दिपा दाहाल बिशेषत समसामयिक विषयमा कलम चलाउने लेखक हुन् । भुईँ मान्छेका बिषयमा कलम चलाउने उनी समाजका व्यप्त कुरितीहरू, नारीप्रति हुने विभेद, उत्पीडनका विरुद्ध कथामा पोखिन्छिन् । उनको भर्खरै विजयिनी कथा सङ्ग्रह आएको छ । यसै सङ्ग्रहको सेरोफेरोमा सम्पादक जीवन खत्रीले कथाकारसँग गरेका पाँच प्रश्न र जवाफको सारसंक्षेप;
१, विजयिनीका बारेमा छोटकरीमा बताईदिनुहोस् न ।
– ‘विजयिनी’ कथाहरुको संग्रह हो । यसमा ११ वटा कथा छन् । अधिकांश कथामा प्रमुख पात्रको भूमिकामा महिला छन् । यी कथाले समाजमा विधमान असमानता, विभेद, शोषण, उत्पीडन विरुद्ध विद्रोहको झिल्का सल्काउनुका साथै स्वतन्त्रता र समानताको आवाज उठाएका छन् ।
२, कथा किन लेख्नुहुन्छ? तपाईँका लागि के हो कथा?
– सुरुसुरुमा आफ्ना मनोबेगहरु रुचिले कागजमा उतारियो । लेख्नुको अर्थ र उदेश्य भन्दा धेरै पर रहेर मन हलुका पार्न लेखियो । अचेल कथा लेखनमा चाहिँ कुनै घटना/विषयले पिरोले पछी मैले लेख्नैपर्छ भन्ने हुटहुटिले लेख्छु । हाम्रा अर्थात महिलाका कुरा अति कम लेखिएका छन् भन्ने दायित्वबोधले लेख्छु ।
मेरा लागि कथा कुनै विषेश घटनाको त्यस्तो विवरण हो जसले घटनाको कारण र असरको खोजी गर्दछ र पाठकलाई नयाँ शिराबाट त्यही समस्यामा घोत्लिन बाध्य पार्दछ ।
३, एउटा कथाकारलाई आजको डिजिटल युगमा पनि कागजको पुस्तकनै चाहिने रहेछ । किन होला?
– प्रविधि र नवप्रवर्तन चाहेर नचाहेर पनि आजको समयले स्विकार्नु पर्ने विषय हुन् । त्यसको मतलब आज हामीले उपयोग गरिरहेका वस्तु वा माध्यम सबै निरर्थक छन् भन्ने होइन । हजारौं वर्ष अघि आविष्कार भएको भाषा, लिपि, साहित्य, कलाको महत्त्व डिजिटल युगले अझ प्रवर्द्धन गर्ने हो न कि परास्त । जसरी माटाका खबटालाई विस्थापित गर्न कागजलाई कयौं वर्ष लाग्यो त्यसैगरी कागजको पुस्तकको महत्त्व र औचित्यता पनि सितिमिति सकिदैन । र डिजिटल युगले समेट्न नसकेका अरबौं मान्छे यो धर्तीमा रहुन्जेल पुस्तक विस्थापित हुन संभव छैन ।
४, हर कोही मान्छे कथैकथा लिएर बाँचेको हुन्छ तर सबै कथाकार हुन त सक्दैनन् । कथा बोकेर बस्ने तर कथाकार हुन नसक्नेले आफ्नो कथा कहाँ, कसलाई र कसरी भन्ने होला?
– प्रविधिले हामीलाई आफ्ना कथा सुनाउन विविध माध्यम प्रदान गरेको छ । लेख्न नसक्नेले गाएर, बोलेर वा दृश्यमा समेत आफ्ना कथा सुनाइरहेका छन् । आफूलाई प्रस्फुटन गर्न चाहनेका लागि आजको समय बढो सहज छ तर त्यसको पहल तपाईं आफैंले गर्नुपर्छ ।
५, नेपाली कथा पढिरहेका पाठकले नयाँ कुरा के पाउँनेछन्, विजयिनीमा?
– यो खासमा सापेक्षित कुरा हो । पाठकको लिङ्ग, उमेर, रुचि, बुझाई, हुर्काई, सिकाइसंगै कथाबाट पाउने कुरा अलग हुन सक्छन् ।
लेखकको नाताले मैले दिन खोजेको नयाँ कुरा भन्नुपर्दा, लैंगिक तथा जातीय रूपमा महिलाले भोगेका हिंसाको विविध आयामलाई मनोबैज्ञानिक पक्षबाट देखाउन खोजेकी छु । कथाले पाठकलाई जवाफ दिने होइन प्रश्न गर्न सिकाउछन् भन्ने मेरो विश्वास छ ।
***
प्रतिक्रिया
-
४
