– सलिन विष्ट


एउटा यस्तो बजारमा
उभिएको छु,
जहाँ सबैभन्दा महँगो वस्तु
सत्य रहेछ, र सबैभन्दा सहज
उपलब्ध नकाब।

हरेक मानिसको
हातमा एउटा अनुहार छ,
जुन उनीहरूको आफ्नै होइन।

कोही मनभित्र
असुरक्षाको धूलो जम्मा गरेर
सफलताको सुनौलो
नकाब लगाउँछन्।

कोही नैतिकताको
पारदर्शी चश्मा लगाउँछन्,
जसले केवल अरूका
कमजोरीहरू मात्र देख्छन्।
यहाँ भावनाहरु,
आवश्यकता अनुसार साटिने
र किनबेच हुने मुद्रा सरह छन्।

मैले यो बजारमा
आफ्नो वास्तविक
मुस्कान खोजेको थिएँ,
तर मैले भेट्टाएँ
केवल प्रशिक्षित ओठहरूको
कृत्रिम वक्रता,
जसले खुशीलाई होइन,
सामाजिक स्वीकृतिलाई
प्रतिनिधित्व गर्छ।
मान्छेहरू भीडमा हाँस्छन्,
ताली बजाउँछन्, तर जतिबेला एक्लो हुन्छन्,
आफ्नो नकाबलाई
एउटा चिसो पर्खालतिर फालिदिन्छन्,
अनि भित्रबाट निस्किन्छ:
वास्तविक डराएको मान्छे।

हामीले आफ्ना
घाउहरूलाई डिजिटल फिल्टर
पछाडि लुकायौं, र आफ्नो
असफलताबारे चुक्किपनि
बोल्न छाड्यौं।
किनकि
यो बजारको नियम छ;
कमजोरी प्रदर्शन गर्नु
मृत्यु समान हो।
यहाँ केवल विजेताको
भेषमा उभिन पाउनु नै जीवन हो।

म यो बजारमा हिँड्ने
एउटा थकित आत्मा हुँ,
जसले अब
कुनै नकाब किन्न चाहँदैन।
म त्यो मान्छे हुँ
जो आफ्नो क्षतिग्रस्त
अनुहार लिएर,
बजारको कोलाहलमा
आफ्नै मौनताको भजन गाउँछ।

किनकि मैले बुझें;
नकाब जतिसुकै सुन्दर होस्,
त्यसले सास फेर्न दिँदैन,
र स्वतन्त्रता केवल
त्यही अनुहारमा पाइन्छ,
जसलाई समाजले नकार्छ,
तर हामी आफ्नो
हृदयको ऐनामा देख्छौं।

***

प्रतिक्रिया

सम्बन्धित खवर