कथाकार बिक्रमभक्त जोशीको जन्म २०२४ कार्तिकमा  धोबीघाट, ललितपुरमा भएको हो । विगतमा सडक विभाग, मेलम्ची खानेपानी आदिमा इन्जिनियर भई कार्य गरेका उनी पूर्व बैंकर (आइ.टी. प्रमुख, बैंकिङ्ग विभाग प्रमुख) समेत हुन् । उनका प्रकाशित कृतिहरू, कथा सङ्ग्रह, चोभार ब्लुज (२०७९ जेष्ठ) र बेखामान र राक्षस (२०८० बैशाख) हुन् ।

यसपटक सम्पादक जीवन खत्रीले कथाकार जोशीसँग चोभार ब्लुजको सेरोफेरोमा रहेर गरेका पाँच प्रश्न र कथाकार जोशीको जवाफ निम्नानुसार छ ;

१. चोभार ब्लुज कथासङ्ग्रहका बारेमा छोटकरीमा परिचय गराइदिनुहोस् न ।

‘चोभार ब्लुज’लाई वास्तवमा मेरा अनुभूतिहरुको सँगालो भन्दा हुन्छ । जीवनको यात्राका दौरान होस् या गोडाले तय गरेको यात्राका दौरान होस् – त्यतिखेर देखेका, भोगेका अनि सुनेका कुराहरु नैं मेरा कथाका खुराक हुन् । यात्राका वर्णन नियात्रा भए, यात्राका दौरान उर्लेका भावनाका अभिव्यक्ति निबन्ध भए । ती दुबैलाई थोरै आँसु मिसिएको काल्पनिक कथाको खोलले ओढ्दा बन्ने अलि फरकखाले विधालाई म ‘निकथा’ भन्नेगर्छु । यसरी भन्दा ‘चोभार ब्लुज’ १९ वटा छुट्टाछुट्टै निकथाहरुको सङ्कलन हो, जसलाई एउटै साझा धागोमा उनेको छु – ‘अवसाद’ को धागोमा ! तर यी ‘ब्लुज’ अर्थात् अवसाद एउटै स्वरूपका भने छैनन् — कहिलेकाहीँ यो असफल प्रेमको पीडामा झल्किन्छ, कहिलेकाहीँ परित्यक्त वृद्धावस्थाको पीडामा झल्किन्छ त कहिले सामाजिक कुरीति वा आत्मचिन्तनको गहिराइमा झल्किन्छ ।

त्यसैले मलाई लाग्छ, ‘चोभार ब्लुज’ केवल कथाहरूको सङ्ग्रह होइन, यो मेरो मस्तिष्कभित्र कोरिएको मनोभूमिको नक्सा हो — जुन यसरी कोरिएको छ कि प्रत्येकले प्रत्येक कथामा आफूलाई पाउँछ । कुनै न कुनै पात्रका रूपमा ।

२. कथा भनेको के हो? के कुराले छुन्छ र तपाईँ कथा लेख्नुहुन्छ?

मेरो लागि कथा भनेको अनुभूतिको प्रतिध्वनि हो — कहिलेकाहीँ अनकन्टार पीडाको रूपान्तरण, कहिले चुपचाप बग्ने स्मृतिको आवाज । कहिले यो कल्पनामा बग्छ, त कहिले यथार्थको धरातलमा । यसरी बग्छ कि यो हठात् कल्पना र यथार्थ बीचको पुल बनिदिन्छ । कहिले ‘एकादेशमा…’ बाट शुरु भएर ‘सुन्नेलाई सुनको माला’ मा पुगेर टुङ्गिन्छ भने कहिले ‘अन्त्य’बाट शुरु भएर ‘शुरु’ मा अन्त्य हुन्छ । वास्तवमा कथा भनेको मानव अनुभूति व्यक्त गर्ने सबभन्दा पुरानो र सबभन्दा सशक्त माध्यम हो ।

