– ओम घिमिरे
मुक्तक १
तिम्रो थर मेरो घरको खास बनोस्
मनमुटु दुबै मिलेर मधुमास बनोस्
सृष्टि चल्ने चलाउने जोडि भएरै हो,
तिम्रो हात मेरो साथ सुवास बनोस् ।
मुक्तक २
पानीभित्र हिरा फोर्ने दुस्साहस नगर
बादलमाथि नक्सा कोर्ने दुस्साहस नगर
सम्भव खोज्दै मुर्ख नबन असम्भवमा,
छाँया टिपी माया चोर्ने दुस्साहस नगर ।
मुक्तक ३
तिम्रो मन दु:ख्दा मेरो पनि मन रुन्छ प्रिया
ती नयन रसाउँदा मलाई पीडा हुन्छ प्रिया
दुई मुटुको एक धड्कन बनिरहोस् सधैँभरी,
हाम्रो प्रेम देखेर कविले कविता बुन्छ प्रिया ।
मुक्तक ४
नदेखेर देख्ने, नभेटेर भेट्ने यो कस्तो आकलन
नलेखेरै लेखिने, नमेटेरै मेटिने यो कस्तो प्रचलन
कर्मले जति साँचो लेखे पनि भाग्यले फेरिदिन्छ
एक मुठी सासको यात्रा हो मान्छे यो कस्तो जलन ।
***
प्रतिक्रिया
-
४
