मोरङ – बेलबारीबाट नेपाली साहित्यमा एउटा नौलो परम्पराको सुरुआत भएको छ । पठन संस्कृतिको विकास तथा लेखक, स्रष्टाप्रति सम्मान गर्ने उद्देश्यले बेलबारीमा कार्यक्रमका प्रमुख अतिथिबाटै लेखकको कृति खरिद गरी सोही कृतिको लोकार्पण गरेर नेपाली साहित्यमा एउटा नौलो परम्पराको सुरुआत गर्ने काम भएको हो ।
नेपाली साहित्यमा कथा, उपन्यास, गजल, बालकथा, अनुसन्धान तथा समालोचनाका क्षेत्रमा कलम चलाउँदै आएका केशु विरहीद्वारा लिखित कृतिको लोकार्पण कार्यक्रममा प्रमुख अतिथि, सभापति, विशिष्ट अतिथिहरूबाट कृति खरिद गरेर त्यसैको लोकार्पण गरे ।

कृतिका लेखक विरहीले बेलबारी बहुमुखी क्याम्पसमा अनुसन्धान अक्षयकोष निर्माणका लागि भनेर आफूले यस क्षेत्रका सामाजिक तथा सांस्कृतिक अभियन्ता, अग्रज स्रष्टा, वरिष्ठ साहित्यकार हर्कमान तामाङका बारेका पुस्तक तयार पारेको र यो अनुसन्धानमूलक जीवनीको पुस्तकको बिक्रीबाट प्राप्त भएको कम्तीमा ५० प्रतिशत रकमले बेलबारीमा एउटा अनुसन्धान अक्षयकोष निर्माण गर्ने र यसबाट प्राप्त ब्याजबापतको रकमबाट अनुसन्धानका क्षेत्रमा काम गर्ने एक जना विद्यार्थीलाई पुरस्कृत गर्ने कुरा यसअघि नै पत्रकार सम्मेलन गरेर घोषणा गरेका थिए ।
लोकार्पण कार्यक्रममा पनि उनले सोही प्रतिबद्धता दोहोर्याउँदै अनुसन्धानका क्षेत्रमा नयाँ पुस्तालाई अभिप्रेरणा जगाउन र साहित्यिक पुस्तक खरिद गरेर पढ्ने बानीको विकास गर्न आवश्यक रहेकाले पनि आफूले यो अभियान चलाएको बताए ।

बेलबारी साहित्य विकास समिति, बेलबारी मोरङको आयोजना, बेलबारी बहुमुखी क्याम्पस तथा जुझारु मिडिया एन्ड रिसर्च सेन्टर, बेलबारी मोरङको सह आयोजनामा सम्पन्न कार्यक्रममा बेलबारी नगरपालिकाका संस्थापक नगरप्रमुख एवम् कोसी प्रदेश सांसद ज्ञानेन्द्र सुवेदीले कार्यक्रमको उद्घाटन गरेका थिए ।
कृतिको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बेलबारी नगरपालिकाका संस्थापक नगरप्रमुख एवम् कोसी प्रदेश सांसद ज्ञानेन्द्र सुवेदीले भाषा। कला साहित्यमा अगाडि रहेको बेलबारीबाट एउटा नयाँ परम्पराको सुरुआत भएको र यसलाई निरन्तरता दिनुपर्ने बताए ।

लोकार्पण कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख दिल प्रसाद राई, उपप्रमुख नितु थापा कोइराला, स्रष्टा एवम् पूर्व सांसद हर्कमान तामाङ, कवि एवम् समीक्षक मिश्र वैजयन्ती, भाषाविद् अमृतप्रसाद आचार्य, भाषाविद् मेदिनीप्रसाद बराल, कवि तथा अन्वेषक अनिल पौडेल, राजनीतिक व्यक्तित्व विनोद भण्डारी, डा. उद्धव पोखरेल, स्रष्टा छवि वैरागी घिमिरेलगायतका विशिष्ट व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो ।

डा. दीपकप्रसाद न्यौपानेको समीक्षा रहेको उक्त कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई, भाषाविद् अमृतप्रसाद आचार्य, कवि तथा अन्वेषक अनिल पौडेल, कवि तथा समीक्षक मिश्र बैजयन्ती, डा. उद्धव पोखरेल, राजनीतिक तथा शैक्षिक व्यक्तित्व विनोद भण्डारी, ईरान राईलगायतका व्यक्तिहरूले कृतिकार विरही तथा उनले सुरु गरेको अनुसन्धान अक्षयकोष अभियानलाई शुभकामना दिएका थिए ।

पठन संस्कृति हराउँदै गइरहेको त्यसमा नेपाली साहित्यका कृतिहरू सित्तैमा उपहार स्वरूप बाँडेर सक्नुपर्ने बाध्यता भइरहेको बेलामा बेलबारीबाट चलाएको यस अभियानले नेपाली साहित्यका पाठकमा एउटा आशाको सञ्चार गरेको धेरैको बुझाइ रहेको छ । धेरैले यस अभियानको खुलेर प्रशंसा गरेका छन् ।

आठराई, तेह्रथुम मूल ठेगाना भई पछिल्लो समय मोरङको बेलबारीमा बसोबास रहेका विरहीका यसअघि नै ‘कहाली लाग्दा गोरेटाहरू’ (उपन्यास –सह लेखन –२०५६), ‘आमाको माया’ (उपन्यास –२०५७), ‘सुस्केरा (सामूहिक सङ्कलन– २०६२), ‘दन्किएको आगो (गजलसङ्ग्रह– २०६३), ‘भास्कर वंशावली (वंशावली –२०६५), ‘सुलोचना (कथासङ्ग्रह– २०७१), ‘रेसममाको सेन्डल’ (बालकथासङ्ग्रह –२०७७) र ‘बेलबारीको साहित्यिक इतिहास’ (२०७९), ‘तेह्रथुमको साहित्यिक इतिहास’ (२०८०) जस्ता कृतिहरू प्रकाशित भइसकेका छन् । ‘उपद्रष्टा हर्कमान तामाङ’ भने विरहीको दशौँ कृतिका रूपमा प्रकाशित भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर