रो आत्मा ?
त्यहाँको रकमी जालोले
बाँधिराखेको त छैन तिमीलाई ?

यदि भुलेका छैनौं भने
तिम्रा पितापूर्खाको, नाभि गाडिएको धरा
तिम्रा मातापिताको, आत्मा बसिरहेको आँगन
तिम्रा बालापनको, इतिहास लेखिरहेको पाखो
तिम्री एक्ली पुरोधिका, पर्खिरहेकी दोबाटो ।

तोडेर त्यो मायावी शहरी जालो
फर्किनुपर्छ अब तिमी
तिमीलाई तिमी बनाएको
तिम्रो आफ्नै गाउँ ।

तिमी फर्किएपछि
पक्कै पनि फर्किनेछ
तिमीले आफूसँगै लगेको
हाम्रो गाउँको सहकाल ।

***

प्रतिक्रिया

सम्बन्धित खवर