✍️ माधव सयपत्री

सविता मसँगै स्कुल जान्थी । स्कुलमा मलाई गाह्रो मानेर ‘सर’ भन्थी । घरमा ‘दादा’ भनेर बोलाउँथी । आफ्नै दाइजस्तो मान्थी । मलाई पनि मेरी बैनीजस्तै लाग्थी सविता । मेरो कोठामा आइरहन्थी । दराज खोल्थी । कपडा हेर्थी र चोर औँलाले खैरो सुट देखाएर भन्थी, ‘दादालाई यो सुट खुब सुहाउँछ ।’

किताब चलाउँथी । पत्रिका पढ्थी । कापीमा केके केरिदिन्थी । अनेक चित्र बनाउँथी । आफैँ मख्ख पर्थी । अनुहारमा बेग्लै चमक ल्याएर भन्थी, ‘दादा ! यो चित्र कस्तो छ ?’

म भनिदिन्थेँ, ‘राम्रो छ ।’
ऊ हर्षातिरेक भएर भन्थी, ‘साँच्चै राम्रो छ त दादा !’

उसले आठौँ कक्षादेखि नै मसित पढी । स्कुलमा नेपाली र घरमा सबै । उसका घरमा बाआमा मात्रै थिए । ऊसहित तीन जना । दाजुहरू गाउँकै स्कुलमा एसएलसी गरेपछि सहरमा पढ्न गएका थिए ।

स्कुलमा ऊ चित्रकलामा भाग लिन्थी । कथा, कविता, निबन्धमा सहभागी हुन्थी । खेलकुदमा रुचि राख्थी । उसका चित्र ‘विशेष’ हुन्थे । एक पटक जिल्लास्तरीय चित्रकला प्रतियोगितामा दोस्रा भएर नगद र पुस्तक पुरस्कार पाएकी थिई ।

पुस्तकालयमा मलाई किताब छान्न लगाउँथी । उसलाई कथा र कवितामा रुचि बढी थियो । कक्षा आठको नेपाली पाठ्यपुस्तकको छन्द कविता पढाउँदा एकै दिन छन्दका नियम सिकाएको भरमा उसले उपजाति छन्दमा कविता लेखेकी थिई । अरू छन्दमा पनि कविता लेख्न सिक्दै थिई ऊ । उसको तीक्ष्ण दिमाग र कविताप्रतिको लगाव देखेर म अचम्मित भएको थिएँ । मैले भनेको थिएँ, ‘सविता ! छन्द कविता लेख्ने भैसक्यौ । तिमी आप्mनो नाम फेरेर अब ‘कविता’ बनाऊ । तिमीलाई कविता नाम सुहाउँछ ।’

उसले लजाएर भनेकी थिई, ‘जन्मदर्ता र स्कुलमा सविता भैसक्यो दादा ।’ सविता जाँगरिली थिई । घरको काम खुब जाँगर लाएर गर्थी । बाआमाले कुनै काम ‘तँ गर्’ भन्नु पर्दैनथ्यो । घाँस काट्थी । गोबर सोर्थी । भात पकाउँथी । भाँडा माभ्mथी । लुगा धुन्थी । सबै घरधन्दा गर्थी ।
ऊ भन्थी, ‘दादा ! धुने लुगा छ भने दिनु है । म धोइदिन्छु ।’

म भन्थेँ, ‘म मेरो लुगा कसैलाई धुन दिन्नँ ।’
ऊ सोध्थी, ‘घरमा म्याडमलाई पनि धुन दिनुहुन्न ?’
म भन्थेँ, ‘हो, दिन्नँ । सकेसम्म म आफ्नो  काम आफैँ गर्छु ।’
ऊ ओठ लेप्य्राएर भन्थी, ‘फुर्ती पारेको होला नि !’

सविता बिहान एकछिन मेरो कोठामा देखा पर्थी । उसलाई स्कुलको पाठ र घरको कामले फुर्सद हुँदैनथ्यो । बेलुका खाना खाएर ऊ मसँग दुई घण्टा पढ्न बस्थी । गणित सिक्थी । विज्ञान घोक्थी । अङ्ग्रेजी पढ्थी ।

स्कुल र घर दुवैतिरको अभ्यासले उसको पढाइ निकै राम्रो भएको थियो । उसका बाआमा भन्थे, ‘सर, घरमा पढाइदिने कोही नभएर छोराहरूको पढाइ ठिकठिकै भयो । उसको चैँ सरले विचार गर्दिनु होला है !’

सविता आठौँ कक्षामा पहिलो भएर नवौँमा चढी । ऊ प्रथम हुनुको भएभरको श्रेय उसका बाआमाले मलाई नै दिए । उसका बाले भने, ‘सरले गर्दा छोरी पैला भाकी हो । के गर्नुपर्छ, सरकै जिम्मा । हामी सरको खरखाँचो विचार गर्छौँ ।’

मैले भनेँ, ‘सविता प्रथम हुनु भनेको मेरै बैनी प्रथम हुनु हो । यसमा म खुसी छु । तपाईंहरूले मलाई केही दिनु पर्दैन ।’
सविताको पढाइ एकाएक खस्कियो । अर्को वर्ष चौथा भएर ऊ दशौँँ कक्षामा चढी । ओरालो लाग्न थाल्यो उसको पढाइ । स्कुलका आन्तरिक परीक्षाहरूमा ऊ गिर्दो अवस्थामा देखिर्ई । उसको बिग्रँदो पढाइबारे चिन्तित हुन्थेँ म । उसका बाआमा सवितालाई करकर गर्न थाले । मैले सविताकै पक्ष लिएर भन्दिएँ, ‘पढाइमा तलमाथि भैहाल्छ नि ! सविताको पढाइ खस्केको होइन, अरू विद्यार्थी ऊभन्दा सिपालु भएका हुन् ।’
दसैँमा आउँदा दाजुहरूले बहिनीका लागि राम्रैखाले मोवाइल फोन ल्याइदिएका थिए । ऊ मान्छेमा भन्दा फोनमा रमाउन थालेकी थिई । मेरो कोठामा आउन छाडी । बाआमासित झर्केर बोल्न थाली । सवितामा आएको यो बदलावले मलाई खल्लो लागेको थियो । झन् बाआमालाई कस्तो लागेको थियो होला !

एक दिन सविताकी आमाले मलाई भनिन्, ‘सर, सविता अर्कै अर्कै भएकी छे । स्कुलतिर क्यै विचार गर्नु भाछ !’
मैले भनेँ, ