दक्षिण कोरिया। दक्षिण कोरियामा सक्रिय डाइनामिक मोरङ कमिटी (DMC) ले नेपालका रसुवा, नुवाकोट र धादिङ जिल्लाका बाढीपीडितको राहत तथा उद्धारका लागि ३० लाख कोरियन वन आर्थिक सहयोग गरेको छ। उक्त रकम नेपाली राजदूतावास, सउलमार्फत नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिएको हो।
कमिटीले सन् २०२६ सेप्टेम्बर २४ तारिख छुसक (कोरियन दशैं) को अवसरमा दक्षिण कोरियाको सुवनमा आयोजना गरेको ‘DMC छुसक डान्स पार्टी’ कार्यक्रमबाट प्राप्त मुनाफाको ५० प्रतिशत रकम बाढीपीडितको सहयोगार्थ प्रदान गर्ने संस्थागत प्रतिबद्धताअनुसार उक्त सहयोग गरेको हो।
सन् २०२६ अक्टोबर ९ तारिख नेपाली राजदूतावास, सउलमा आयोजित कार्यक्रममा कार्यवाहक राजदूत निर्मलप्रसाद भट्टराईको रोहवरमा ३० लाख कोरियन वन हस्तान्तरण गरिएको कमिटीले जनाएको छ। उक्त रकम नेपाली मुद्रामा करिब ३ लाख ४० हजार रुपैयाँ बराबर हुन्छ।
प्राकृतिक विपत्तिबाट प्रभावित नेपाली नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले कमिटीले आफ्नो सांस्कृतिक कार्यक्रमबाट प्राप्त मुनाफाको आधा हिस्सा सामाजिक उत्तरदायित्वअन्तर्गत राहत कोषमा उपलब्ध गराएको हो। विदेशमा रहेर पनि मातृभूमिमा आइपर्ने विपत्तिमा सहयोग पुर्याउने उद्देश्यले गरिएको यस कार्यलाई सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धताका रूपमा हेरिएको छ।
कमिटीले सहयोग रकम हस्तान्तरण कार्यक्रममा उपस्थित भई साथ, समर्थन र सद्भाव व्यक्त गर्ने अग्रज व्यक्तित्वहरूप्रति आभार व्यक्त गरेको छ। साथै, ‘DMC छुसक डान्स पार्टी’ सफल बनाउन आर्थिक, भौतिक तथा अन्य विभिन्न माध्यमबाट सहयोग गर्ने सम्पूर्ण सहयोगी, शुभेच्छुक र सहभागीप्रति धन्यवाद ज्ञापन गरेको छ।
डाइनामिक मोरङ कमिटीले आगामी दिनमा पनि सामाजिक सेवाका कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
– जीवन खत्री
प्रतिक्रिया
-
४
