काठमाडौं । वर्तमान कविता समूहद्वारा आयोजित ‘अग्रजसँग वर्तमान कविता’ शृंखलाको चौथो संस्करण वरिष्ठ कवि अविनाश श्रेष्ठको सान्निध्यमा सम्पन्न भएको छ। कार्यक्रमले अग्रज र अनुज पुस्ताबीच अनुभव, ज्ञान तथा सिर्जनात्मक चेतनाको आदान–प्रदानलाई केन्द्रमा राख्दै सशक्त साहित्यिक संवादको वातावरण निर्माण गरेको थियो।
कार्यक्रमको प्रारम्भमा वर्तमान कविता समूहका विश्व सिग्देलले यस्ता अन्तरपुस्ता संवादहरूले साहित्यिक संस्कार, जीवनदृष्टि र अनुभवको हस्तान्तरणमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए। उनले अग्रज स्रष्टाहरूका संघर्ष र अनुभवबाट नयाँ पुस्ताले प्रेरणा प्राप्त गर्ने उल्लेख गर्दै यसअघि स्नेह सायमी, श्यामल र लक्ष्मी मालीसँग पनि यस्तै कार्यक्रम सम्पन्न भइसकेको जानकारी दिए।
नेपाली साहित्यका प्रगतिशील तथा यथार्थवादी धाराका सशक्त कवि अविनाश श्रेष्ठले कार्यक्रममा आफ्नो साहित्यिक यात्राका विविध आयामबारे चर्चा गरे। उनले असमको गुवाहाटीमा बिताएका प्रारम्भिक साहित्यिक दिन, वरिष्ठ कवि हरिभक्त कटुवालसँगको भेट, भारतीय भूमिमा नेपालीभाषी समुदायले भोग्नुपरेका चुनौती तथा नेपाल आगमनपछिका साहित्यिक अनुभवहरू सहभागीहरूसँग साझा गरे। साथै उनले समकालीन नेपाली साहित्य, नयाँ पुस्ताका सम्भावना र नेपाली समालोचनामा देखिएका सीमाबारे पनि विचार व्यक्त गरे।

कविद्वय अविनाश श्रेष्ठ र विष्णुविभु घिमिरे
कार्यक्रमको विशेष आकर्षणका रूपमा कवि श्रेष्ठले आफ्ना चर्चित कविता ‘फर्क’ र ‘कुन्नी कुन अपरिचित गाउँकी नैनतारा बरुवा’ वाचन गरे। त्यसपछि भएको कवितावाचन सत्रमा विष्णुविभू घिमिरे, सुरज पराजुली, केशव भट्टराई, उमेश अकिञ्चन, धीरकुमार श्रेष्ठ, चन्द्रबहादुर लामा, प्रेमिला राई, प्रज्वल अधिकारी, विश्व सिग्देल, रमी प्रिया तथा शकुन्तला जोशीलगायत कविहरूले आफ्ना रचनाहरू प्रस्तुत गरे।
कार्यक्रममा बंगलादेशबाट नेपाल भ्रमणमा रहेकी समकालीन बंगाली कवि तथा कथाकार सेँजुती बरुवाको पनि उपस्थिति थियो। उनले नेपाली, बंगाली र अंग्रेजी भाषामा आफ्ना कविता वाचन गर्दै दक्षिण एसियाली साहित्यिक संवादलाई थप समृद्ध बनाइन्।
साहित्य अनुभव, संवाद र पुस्तान्तरणको जीवित परम्परा भएको सन्देश दिएको उक्त कार्यक्रमले अग्रज र अनुज पुस्ताबीचको रचनात्मक सम्बन्धलाई अझ सुदृढ बनाएको सहभागीहरूले बताएका छन्।
प्रतिक्रिया
-
४
