– योगी नारायणनाथ

(अँध्यारो र उज्यालोको सीमारेखा जहाँ भेटिन्छ, त्यहीँ एउटा कथा लुकेको हुन्छ।)

मध्यरातमा जीर्ण घरको ढोकामा कसैले तीन पटक ढक्ढक्यायो। पुराना पुस्तक मिलाउँदै गरेका वयोवृद्ध गुरु देवदत्तले ढोका खोले। बाहिर पूर्णिमाको जुनको उज्यालोमा भव्य पहिरनको एउटा युवक उभिएको थियो।

“प्रणाम गुरुदेव! म सिद्धार्थ,” युवकले भन्यो, “आज गुरु पूर्णिमा! संसारभर मेरा हजारौँ अनुयायी छन्, तर म तपाईँलाई बिर्सन सक्दिनथेँ।”

सिद्धार्थले महँगो उपहार राख्यो र तुरुन्तै मोबाइलको क्यामेरा अन गर्‍यो। “गुरुदेव, यो क्षण मेरा प्रशंसकहरूका लागि कैद गर्नुपर्छ। आधुनिक समयमा पनि श्रद्धा जीवितै छ भनेर देखाउनु छ।”

उसले ढोगेको नाटक गर्‍यो, बत्ती टल्कियो र दृश्य इन्टरनेटमा पोखियो। केही मिनेटमै प्रतिक्रियाको बाढी आयो।

सिद्धार्थ मुस्कुराउँदै फोनमै हरायो, “हेर्नुहोस् गुरुदेव! आजको गुरु पूर्णिमा त पहिलेभन्दा कति भव्य भयो, हैन?”

देवदत्त शान्त रहे। उनको स्वर गम्भीर भयो, “सिद्धार्थ, तीस वर्षअघि यही रात तँ मेरो ढोकामा आउँदा न कुनै क्यामेरा थियो, न देखावटी निष्ठा। तैँले गुरुदक्षिणामा अहङ्कार सुम्पेका थिइस्, र मैले ज्ञान दिएको थिएँ।”

सिद्धार्थले असजिलो मान्दै भन्यो, “गुरुदेव, समय बदलियो। दिखावा नगरी अचेल कसैले पत्याउँदैनन्।”

“हो, समय बदलियो,” देवदत्तले रहस्यमयी मुस्कानका साथ भने, “विगतमा शिष्य ज्ञान खोज्न गुरुको पाउमा आफूलाई मेट्न आउँथे। आज मानिसहरू गुरुलाई नै केवल ‘सामग्री’ बनाएर आफ्नो प्रचार खोज्न आउँछन्। तैँले मलाई केही दिएको होइनस्… केवल आफ्नो विज्ञापनका लागि मेरो नाम प्रयोग गरिस्।”

सिद्धार्थको चमक हरायो।

देवदत्तले बाहिर हेर्दै थपे— “पहिले गुरु पूर्णिमामा शिष्यको ‘अहङ्कार’ मेटिन्थ्यो र ‘ज्ञान’ बाँकी रहन्थ्यो… आज ज्ञान मेटिएछ, केवल ‘क्यामेरा र अहङ्कार’ बाँकी छ।”

***

प्रतिक्रिया

सम्बन्धित खवर