– पलपल समीप
हामीमाथि आकाशमात्र खसेन
सम्पूर्ण ब्रम्हाण्ड बजारियो,
धरतीले आफ्नै छाती चिरेर
हामीबाट निमोठेर लग्यो
फक्रिनै नपाएका कोपिलाहरु,
उम्रिँदै गरेका विरुवाहरु,
गर्भमा रहेका बीजहरु ।
न बाँकी राख्यो
अनुभवका संगालोहरु
न उर्जाशील सपनाको बाटो ।
भाग्यले बाँचेका हामी
अब एक्लै रहेनौँ
हामीसँग थपिएका छन्
फक्रिन नपाएका कोमल फूलहरु,
डोर्याएर कोमल हातहरुलाई
पुर्याउनुछ अक्षरहरुको बस्तीमा,
निर्माण गर्नुछ एक उज्यालो विश्वविद्यालय
र खोतल्नुछ बगेका इतिहासको गर्भगृह ।
हामीसँग अझै बाँकी छन्,
सयौँ अधुरा ताता पाइलाहरु,
जुनबाटोमा उनीहरु आफैँ हिड्न पाएनन्
पुग्नुपर्नेछ त्यो गन्तव्यसम्म
र सुनाउनु पर्छ आकाशलाई
छुटेका रेखाहरुको मानचित्र ।
हामी एक्लै पटक्कै छैनौँ,
हामीसँग बाहरुको
थरथराउँदो भरोसा बाँकी छ,
आमाहरुको आशाको टुकी बाँकी छ,
धेरै जूनहरुलाई घाम बनाउनु छ,
अधुरा पाइलाहरुलाई गन्तव्य दिनु छ ।
थाहा छ,
गएकाहरु फर्केर आउँदैनन्
तर
हामीसँग रहेको सानो टुकी
बाल्नु छ झ्याल-झ्यालहरुमा
र निस्किनु छ यो
निष्पट्ट अँध्यारो रातबाट ।
हामी बाँच्नुछ
कसैको साहारा बनेर,
कसैको उज्यालो बनेर,
कसैको सपना,
कसैको गन्तव्य बनेर ।
हामीलाई विश्वास छ,
बाढीले बगाएका संरचनाहरु,
बालुवामा दबिएका जवानहरु,
शरीर छुटेर बचेका बुटहरु,
विद्यार्थी कुरिरहेका
हिलाम्ये झोलाहरु,
कापी, किताब र कलमहरु ।
जीवित राख्नु छ हृदयमा
अस्तित्वका स्मृतिहरु ।
कोर्नु छ बगरमा बालुवाको अक्षरले
एउटा उज्यालो बिहान।
माटोमुनि पुरिएका
जीवित सपनाहरु
एकदिन उम्रिनेछन्
बालुवाका अक्षर पछ्याउँदै ।
***
प्रतिक्रिया
-
४
