साहित्यमा सक्रिय रूपमा कलम चलाइरहेका नवीन अभिलाषीको साहित्य यात्रा स्कुले जीवनदेखि शुरू भयो । कविता विधाबाट साहित्य यात्रा सुरू गरेका अभिलाषी आफ्नो जीवन भोगाइबाट नै साहित्यमा लाग्ने प्रेरणाको मिलेको बताउँछन् । विशेषगरी कविता र आख्यानमा कलम चलाउने उनको ‘इश्वरको अस्थिपन्जर’ (कविता सङ्ग्रह) र छएकात्म’ (संयुक्त कविता सङ्ग्रह) प्रकाशन भैसकेको छ भने जीवन जगतमा घटिरहेको घटनाहरूमा आधारित नयाँ वर्षको नयाँ उपहारस्वरूप कविता सङ्ग्रह ‘मौलामा बाँधिएको राँगो’ प्रकाशनको तयारीमा रहेको छ । उनै कवि अभिलाषीसँग सेतोमाटोका लागि मनु विद्रोहीको भलाकुसारी यस्तो छः
तपाईं आजभोलि केमा व्यस्त हुनुहुन्छ ?
म त्यति व्यस्त मानिस होइन । म टेलिभिजन समाचार तथा कार्यक्रम प्रस्तोता भएकाले नियमित कार्यालयमै धेरै जसो समय व्यतित गर्छु । त्यस बाहेक अध्ययनमा समय जान्छ । छिटफुट लेखन चल्छ । अनि साथीभाइ भेटघाट र घुमफिर।
तपाईंको विचारमा साहित्य के हो ?
मानव मस्तिष्कले आफुले बाँचेको समय र समाजप्रति कुनै न कुनै रूपमा धारणा निर्माण गर्छ । त्यो धारणालाई कलात्मक रूपमा भन्ने, सुन्ने, सनाउने तथा अभिव्यक्त गर्ने कुरा साहित्य हो । यो एउटा वृहत र बहुआयामिक विषय हो तर यसलाई संक्षेपिकरण गर्दै भन्दा मानिसले आफुले बाँचेको समय सौन्दर्यको लिपिबद्ध गर्नु साहित्य हो । जो कलासंग जोडिन्छ ।
तपाईंको विचारमा पहिला असल पाठक बन्नु पर्छ कि कुशल पाठक किन ?
असल र कुशल पाठकको शाब्दिक भिन्नता खास नहोला । लेखन मात्र होईन मलाई पढ्नु पनि एक प्रकारको साधना वा ध्यान हो जस्तो लाग्छ । यतिबेलाको एउटा मानिसले थाहा पाउन धेरै कुराहरू सधै बाँकी रहन्छ । त्यो अभाव पूरा गर्ने काम थोरै भए पनि पुस्तकले गर्छ भन्ने ठान्छु म । एउटा मानिसले सबै कुरा भोगेर, बाँचेर थाहा पाउनका लागि आयु निक्कै कम हुन्छ, त्यसका लागि अरुका अनुभूति, विचार र धारणा पढेर थाहा पाउनु अपरिहार्य छ ।
अर्को कुरा समय सापेक्ष रूपमा आफुलाई अपडेट राख्नका लागि पनि पढ्नु जरुरी छ । तर प्रधान कुरा यो हो कि के पढ्ने ? पाठ्य विषय कसरी छनौट गर्ने भन्ने कुरा बढि महत्वपूर्ण हुन्छ । त्यसले तपाईको बैचारिक धारणा कुन दिशातर्फ गैरहेको छ भन्ने कुरा निर्धारण गर्छ ।
तपाईंलाई कस्ता कस्ता पुस्तक पढ्न मनपर्छ ? पढेको मध्य तीन उत्कृष्ट पुस्तक तपाईंको नजरमा कुन कुन हो ?
म पत्रकार भएकाले प्रायः सबै विधाका किताबहरूसँग मेरो प्रेम रहने गरेको छ, तर दर्शनका किताबहरू बढी मन पर्छन् । त्यसमा पनि मानव जीवनका दुःख र मुक्तिका लागि निर्माण भएका धारणाहरू पढ्न मन पर्छ । मानव समाज जति प्रविधिमय बन्दैछ, जति सुखसमय बाँच्न खोजिरहेको छ, त्यति नै दुःखको अनुभूति गरिरहेको छ । झन् झन् जटिल बन्दै गैरहेको दुःखको कारणको खोजी र यसको अन्त्य अहिलेको संसारको सबै भन्दा ठूलो महत्त्वको विषय हो ।
त्यस बाहेक नियात्राहरू, त्यसमा पनि ऐतिहासिक नियात्राहरू मलाई मन पर्छन् । म घुम्न मन पराउने तर नपाउने मान्छे हुँ त्यसैले घुम्ने कुराको जुन भोक छ त्यो म किताब पढेर मेट्ने गर्छु । त्यसले तृप्त नभए पनि एक हदसम्मको सुख महसुस गर्छु । र मैले सबै भन्दा धेरै पढ्ने कविताहरू नै हुन् । सकभर जुनसुकै कविताहरू म पढ्ने गरेको छु, किनकि छोटो समयमै धेरै पढ्न सकिन्छ । र कविता मेरो मूल विधा भएकाले पनि कवितासँग मेरो प्रेम बढी छ ।
सामाजिक सञ्जालमा चर्चाले उचाइमा पुगेको पुस्तक पढ्दा त्यत्तिकै उत्कृष्ट र स्तरीय पाउनुभएको छ ?
यो विषयमा आम धारणाभन्दा मेरो धारणा फरक छैन नै भन्ने लाग्छ । सामाजिक सञ्जाल प्रचारको माध्यम मात्रै हो । बजारमा राम्रा नराम्रा दुवै प्रकारका सामग्रीहरू पाइन्छन् नै, तर छनौटको स्वतन्त्रता पाठक वा उपभोक्ताकै हातमा हुन्छ । प्रचार गरिएअनुसार नै किताब राम्रो नराम्रो भन्ने धारणा निर्माण गर्नु नै गलत हुन्छ । त्यसैले हरेक पाठकको पुस्तक छनौटको आफ्नै तरिका हुन्छन् । मलाई सामाजिक सञ्जाल तथा बजारको प्रचारले भन्दा पनि म मेरो रुची अनुसारका किताब आफ्नै तरिकाले छनौट गर्छु ।
साहित्यलाई समाजको ऐना मानिन्छ, कस्ता कस्ता विषयमा जोड दिने हो भने समाज परिवर्तनको लागि सहयोग पुग्ला ?
साहित्य भनेको समाजको ऐना भन्ने भाष्य मलाई सतही लाग्छ । ऐनाको प्रवृति भनेको चित्रहरूको प्रतिविम्ब निर्माण गर्ने हो । आवरणको प्रतिविम्बले मात्र बस्तुको चित्रण गर्न सकिदैन ।
किनकि बस्तुको चरित्रको चित्रण जुन प्रमुख विषय हो त्यो छुट्छ । जस्तो कि चिनी सेतो हुन्छ, भनेर मात्र साहित्य निर्माण हुन सक्दैन् । चिनी जस्तै जुन पनि सेतो नै हुन्छ, तर चरित्रमा जाने हो भने यी विल्कुल भिन्न विषयहरू हुन्, त्यसकारण समाज भनेको आवरण मात्र हैन, यो अनेक चरित्रहरूले निर्माण भएको हुन्छ, र त्यो चरित्रहरूको सौन्दर्यीकरण नै साहित्य हो । अब यसरी सोँच्नुपर्छ ।
समाज परिवर्तनको मुद्दा निक्कै गहन विषय हो । यसमा लामो बहस गर्न जरुरी होला, तर मैले यति भन्छु एउटा कविता लेख्ने मानिसले सचेत प्रयत्न गर्ने हो । वैचारिक रूपमा स्खलनमा बाँचिरहेको राजनीतिक दलहरूलाई सचेत बनाउनका लागि बोलिरहने हो, लेखिरहने हो ।
साहित्यमा दिगो विकासका लागि राज्यस्तरबाट कस्तो कदम चालिदिए राहत महसुस गर्न सकिएला ?
तपाईको प्रश्नले राज्यको साहित्यप्रतिको धारणा र तत्पश्चात निर्माण भएका, हुने गरेका नीति निर्माण र कार्यान्वयनको वातावरणबारे सङ्केत गर्छ । राज्यले साहित्यप्रति कस्तो धारणा निर्माण गर्छ भन्ने सोँच्नु जरुरी हुन्छ ।
साहित्य राज्यको प्रतिपक्षमा उभिने तप्का हो, त्यसैले यसको महत्त्व राज्यले बुझेको छ भने साहित्यको विकासका लागि योजना बनाउछ, आफुलाई पनि बलियो बनाउदै लोकको कल्याणमा काम गर्छ, हैन भने साहित्यलाई कमजोर बनाउने नाममा राज्य आफू पनि कमजोर भएर सकिन्छ, लोकतन्त्र मास्छ । त्यसैले राज्य कस्तो छ भन्ने कुरा बुझ्नका लागि त्यो देशको साहित्य, सङ्गीत र कला कति उन्नत छ भनेर हेर्ने गरिन्छ नि ।
कविता सङ्ग्रहको नाम ‘मौलामा बाँधिएको राँगो’ नै किन राख्नु भो ?
मेरो प्रकाशनको अन्तिम चरणमा रहेको सङ्ग्रह वर्तमान मानिसले बाँचेको समयको अथार्थ चित्रण र देखेको भविष्य हो । वर्तमान व्यवस्था विरुद्धको असन्तुष्टि नै किताबको मर्म हो ।
एक्काईसौ शताब्दीसम्म आईपुग्दा विश्व मानव जगतले लडेर प्राप्त गरेको एक मात्र उपलब्धी भनेको स्वतन्त्रता हो भनेर भन्छौँ, तर त्यो स्वतन्त्रता पर्याप्त छ ? अहिले हामीले बाँचिरहेको जीवन स्वतन्त्र जीवन हो ? पक्कै होइन, स्वतन्त्रताको मान्यता अब यति कमजोर हुनु हुँदैन । त्यस कारण यो मेरो किताबले बोकेको मान्यता नै यो व्यवस्थाको अन्त्य हो, यसको मृत्यु जरुरी छ भनेर नै मैले मौलामा बाँधेको हुँ । यो झट्ट हेर्दा कठोर र क्रुर लाग्छ ।
पुस्तकहरूको भिडमा कविता सङ्ग्रह ‘मौलामा बाँधिएको राँगो’ कसरी पृथक छ ?
यो किताबले सबै प्रकारका पाठकलाई छुने किताब बनेको छ । यसमा मेरो आफ्नै कथालाई आम कथाको रूपमा चित्रण गरेको छु, जस्ले तपाई र अरुहरूलाई पनि उत्तिकै मार्मिक रूपमा स्पर्श गर्नेछ, यसमा प्रेम, दर्शन, पहिचानका विषयहरू सबै समेटेको छु । त्यसकारणले सानो किताबमा निक्कै धेरै विषयको उठान गरिएको मात्र छैन, एउटा कविले देखेको सुदूर भविष्यको सचित्र निर्माण हो ।
तपाईंलाई भन्न मन लागेको मैले सोध्न छुटाएको केहि छ कि ?
छैन नि, मेरा कुराहरु राख्ने अवसर दिनुभएको प्रति म हार्दिक आभार व्यक्त गर्दछु, तपाईसहित सम्पूर्ण टिमलाई । पुस्तक बजारमा आएपछि सबैको प्रतिक्रियाको अपेक्षा गर्दछु ।
प्रतिक्रिया
-
४
