– राजु क्षेत्री अपुरो
आज विश्व मुखुण्डो दिवस , मुखुण्डो लगाएर सबैसित रमाउनु पर्ने थियो आज। एउटा बिशाल चौरमा थुप्रै मान्छेहरू मुखुण्डो लगाएर रमाउँदै थिए। कसैले जनावरका , कसैले राक्षसका , कसैले देवी देवताका।
यसरी मुखुण्डो लगाउँदा एकले अर्कालाई चिन्न सकिरहेका थिएनन् । कतिपयले त आफ्नो बच्चा ठानेर अरुको बच्चा लिएर हिंडेको दृश्य देखिन्थ्यो। केहिले आफ्नो श्रीमती ठानेर अरुकै श्रीमतीको हात समात्न पुगेका थिए । युवतीहरू आफ्नो प्रेमी ठानेर दाँत फुस्केका बुढाहरूलाई अङ्कमाल गर्न थाले। दृश्यहरू रमाइलो थियो।
यसै क्रममा एकजना व्यक्तिको आगमन भयो। उनको आगमनसँगै मानिसहरू एकाएक गरेर तर्किदै हिंड्न थाले । अझ उनलाई नजिकबाट चिन्ने केटाकेटी पनि डराएर तर्सिए ।
उनी अचम्भित भए। मुख ढाकेर आउँदा पनि तर्किने र तर्सिने कारण जान्न खोजे। उनले नजिक राखेको गाडिको ऐना हेरे।
हमेशा अरुको मुहार भएको मुखुण्डो लगाएर हिंड्ने उनी यो पटक हतारमा आफ्नै मुहार भएको मुखुण्डो लगाएर आएका रहेछन् ।
***
प्रतिक्रिया
-
४
