– प्रविण भट्टराई ‘प्रयास’
गजल १,
हराउने छ सुन्दरता त्यो तन, घमण्ड नगर
समयले बदल्नेछ जीवन, घमण्ड नगर
रूपको घमण्ड गरेर कसैलाई नहेप यहाँ,
ढल्नेछ यौवनको यो धन, घमण्ड नगर
आज तिम्रो वरिपरि भीड लाग्न सक्छ धेरै,
भोलि रित्तिन सक्छ तिम्रो आँगन, घमण्ड नगर
मान्छेको असली गहना रूप होइन बुझ
चिन्ने गर सधै आफ्नोपन घमण्ड नगर
‘प्रयास’ समय कसैको पक्षमा कहिले हुँदैन,
यहॅा यस्तै छ प्रकृतीको चलन, घमण्ड नगर
गजल २,
चुलो–चौको, मेलापात, कसरी गर्छौ होला
नभनेर दिन र रात, कसरी गर्छौ होला
अबोध ती छोरा–छोरी, घरको सारा जिम्मेवारी
स्वार्थी हुन्छ मान्छेको जात, कसरी गर्छौ होला
थाहै नपाई तिम्रा आँखा रसाउँदा हुन कठै
लुकाएर मनको बात, कसरी गर्छौ होला
दुःख पर्दा साथ दिने कोही छैनन् आफ्नो भन्ने
एक्लै सहेर हर आघात, कसरी गर्छौ होला
‘प्रयास’ टाढा भए पनि मेरो चोखो माया सधैँ
साँचेर यो प्रेमको हात, कसरी गर्छौ होला
***
प्रतिक्रिया
-
४
