इलामको पशुपति नगरमा बसेर कविता कर्म गरिहेका दीपेन्द्र आचार्य, कविताका अलवा हाइकु, हाँस्यव्याङ्ग्य, कथा र लघुकथामा पनि कलम चलाउँछन् । इक्षण, हाइकु सङ्ग्रह प्रकाशित गरिसकेका उनको भर्खरै व्यापार पृथ्वीको कविता सङ्ग्रह प्रकाशित छ । उनै कवि आचार्यलाई उनको नयाँ कृति व्यापार पृथ्वीको अन्तर्गत रहेर सम्पादक जीवन खत्रीले गरेका पाँच प्रश्न र कविको जवाफ ;
१, व्यापार पृथ्वीको सङ्ग्रहका बारेमा बताईदिनुस न ।
– व्यापार पृथ्वीको आवाज हो आजको समयको।मान्छेको समवेदना र समवेदनहीनताको रङले पोतेको समाजको आकृती हो व्यापार पृथ्वीको।
माटो र देश बोल्ने शब्दहरु माला हो यो कविता सङ्ग्रह ।
यहाँ तपाईंले आफ्नो मन र आत्मा भेटाउनुहुनेछ। तपाइले आफ्नो गाउँ समाज अनि आफ्नै संसार भेट्नु हुनेछ यहाँ ।।
इन्डिङ्गो इन्क पब्लिकेसन्सद्वारा प्रकाशित ६५ वटा कविताहरु बोकेको यस कविता सङ्ग्रहमा इतिहास र भूगोल मात्रै होइन विज्ञान पनि जोडिएकोछ। अत व्यापार पृथ्वीको कविता सङ्ग्रह तपाई अनि मेरो मनको आवाज हो जस्तो लाग्छ मलाई ।
२, तपाईँले कवितामा लेख्नु भएको पृथ्वीको व्यापारी को हो र ग्राहक को हो? अनि यही पृथ्वीको एक कुनामा बसेर कविता लेख्ने तपाईँ यो व्यापारको कहाँनिर हुनुहुन्छ?
– यस पृथ्वीमा हरेक मान्छे व्यापारी हो पृथ्वीको र हरेक मान्छे ग्राहक हो पृथ्वीको।यहाँ सबैले आफ्नो भागको पृथ्वीको व्यापार गर्न आतुर देखिन्छ ।
कसैले भोक बेचेर भकारी खरीद गर्छ त कसैले पानी बेचेर प्यास।कसैले आँसु बेचेर मुस्कान खरिद गर्छ त कसैले प्रेम बेचेर भक्ती।कसैले सिद्धान्त बेचेर सम्बन्ध खरिद गर्छ त कसैले जन्म बेचेर मृत्यु।कसैले अन्धविश्वास बेचेर विश्वास खरिद गर्छ त कसैले ढुङ्गा बेचेर ईश्वर।।
म पनि यसै पृथ्वीको एक अंश भएकाले आफ्नो भावनालाई पाठकको हृदय सङ्ग बेच्न पृथ्वीको एक कुनामा बसेर कविता कर्म गरिरहेछु।
३, कविता के हो ? किन लेख्नु हुन्छ?
कविता म हो। मेरो आत्मा हो, परमात्मा हो कविता।
हरेक प्राणी हो कविता। कविताले जीउन मात्रै होइन मर्न पनि सिकाउछ।यसैले जन्म र मृत्यु बीचको साँघु हो कविता।
जीवन भोगाइको मर्म खोज्न कविता लेख्ने गर्छु। दुखाइहरुलाई शब्दरुपी मल्हम लगाइ समाजमा रहेको पीडाहरुलाई पीडाकै रङ्गमा उतार्न कविता लेख्ने गर्छु। ताकि कविता मार्फत ती पीडाहरु आवाज बन्न सकुन।
४, सङ्ग्रह निकाल्ने सोच कसरी आयो? सङ्ग्रह निकाल्नु पर्ने किन रहेछ ?
म कालेबुङको एस. यु. एम. आइ. स्कुलमा पढेर हुर्केको मान्छे ।त्यस पछि दार्जिलिङ सरकारी महाविद्यालय पढे।साहित्य चेतना मलाई त्यहीँबाट प्राप्त भयो।साहित्यको त्यो उर्वर भूमीमा मेरो हृदयमा पनि साहित्य अङकुरित भयो र लेखनमा लागियो।त्यो समयमा खोइ कुन्नि कस्तो हुटहुटी थियो विद्यार्थी जीवनमा नै ४० पृष्ठको ” इक्षण” नामको हाइकु सङ्ग्रह प्रकाशित गरियो। त्यस पछि जिन्दगीले खोइ कस्तो घुम्ती लिएछ भने झन्डै बाह्र वर्ष लेखनबाट विमुख भएछु।तर हृदयमा त्यो भुङ्ग्रो निभेकै रहेनछ फेरि लेख्न थाले।लेखन यो दोस्रो इनिङमा म हराउँछु कि भनेर सङ्ग्रह निकाल्ने सोच बन्यो र निकाले।।
सङ्ग्रह किन निकाल्ने भन्ने विषयमा आ-आफ्नो कुरा हुन सक्छ।कसैले लामो समयसम्म साहित्य साधना गरेर मात्रै सङ्ग्रह निकाल्छ्न त कसैले छोटो आवधीमा नै। मेरो केसमा चाहिँ म पुनः फर्के है भनेर आफैलाई भन्नलाई यो सङ्ग्रह निकाले अनि यस पछि यसै क्षेत्रको अन्य प्रोजेक्टमा काम गर्नलाई सङ्ग्रह एउटा कोसेढुङ्गो बन्छ सक्छ।
५, यो सङ्ग्रह पाठकले किन पढ्ने?
अघि नै भनिसके नि मान्छेको समवेदना र समवेदनहीनताको रङले पोतेको समाजको आकृती हो व्यापार पृथ्वीको।यस्तै आकृती हेर्नलाई पाठकले पढ्ने यो सङ्ग्रह।
सुदुर पुर्वको इलाममा बसेर कविता कर्म गरिरहेको एक कविता कृषकको प्राङ्गरिक उत्पादनको स्वाद लिन यो सङ्ग्रह पाठकले पढ्नु पर्छ।यहाँ नेपाल र दार्जिलिङको कथाहरु प्रत्यक्ष वा अप्रत्यक्ष भेट्न यो सङ्ग्रह पढनु पर्छ जस्तो लाग्छ।
***
प्रतिक्रिया
-
४
