✍️ नवराज न्यौपाने ‘मौन’
विक्रम सम्वत २०७२ साल वैशाख १२ गते शनिबारको दिन ।त्यतिखेर हामी वनस्थलीमा डेरा गरेर बसेका थियौं । म विहानको खाना खाइवरी खाटमा पल्टेको थिएँ । छोराछोरी पल्लो कोठामा पढ्दै थिए । म त कतिखेर निदाएछु ,पत्तै भएन । ब्युझदा खाट जोडले हल्लिरहेको थियो ।
झट्पट उठ्न खोजें तर सकिन । छोरा पल्लो कोठाबाट निस्केर भागौं भागौं भन्दै भर्याङको रेलिङ समात्दै तल दौडेर गयो । छोरी आत्तिदै मेरो कोठामा पसिन् र खाटको खुट्टा समातेर बसिन् । भान्साका भाँदाकुँदाहरु बज्न थाले । हेर्दाहेर्दै भाँडाकुँडाहरु ढल्न थाले । बाहिरतिरबाट पर्खाल भत्केको आबाज आयो । मानिसहरु चिच्याउदै घरबाहिर निस्कन थाले । हामी पनि तेस्रो तलाबाट झरेर घर नजिकको खाली चौरमा गयौं ।
चौरमा मानिसहरु जम्मा भएर भगवान पुकार्न थाले । कहाँँकहाँ के कति क्षति भयो होला भनेर बुझ्न सबै आतुर देखिन्थे । बारम्बार भूकम्पको पराकम्पन आइरहेको हुँदा घरभित्र जान र कतै घुम्न जान मानिसहरु डराइरहेका थिए । विद्युतसेवा अवरुद्ध भएको थियो । टेलिफोनको नेटवर्क व्यस्त रहेको थियो । सबैले आफ्ना आफन्त र इष्टमित्रसँग फोनमा कुरा गर्न थाले ।
रिचार्ज ब्यालेन्स नभए पनि नेपाल टेलिकमले फोन सुबिधा उपलब्ध गरायो । त्रासैत्रासमा दिन बिताएर साँझमा सबैले पाल टाँगेर बस्ने ठाउँँ बनाउन थाले । निरन्तर पराकम्पन आइरहेको हुँदा खाना खान कोठामा जान समेत डराउनुपर्ने अवस्था थियो । जसोतसो खाना खाएर सबैजना मिलेर पालमुनि एकछत्त भएर रात कटाइयो ।
यही रीतले एकहप्ता घरबाहिर पालमा बिताइयो । होटल, पसल र फूटपाथे ब्यापार सबै बन्द थियो । दानापानी जुटाउन पनि समस्या थियो । हामीले भान्सा भुइतलामा सार्यौं र घरबेटीसँग एउटै भान्सामा खाना खान थाल्यौं । यसैबीच वैशाख मसान्तसम्मको लागि शिक्षण संस्थाहरु बन्द भए । छोराछोरिहरु घर जाने भए । म एक हप्तापछि अफिस पुल्चोक जाने भएँ ।
आलमुनिको बसाइ असहज भए पनि समूहमा बसेकोले कुराकानी र भलाकुसारी गरेर बित्थ्यो । कोही मादल,खैजेडी बजाएर भजन कीर्तन गर्थे । कोही ख्यालठट्टा गरेर र चुड्किला सुनाएर रमाइलो गर्थे । म पनि चुड्किला सुनाउने , आइक्यू सोध्ने ,मुक्तक र कविता सुनाउने गर्थें । पालको बासाइले सबै मानिसहरुमा आपसी सम्बन्ध र सद्भाव बढाएको थियो । धनी र गरीबको दिनचर्या र बसाइ उस्तैउस्तै बनाएको थियो ।
पराकम्पनको मात्रा अलि कम हुन थालेपछि दैनिकी अलिक सहज् हुँदै गयो । हामी बेलाबेलामा बनस्थली,बोहोराटार ,रानीबन र ढुङ्गेधारातिर भत्केका संरचनाहरु अवलोकन गर्न जान्थ्यौं । भत्केका घर पर्खालहरु देख्दा मन भारी भएर आउँथ्यो । तर पनि भगवानको लीला सम्झेर हामी आफू बाँच्न सफल भएकोमा गर्व गर्थ्यौ ।
