दाङ – उदाहरण समूह, नेपालको आयोजनामा तेस्रो दाङ लिटरेचर फेस्टिभल तीन दिनसम्म बिभिन्न सेसनहरू सञ्चालन गरि सम्पन्न भयो । पहिलो र दोस्रो दिनझैँ तेस्रो दिन फाल्गुन १ गते पनि भिन्दा भिन्दै चार सेसनहरू सम्पन्न भए ।

महोत्सवको अन्तिम दिनको दोस्रो सेसनको विषय थियो, ‘पश्चिममा पुस्तान्तरण’ । यो विषयमाथि छलफलमा थिए वक्ताद्वय युवा कवि, पत्रकार नविन अभिलाषी, र गजलकार तथा राप्ती साहित्य परिषदका अध्यक्ष टिकाराम उदासी साथमा सहजकर्ताको भूमिकामा युवा कवि विष्णु सन्यास थिए ।

पश्चिममा पुस्तान्तणको नाम दिईए पनि बिशेषगरि पश्चिम साहित्यमा पुस्तान्तणको कुरामा छलफल केन्द्रित भयो । बिभिन्न साहित्यिक संघ-संगठनमा एकै व्यक्ति हावी भैरहने र संस्थालाई पुरानै ढर्रामा चलाउने र समय अनुरुप संघसंस्था चल्न नसक्दा युवा पुस्ताको माग, वर्तमान अवस्था अनुरुप चल्न नसक्दा पश्चिमको साहित्य समय अनुकुल परिवर्तन र बलशाली हुन नसकेको, अझै अघि बढ्न नसकेको भन्ने जिकिर युवा कवि नविन अभिलाषीले गरे ।

उदाहरण समूहकै एक कवि अभिलाषीले पुस्तान्तरण हुन नसकेकै कारण उदाहरण समूह जन्मिन पुगेको भन्दै पावर सेयरिङका लागि पनि पुस्तान्तरण हुन आवश्यक रहेको औँल्याए । एक व्यक्तिले १० वर्ष जे जति सक्छ त्यति सत्तामा बसेर काम गर्ने र त्यसपछि त पुस्तान्तरण गर्नै पर्ने उनको ठहर रह्यो ।

रापती साहित्य परिषद्का अध्यक्ष टीकाराम उदासीले पनि आम युवा पुस्ताले अघिल्लो पुस्ताले सञ्चालन गरेको संघ संस्थाका गतिविधीमा खासै चासो नराखेको गुनासो गरे । परिषदले प्रकाशन गर्ने अन्तर्ध्वनी साहित्यिक पत्रिकामा पटक पटक रचना पठाउन आग्रह गर्दा पनि नपठाउने, कार्यक्रममा आउन आग्रह गर्दा चासो नदिने भएकाले पनि पुस्तान्तरण गर्न कठिन भएको बताए । उनले यहि मञ्चबाटै युवापुस्तालाई साथमा आएर सहकार्य गर्दै अगाडि बढ्न आग्रह समेत गरे ।

युवा कवि तथा सेसनका संयोजक विष्णु सन्यासले दुई वक्ताहरूलाई बोल्न हम्मे हम्मे पर्नेगरि प्रश्नहरू राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर