– नारदप्रसाद आचार्य ‘सुदामा’
१)
गरिबको खेतबारीमा अन्नबाली प्रशस्त फलोस्,
घर परिवारको अनुहारमा खुसीको दियो बलोस्
अभाव र भोकमरीले आक्रान्त नहोस् कोही पनि,
प्रत्येक घरघरमा साँझ, बिहान अनवरत चुलो जलोस्।
२)
आतंक रहित समाज बनोस् नयाँ वर्षको शुभकामना
जगतको लक्ष्य शान्ति रहोस् नयाँ वर्षको शुभकामना
ब्राह्मण्डमा सुख, शान्ति अनि समृद्धिको अभाव नहोस्,
हरेक मनमा प्रेमले बास गरोस् नयाँ वर्षको शुभकामना।।
३)
देशभक्तको आँखाबाट आँसु नझरोस् नयाँ वर्षमा,
माटोसँग नागरिकले साँचो प्रेम गरोस् नयाँ वर्षमा,
फलोस् फुलोस स्वाभिमान अनि रहोस उच्च इमान,
सबैको तन, मनमा सुख शान्तिले भरोस् नयाँ वर्षमा।
४)
नयाँ जोस, उमङ्ग लिई उदाएको छ नयाँवर्ष,
हर्ष र उल्लासका साथ आएको छ नयाँवर्ष,
सुस्वास्थ्य र दिर्घायुको कामना प्रियजनलाई,
फेरि पनि सौभाग्यले जुराएको छ नयाँवर्ष।
५)
देख्छु, आजभोलि जताततै ब्रह्मालुट चलेको छ
परायलाई अनिवार्य आफन्तमा छुट चलेको छ
भोजमा आमन्त्रित अतिथि र आयोजक बीचमा,
अनवरत चर्काचर्की अनि कुटाकुट चलेको छ।
***
प्रतिक्रिया
-
४