केही दिनमा नै हाम्रो मोबाइल र टर्चको चार्ज सकियो । पछि पैसा उठाएर हामीले जेनेरेटर चलाएर चार्ज गर्यौं र पालमा बत्ती पनि जडान गर्यौं । अब झिलिमिली उज्यालोमा नाचगान झनै रमाइलो हुन थालेको थियो । छोराछोरी घरमा गएपछि म दिदीको घरमा काँडाघारी वीरेन्द्रचोक जाने भएँ । त्यतैबाट अफिस जाने आउने गरी म बनस्थलीको समूहबाट बिदा भएर काँडाघारी गएँ । त्यहाँ दिदीहरु पनि चौरमा पाल टाँगेर र समूहमा मेस चलाएर बस्नुभएको रहेछ । दिदी रेड्क्रस अफिसमा जागिरे हुनुभएकोले उहाँको कार्यव्यस्तता निकै बढेको थियो ।
एक हप्तापछि म आफ्नो अफिस दुर्गम क्षेत्र बिकास समिति श्रीमहल पुल्चोक गएँ । हाम्रो अफिस नयाँ भवन भएकोले कुनै क्षति भएको रहेनछ ।तर दराज र र्याकहरु ढलेर कागजात र फाइलहरु छरपष्ट भएका थिए ।
सबैले आआफ्नो कोठाका सामानहरु मिलाएर राख्यौं र बगैंचा फूलबारीमा गएर बस्थ्यौं । किनभने कोठाबित्र काम गर्दागर्दै वैशाख सत्ताइस गते अर्को ठुलो पराकम्पन गएको थियो । यसले हामीलाई तर्साकेको थियो ।
पुरानो राणाकालीन भवन भने भात्केको र चर्केको हुँदा स्थानीय पूर्वाधार बिकास तथा कृषि सडक विभाग (डोलिडार) को कार्यालय भने सस्पेन्सन ब्रिज डिभिजन छेउको बगैचामा पाल टागेर काम शुरु गरिएको थियो ।
अफिसमा गएर पत्रपत्रिका हेरेर समय कटाइन्थ्यो । पत्रिका पढेर भूकम्पको असरबारे धेरै कुरा थाहा पाइयो । वैशाख १२ गते विहान नेपाली समय अनुसार ११ः५६ मा लगातार ४९ सेकेन्ड्सम्म कम्पन भएको उक्त भूकम्पको नाप सात दशमलब आठ रेक्टरको रहेछ ।
गोरखाको बारपाक केन्द्रबिन्दु रहेको उक्त भूकम्पमा राष्ट्रको शान धरहरा ढल्न पुगेको थियो र धरहरा चढ्न गएका ७२ जनको मृत्यु भएको थियो । सर्वोच्च शिखर सगरमाथामा हिम्पहिरो जाँदा २२ जना पर्वतारोही पुरिएका थिए । त्यस्तै रसुवाको लाङ्टाङमा हिमपहिरो आएर गाउँ सिङ्गै बगाउँदा २५० जना बेपत्ता भएका थिए ।
म आफू फिल्डमा खटिने कर्मचारी भएकोले बाह्रै महिना भनेको समयमा गाउँ घुम्नुपर्ने बाध्यता आउने गर्थ्यो । कर्तव्य पालनाको शिलशिलामा ललितपुर ,मनाङ ,मुस्ताङ ,कालिकोट ,गोरखा ,धादिङ ,संखुवासभा र रसुवाका गाउँबस्तीमा हिउँदबर्खा ,झरी हिमपात केही नभनी घुमियो । तर म सशस्त्र द्वन्द्वग्रस्त क्षेत्र र प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्रमा घुम्दा कतै पनि असहज परिस्थिति र बाधाहरुको सामना गर्न सधैं सफल भएँ । त्यसैले मलाई ुसोझोको सहारा दैवु भन्ने लोकोक्तिमा पूरापूर विश्वास लागेर आउँछ ।
प्रतिक्रिया
-
४
