– मेनका चापागाईँ
१,
कलम बोक्नेलाई हतियार भिराएर देखाउ
अक्षरको मन्दिरमा अपमान छिराएर देखाउ
लखेटी लखेटी घाटसम्म पुराउन खोज्नेहरु
सक्छौ भने कलमको ताकत गिराएर देखाउ
२,
समाजका सारा बन्धन तोड्न सक्नुपर्छ
तिम्रो मेरो बीचको पर्खाल फोड्न सक्नुपर्छ
सांच्चिकैमा मेरो मनलाई जित्ने चाह भए
चन्चल मनलाई एकाग्रमा मोड्न सक्नुपर्छ
३,
म बालुवाको शहरमा सपना किन्न आएको हूँ
साहुको ऋण ब्याजसहित निखन्न आएको हूँ
श्रम बेचेको छु जरूर,स्वाभिमान बेचेको छैन
मेरो आफ्नै पसिनाको मूल्य चिन्न आएको हूँ
४,
प्रतियोगी झैं दौडमा नाम लेखाईरह्यो
लखेटेरै सधैं तातो रापमा सेकाईरह्यो
बडो बेईमानी रहेछ यो ठुलो शहर पनि
सबै लुटेर पनि फेरि सपना देखाईरह्यो
५,
आकासको तारा टिपेर ल्याउंछु नभन
तिमी जे माग्छ्यौ त्यही दिलाउंछु नभन
सक्छौ भने तिम्रो समय अलिकति देउ
भौतिक चिजले मेरो मन भुलाउंछु नभन
***
प्रतिक्रिया
-
४
