विराटनगर – छन्द वाटिका नेपाल विराटनगरद्वारा वरगाछी बहुउद्देश्यीय सहकारी संस्थाको सभाकक्षमा आयोजित एक कार्यक्रममा कवि लोचन रिजालको खण्डकाव्य ‘भोगाइ’ सार्वजनिक भएको छ। छन्दवाटिका नेपालका अध्यक्ष कवि हरि कट्टेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि प्राज्ञ विवश पोखरेल विशिष्ट अतिथि गङ्गा सुवेदी, प्राज्ञ खेम नेपाली,अग्रज साहित्यकार बलराम पोखरेल एवम् साहित्यकार हरि कट्टेल र लेखक पत्नी ले संयुक्त रूपमा उक्त कृतिको लोकार्पण गरेका हुन् ।

कृति उपर समीक्षक बाबुराम पोखरेलले समीक्षात्मक टिप्पणी गरे ।कृति उपर टिप्पणी गर्दै उनले यो खण्डकाव्य प्रेम र राष्ट्रवादलाई केन्द्रमा राखेर लेखेको पाइएको बताए । त्यस्तै समालोचक प्राध्यापक कविराज पोखरेलले काव्य कथाले हाम्रो समाज बोलेको बताए भने प्राज्ञ खेम नेपालीले यो काव्य सुकुम्वासी पात्रको पीडालाई अनुभूत गर्दै आएको बताए । समालोचक हरि कट्टेलले कृतिका बारे आफ्नो मन्तव्य राख्दै भने यो काव्य आकारमा लघु काव्य भए पनि आख्यान प्रस्तुतीका हिसाबले पूर्ण खण्डकाव्य बनेको छ । उनले भने ‘यो सामाजिक विषयवस्तुमा आधारित स्वैरकाल्पनिक सामाजिक खण्डकाव्य हो । ‘ उनले छन्दमा लेखिएको यो खण्डकाव्य पढ्दा कविको लेखनीसँग आफू निकै प्रभावित भएको पनि बताए ।

प्राज्ञ विवश पोखरेलले प्रमुख अतिथिको मन्तव्य राख्दै राम्रा कथा लेख्ने लोचन रिजाल अब कवितामा पनि स्थापित हुँदै गएको बताए । समारोहमा बलराम पोखरेल , गङ्गा सुवेदी एवम् केशु विरहीले सर्जकलाई कृतिगत सफलताको शुभकामना दिएका थिए । कार्यक्रममा सुनसरी र मोरङका साहित्यकारहरूको बाक्लो उपस्थिति थियो ।

खण्डकाव्य भोगाइ कविको छैठौ कृति हो र काव्यलाई छन्द वाटिका नेपालले प्रकाशनमा ल्याएको हो । कार्यक्रममा साहित्यकार निर्मला कोइरालाले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रमको सञ्चालन संस्थाका सचिव चिरन्जीबी काफ्लेले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर