– पलपल समीप
नियालेर हेर्यौ भने
देख्नेछौ यी आँखामा
त्यागको भस्म पनि,
सृष्टिको सिन्दुर पनि।
एकछिन उभिएर,सुन्न सक्छौ भने
पाउनेछौ शिवको ताण्डव पनि
शक्तिको कोमलता पनि
यो आवाजमा!
तिमीले त मलाई दुईटा पहिचानमा हेय्रौ
मेरो अस्तित्व जैविकतामा खोज्यौ ।
न म पुरुष,
न म नारी,
विभाजन गरेर मलाई
कसरी भेट्छौ
अस्तित्वको पहिचान ?
आत्मामा कहाँ हुन्छ र
स्त्री वा पुरुषको सिमारेखा?
कुन बगैँचाले सोधेको छ र
फूल फुल्नु अघि
उसको रङ र आकारको परिचय?
न म पूज्य
न म अपवित्र
न कुनै आशीर्वाद
न त श्राप नै ।
म केबल त्यो सत्य हुँ
जसलाई समाजले
पहिले निर्णय सुनायो
वास्तविक पहिचान भन्दा ।
मलाई आपत्ति छ
तिमीले दिएको
पहिचानमा,
म त आफ्नै चेतनाबाट
प्रज्वलित एक अस्तित्व हुँ
देह भन्दा परको ।
आत्मा छाम्यौ भने
भेट्नेछौ तिमीले
मेरो सग्लो परिचय
र
देख्नेछौ मेरो अनुहारमा
अर्धनारीश्वरको दिव्य मुस्कान !
***
प्रतिक्रिया
-
४
