– बिष्णु पादुका
म बाट खोइ के गल्ती भयो
उहाँले हेपिस्यो मलाई
उसो त उहाँ प्रगतिशिल हुनुहुन्छ भन्ने सुन्छु
तर मलाई तँ त उपल्लो जातको
तेरो संस्कारले म दलित भएँ
भन्नू हुन्छ
म मेरो जातलाई आफैं नमान्न बिद्रोह गर्दै छु
उहाँले हेपिस्यो मलाई ।
मेरै जातका भनिने बलियो देखिने
धमिराले उठाएको जस्तो छ विशाल समाज
फेरि पनि मलाई भर लाग्दैन
पुजारीहरू पण्डितहरू
आफ्नो बखानमै ब्यस्त मस्त अलमस्त हुनुहुन्छ
उहाँका आँखा ठुला हुन्छन् मलाई देखेर
बारम्बार तर्कका तान बुनेर
उहाँले हेपिस्यो मलाई ।
उहाँ शब्दमा केही भन्नू हुन्न
ब्यवहारमा देखाउनु हुन्छ
मुखले त स्वागत छ भन्नुहुन्छ घरमा
रमाउनुहुन्छ दैलो माथी टाँसिएको थरमा
उहाँका क्षणिक अनि कुटिल मुस्कानको
एकै हुन्छ मेरो जवाफ
उहाँले हेपिस्यो मलाई ।
मलाई सुखी देख्नु हुन्छ
सम्पन्न देख्नु हुन्छ
खुशी देख्नु हुन्छ
मलाई थाहा छ
मलाई यस्ता कुरा केही थाहा छैनन्
मलाई टेकेको धर्ती मेरो लाग्दैन
उभिएर हेर्ने आकाश आफ्नो लाग्दैन
बादल भित्र हराएर बाटो र आफ्नो अस्तित्व खोज्न
पँखेटा थाकुन्जेल फटफटाएको एक चरीलाई
महा अस्तित्ववादी भनेर
उहाँले हेपिस्यो मलाई ।
उहाँ दिवाल उठाउनु हुन्छ
दिवाल भित्र बसेको भ्रममा सुरक्षा महसुस गर्दै
म बाहिर छु
कोरिएका अनेक रेखा पढ्दै छु
रेखा बनेका बिन्दु बिन्दु पढ्दै छु
रेखाहरू सिमा बनेको देख्छु
वैमनस्य विचारका बस्त्रका धागा हुन् ती रेखा
जात , समृद्धि , विद्वता
अहंका साङ्ला बनाउने मेसिन बाहेक के होलान् ?
मेरा प्रश्न जटिल लागे अनि
उहाँले हेपिस्यो मलाई ।
उदास नबनाउँ आधा आकाश
विनास नगरौ प्रकृतिका पाटा
भन्दै त थिएँ
हृदयका आव्हान मिचेर
उहाँले हेपिस्यो मलाई ।
म मान्छे हुँ
मान्छेसँग प्रेम गर्छु
अनेक बहाना देखाएर बन्देज गर्नु भयो
म जस्तो छु त्यस्तै बाँच्न नदिएर
उहाँले हेपिस्यो मलाई ।
घाउ खोजेर दुख्नु नै छैन
म दुखाइको बीचमा छु
आगो खरानी र भुङ्ग्रो देखिन्छ
ताप देखिन्छ र ?
निरासा मेटाउन खोज्दाखोज्दै निरास बनाएर
उहाँले हेपिस्यो मलाई ।
एक्लो थिएँ
एक्लै रहनु थियो भोलि एक्लै जानेकुरा भुलेर
भेटिनु भयो बाटोमा केही थप पथिक
बिश्वास ओछ्याएर बाटो सहज पार्न लागेँ
प्याज छोडाएर फल खोज्दै
उहाँले हेपिस्यो मलाई ।
साँघुरो बनाउन तम्सिने किनारा भत्काएर
नदीले आफ्नो गति लिएको हो
कुलो हो र हिलोको बाँधले रोकिन ?
हार मान्न हारिदिनु पर्ने
भिड बढाइदिन उपस्थित भैदिनुपर्ने
बेथितिकै विरुद्धमा अनुपस्थित भएकोमा
त्यसैलाई बिरोध जनाएर
उहाँले हेपिस्यो मलाई ।
अवस्था व्यवस्थाका जनावर क्रुर लागेदेखी
पछ्याइन मैले
बरु उनिहरू नै पो छोप्न आक्रमण गर्न आइरहे
त्यसैको विरुद्धमा
कहिले उभिएँ कहिले दगुरेँ
जो आक्रामक थियो
ठ्याक्कै त्यस्तै हुन नसकेरै होला
उहाँले हेपिस्यो मलाई ।
***
प्रतिक्रिया
-
४
