– रबिता महर्जन
१,
मृत्युपछि अमर हुन कलम चलाउनु पर्छ
आफुमा भएको अन्तर्मुखी गुण जगाउनु पर्छ
कुनै न कुनै कला लुकेर रहेको हुन्छ सबैमा
त्यसमा निरन्तर प्रयास गरि रमाउनु पर्छ
२,
लेख्नुपर्छ समाएर मसीले भरिएका कलम
रक्त माग्ने हतियार बोक्दिन भनी खाउ कसम
धेरै लडाकू बन्न हुन्न है! भोलि आउने पुस्ताले
पुर्खा भन्न छोडेर कुकृत्य देखि गर्ला नि शरम
३,
ब्वाँसोको मुखमा रगत लागेछ हरिण टोकेर
निर्दोष भनि देखाउँन आएछ ब्वाँसोनि बोकेर
चण्डालको त कहिले भलो हुने छैन जीवनमा
सोझा जनावरको प्रगतिको बाटो सँधै रोकेर
४,
डुंगामा छु कसैले त तारेर पार लगाउला भनी
अबेर कुरेँ असल माझीको पर्खाइमा यात्री बनी
किञ्चित नडराइ धैर्यवान मातृ बन्न लालायित
आउने ठेगान छैन मात्र कुरिरहेँ समय गनी
५,
अहम थियो दान गर्छु सबैलाई बराबर
जपि रहन्थ्यो सधैँ आलाप न्यायको खराखर
तीन पाइला जमिन सकेन दिन टेक्नलाई
पाताल पुग्यो थापेर पाउ शिरमा सरासर
***
प्रतिक्रिया
-
४
