वि.सं. २०४३ सालमा रामेछापमा जन्मिएका सुजन वैरागीको वास्तविक नाम हो सीताराम दर्लामी मगर । उनले नेपालीमा स्नातकोत्तर गरेका छन् । उनले सानैदेखि कविताबाट आफ्नो लेखन यात्रा सुरु गरेका हुन् । १४ वर्षको उमेरदेखि साहित्यिक पत्रिकाको जिम्मेवारी सम्हालेका वैरागीले विभिन्न साहित्यिक तथा समसामयिक पत्रिकाहरुको सम्पादक भएर काम गरिसकेका छन् । उनी कुशल ग्राफिक्स डिजाइनर पनि हुन् । दुई दशकभन्दा बढी समयदेखि यस क्षेत्रमा निरन्तर काम गरिरहेका छन् । उनको पहिलो कृति मुक्तक सङ्ग्रह पर्खाइका पलहरू २०६७ सालमा प्रकाशित भएको थियो । उनको केही हप्ता अघिमात्र कथा सङ्ग्रह रित्तो हात प्रकाशित भएको छ । यही कृतिको सेरफेरोमा सम्पादक जीवन खत्रीले गरेका पाँच प्रश्न र वैरागीको जवाफ;
१) रित्तो हात कथा सङ्ग्रहको बारेमा छोटकरीमा बताईदिनुस् न ।
रित्तो हातमा १९ वटा कथा समेटिएका छन् । जसलाई अमेरिका स्थित डाइनामिक बुना र ब्लाइन्ड कोर्पले प्रकाशन गरेको हो । यो नेपाली समाजको कथा हो । माया गर्नेहरुको कथा हो । विदेशमा दुःख गर्नेहरुको कथा हो । वाध्यताले विदेशिने र रहरले विदेशिनेको कथा हो । देशले पाएको दुःख र चोटको कथा हो । पैसाले डिग्री किनेर डक्टर बन्ने र तिनीहरुले सर्वसाधारणको जीवनमाथी पारेको असरको कथा हो । दिनभरि दुःख गरेर बेलुकी छाक टार्नेको कथा हो । प्रेम गर्नेहरुको जात र सीमाना हुँदैन भनेर मान्नेको कथा हो । देश मै केही गर्छु भन्ने देशभक्तको कथा हो ।
२) सम्पादन र लेखनमा लामो समयदेखि हुनुहुन्छ तर कथा सङ्ग्रह आउन त लामो समय लाग्यो नि, किन ?
– हजुर, २०७४ सालमा स्नातकोत्तर गर्दा दश ओटा कथाहरु समेटेर “हिउँ परेको रात” शीर्षक राखेर सिर्जना पत्र तयार गरेको थिएँ । त्यतिबेला मेरो शोध निर्देशक डा. हरिप्रसाद सिलवाल र अन्य गुरुहरुबाट पाएको हौसलाले त्यतिबेलैदेखि सङ्ग्रह निकाल्ने सोच थियो । आफैलाई कथाहरु परिमार्जन र केही थप्नु पर्छ भन्ने लाग्यो । लेखन र सम्पादन भनेको जहिले पनि जोडिएको हुन्छ । एउटा लेखक आफै पहिलो सम्पादक हो । तर सम्पादक मात्र भएर हेर्दा लेखकले नदेखेका कुराहरु पनि आउँदा रहेछन् । यसरी धेरै पटक आफ्नै कथाहरु काट्दै थप्दै गरेको छु । फेरी एउटा निश्चित समय नतोकिएसम्म यो क्रम नसकिने रहेछ । यदि अझै समय लिएको भए फेरी पनि परिमार्जन गर्थे होला । मेरो प्रकाशकले जुलाई भित्र निकाल्ने भन्नु भएको भएर त्यही अनुसार तयार गरेँ । एक हिसाबले ठिकै भयो भन्ने पनि लागेको छ । पहिला नै हतार गरेर निकालेको भए अहिले जत्तिको कथा दिन सकिँदैन थियो कि ?
३) यस सङ्ग्रह भित्रको कुनै कथाको पृष्ठभूमि बताईदिनुस न, मिल्छ ?
– यो चाँहि अलि अफ्ठ्यारो हुने रहेछ । कुनै कथाको भन्दा कुन कथाको भन्ने हुने रहेछ । आफ्ना कथाहरु सबैको उत्तिकै माया लाग्छन् । म अन्तिम कथाको भन्छु । यो कथा मैले लेख्न पनि अन्तिममा लेखेको हो । पुस्तकको सबै सेटिङ गरिसकेपछि यो कथा लेखेको हुँ । यो हाम्रो देशले भोग्नु परेको आन्तरिक द्वन्दको कथा हो । यो वर्तमानको हो । यसमा त्यो समयको कथा छ जुन बेला देशमा दश वर्षे गृहयुद्ध चलेको थियो । यसमा गाउँको परिवेश छ । जहाँ अहिले पनि कति घरहरु रित्तै छन् । कतिले आफ्नो गाउँको बारेमा सुनेका मात्र होलान । कति त थाहै नपाएका पनि छन् ।
४) एउटा पाठकले बुझ्ने र लेखकको बुझ्ने कथा फरक हुन सक्छ । कथाकारको तर्फबाट तपाईँले बुझेको कथा के हो ?
– पक्कै पनि यो संरचना र परिभाषाको कुरा गर्नु भएको हैन होला । कथामा चाँहि फरक बुझाइ हुन्छ जस्तो लाग्दैन मलाई । कथामा सरल शैली र क्लिस्ट शैली भन्ने हुन्छ । प्राय कथाहरु सरल शैलीमा लेखिन्छन् त्यही भएर पनि कथा अन्य विधा भन्दा लोकप्रिय छ । यो सरल शैलीमा हुने भएकोले पाठकले सजिलै बुझ्न सक्छन् । मेरो लागि चाँहि कथा त्यो हो जसको माध्यमबाट मैले आफूले भन्न चाहेको कुरा, बुझाउन चाहेको कुरा सर्वसाधारण पाठकले पनि स्पष्टसँग बुझाउन सक्छु ।
५) एउटा लेखकलाई प्रकाशनका लागि समस्या के केमा समस्या हुँदो रहेछ ? तपाईँको प्रकाशन अनुभव कस्तो रह्यो ?
– खासमा लेखकको काम लेख्ने हो । प्रकाशनको चिन्ता पनि लेखकले लिनु पर्दा चाँहि गाह्रै हुन्छ । हाम्रोमा नयाँ लेखकहरुलाई गाह्रै छ । प्रकाशकले विश्वास गरिदिनुहुन्न त्यो नै सबैभन्दा ठूलो समस्या हो । मेरो चाँहि प्रकाशक अमेरिकाको संस्था भएकोले यहाँ सबै कुराहरु आफैले हेरेँ । म आफै ग्राफिक डिजाइन गर्ने भएको र प्रेससँग सम्बन्धित भएर लामो समय काम गरिरहेको भएर खासै केही अफ्ठ्यारो भएन । तर बजार व्यवस्थापनको विषयमा अलि गाह्रो भएको थियो । तर इम्प्रिन्ट पब्लिशर्सले जिम्मा लिइदिनु भयो ।
***
प्रतिक्रिया
-
४