छोटकरीमा भन्ने हो भने म कथा तब लेख्छु जब कुनै दृश्य, पात्र वा पीडाले मलाई भित्रभित्रै हल्लाउँछ — जुन शब्दमा रुपान्तरण नभएसम्म मलाई शान्ति प्राप्त हुँदैन ।

३. विश्वेश्वरप्रसाद कोइराला, भवानी ‍भिक्षु, पारिजातहरूको समय पछि पनि कथा त थुप्रै लेखिए, लेखिइरहेका छन् तर सम्झिइन पर्नेगरि कथाहरू आएनन् भन्ने गुनासो पाठकको छ । ‘चोभार ब्लुज’ भर्खरै आए पनि लामो समयदेखि कथाकै बारेमा सोचिबस्ने कथाकार तपाईँलाई प्रश्न, पाठकको यो गुनासो गलत हो कि असल लेखकहरूको खडेरी परेको? अलिकति विश्लेषण गरिदिनुस न् ।

निक्कै नै गहन प्रश्न लाग्यो यो । तर छोटोमा भन्ने हो भने मेरो विचारमा न पाठकको गुनासो अस्वाभाविक हो, न असल लेखकहरुको खडेरी नैं परेको हो ।

भवानी भिक्षु, वी.पी. कोइराला, पारिजात जस्ता नेपाली साहित्यका धरोहरहरुको लेखनमा केवल शैलीगत वा शिल्पगत दक्षता मात्र थिएन, तिनका लेखनले एक प्रकारको ‘आत्मिक न्यानोपन’ बोकेका हुन्थे । ती कथाहरूले समयको कालखण्डमात्र बोकेका हुन्नथे, तिनले पाठकको मानसपटलमा गहिरो छाप छोड्ने हैसियत बोकेका हुन्थे । त्यसैले पाठक आज पनि ती कथालाई सम्झन्छन् ।

अहिले पनि कथा लेखिन्छन्, बग्रेल्ती लेखिन्छन्। तर ‘छुने कथा’ को संख्या किन घटेजस्तो लाग्छ त ? प्रमुख कारण हुनसक्छ पाठकले कथामा गहिराइ भेट्न नसक्नु, पकड भेट्न नसक्नु । पुस्तकको दशौं पेजमा बुकमार्क अड्काएर भुलिने कमसल पुस्तकहरुको बिगबिगीले गर्दा असल लेखकहरु गौणमा परेका छन् । गुणात्मक भन्दा संख्यात्मकमा विश्वास गर्ने हल्लाखोर लेखकहरुका अगाडि असल लेखकहरु मौन बस्न बाध्य हुन्छन् । किनकि जमाना चिच्च्याउने लेखक र हल्लाको पछि दौडिने पाठकको जो छ ।

यसलाई अर्को कोणबाट बुझ्ने प्रयास गरौं । कृतिहरुको संख्यात्मक वृद्धिले पठनसामाग्रीको च्वाइस बढाएपनि यसले पाठक र लेखकमा एउटा कुराको कमी ल्याउँछ – त्यो हो धैर्यताको । असल पुस्तक नै भएपनि पाठकमा पढ्ने धैर्यता रहेको देखिन्न, किनकि थोरै मात्र पुस्तकले छोएन भनेपनि घोत्लिनुको साटो अर्को पुस्तक पल्टाउने सुविधा जो प्राप्त छ, मनग्गे च्वाइस जो उपलब्ध छ । अर्को कुरा, लेखकहरुको हकमा भन्ने हो भने लेखनको दौरान तिनमा वैचारिक गहिराइमा पुग्ने धैर्यता रहेको देखिन्न, कृतिको संख्या बढाउने होडबाजीमा । यसले गर्दा लेखनको गुणवत्तामा ह्रास आइ कमसल पुस्तकहरुले बजार व्याप्त हुनपुगेको छ । फलत: असल लेखकको खडेरी परेको भ्रम उत्पन्न भएको हो ।

४. पेशाले इन्जिनियर तर हृदयले कथाकार । कथा लेख्नलाई पेशाले कसरी सहयोग गरेको छ ? र कसरी असहयोग भएको छ?

