– कृष्णजी शर्मा
१,
सिधा सोझा जनताको गिदी भुटेर खाएछौ,
सिन्को काम नगरी मात्र गफ चुटेर खाएछौ,
यो जीवन देश र जनताकै लागि हो भन्थ्यौ,
जनताकै आँखा छलेर, देशै लुटेर खाएछौ ।
२,
स्त्री र पुरुष अनि इमानदार र जाली, मान्छेका दुई जात हुन्छन्,
भरोसामा बाँचेको जीवन माथि, पाइला पाइलामा घात हुन्छन्,
छिर्के हान्ने र खुट्टा तान्ने दुष्ट व्यवहार मात्र किन गरिरहन्छौ,
कन्चन अनि कोमल मन भए, तिम्रा पनि सहयोगी हात हुन्छन् ।
३
‘बतास’ आउँछ यहाँ, देशै हल्लाउने गरी आउँछ,
‘पिर’ आउँछ यहाँ, केशै हल्लाउने गरी आउँछ,
जोजो जेजे आउँछ यहाँ, हल्लाउनै मात्र आउँछ,
छद्मीवेशी नेताहरूको होसै हल्लाउने गरी आउँछ ।
४,
मान्छेको जीवन आज छ, भोलि छैन,
मरेको दिनदेखि रामरमिता, होली छैन,
बाँच र बचाउ, हाँस र हँसाउ सबैलाई,
मरेर के नै लानु छ र ! लाने झोली छैन ।
५,
संसारमै सबैभन्दा सुन्दर मन आमाको,
कहिल्यै रित्तँदैन वात्सल्यपन आमाको,
पाउने छैनौ कोहीबाट पनि यस्तो माया,
डुबेर त हेर कति अमूल्य छन् आमाको !
***
प्रतिक्रिया
-
४
