– बालकृष्ण गजुरेल

गजल १,
छिमेकीका छोरी चेली माइत धाउन थाले,
मलाई पनि निमन्त्रणा पठाउनु भयो बाले ।

स्वामी ज्यू उसै ब्यस्त जागिरकै सवाल छ,
काम नगरौँ  बेहाल हुन्छ, हामी  एकै  खाले ।

दायाँ बायाँ रातो सारी मनमा खुशी पलायो,
आफ्नो बरै गोजी रित्तो भए जती छिद्र टालेँ ।

दिदी बहिनी आउँछन् होला मलाई भो कष्ट,
छमछम नाच्ने इच्छा जति  अनायसै ढालेँ  ।

बुढा बा र बुढी आमा  याद आउँछ किन हो ?
माइत जाने सपनालाई  बाध्यतामा  फालेँ ।

गजल २
माहुरीको घारमा पनि राजा र रानी हुन्छ ,
सुनसान रातपछि मात्र प्रात: बिहानी हुन्छ ।

भरीलो जवानी आफैँ पोख्खिने समय भयो,
जहाँ आगो बल्छ,  त्यहाँ पक्का पानी हुन्छ ।

त्यो दोष मेरो मात्र थिएन तिम्रो पनि थियो ,
प्रेममा गल्तिहरु धेरैजसो जानाजानी हुन्छ ।

ताप र राप पछि चुर्लुम्म बर्सिएकी तिमी,
के वास्तविकता सँधै छानी-छानी हुन्छ ?

तिम्रो मुस्कान घातक थियो मेरो लागि सँधै ,
तिमी पोख्खियौ आधा, मसँग नादानी हुन्छ ।

***

प्रतिक्रिया

सम्बन्धित खवर