कस्तो राम्रो प्रश्न ! हो, इन्जिनियरिङले सोच्ने, विश्लेषण गर्ने र समस्याको समाधान खोज्ने अभ्यास दिन्छ । कथाको संरचना, पात्रको विकास र घटनाको क्रममा यो सोच निकै उपयोगी भएको महसुस भयो । अर्को कुरा, प्रविधिमा सानो त्रुटिले ठूलो दुर्घटना हुन सक्छ । त्यसैले कथामा पनि साना विवरणहरूलाई ध्यान दिन थालेँ — पात्रको हाउभाउ, मौसम, समयको बहाव — यी सबैमा संवेदनशील हुन सिकेँ । इन्जिनियरिङको तालिमले लेखनमा पनि निरन्तरता र नियमितता ल्याइदियो । कथा ‘मुड’ ले मात्र होइन, अनुशासनले पनि लेखिन्छ भन्ने बुझेँ ।

अर्को कुरा इन्जिनियर भएको नाताले मेरा कथामा इन्जिनियरीङ्का धङधङी मिसिए । जुन विषयको ज्ञान छ, त्यसबारे लेख्न सहज हुनु स्वाभाविक हो । र, तिनका बाछिटा कथामा आउनु पनि स्वाभाविक नैं हो । डाक्टरका कथामा अस्पताल, इन्जिनियरको कथामा सडक पुलेसाका कुरा आउने नैं भए । मेरामा पनि आए । सहयोग यो अर्थमा पनि भयो भनुँ न ।

कामबाट अवकाश लिएपछि बल्ल होमिएको क्षेत्र भएको नाताले प्रोफेसनका कारण असहयोग नैं भयो भन्न त मिलेन । तर उमेरको उत्तरार्धमा मात्र साहित्यमा प्रवेश गर्नुमा प्रोफेसन कारक बन्यो । प्रोफेसनमा लाग्ने क्रममा मनले खाएको साहित्यक्षेत्र निक्कै वर्ष ओझेलमा परिरह्यो । यसलाई मेरो प्रोफेसनले मलाई गरेको असहयोग भन्ने कि ?

५. किताबतिर फर्कौँ । यहाँको कृतिले धेरै चर्चा कमाइरहेको छ । पढ्न बाँकी पाठकहरूलाई किन पढ्नुहोस् भन्न चाहनुहुन्छ?

मेरो कृतिले यहाँहरुको माया सद्भाव पाइरहेको छ । त्यसका लागि यहाँहरु सम्पूर्णलाई आभार व्यक्त गर्दछु ।

जसले पढ्नुभएको छ, उहाँहरुबाट फिडब्याक राम्रो पाएको छु । पढिसक्नुभएको छैन भने यसकारण पढ्नुहोस् भन्छु कि यसमा मैले यी प्रयासहरु गर्न खोजेको छु-

(१) अवसादका विभिन्न रूपका साहित्यिक चित्रण
(२) नियात्रा, निबन्ध र कथाको फ्युजनका रूपमा निकथा विधाको नौलो प्रयोग
(३) काठमाडौं वरिपरिको समसामयिक समाजको चित्रण
(४) पाठकको मनमस्तिषकसम्म पुग्न सरल भाषाको प्रयोग
(५) यथार्थ र कल्पनाबीचको सन्तुलन
(६) भावनात्मक असर
(७) पाठकलाई कथासँगै डोर्‍याउने तारतम्य (डाइनामिक न्यारेसन)

मेरा कुरा मैले भनेँ । पढेर पर्गेल्ने काम यहाँहरुको !
***

प्रतिक्रिया

सम्बन्धित खवर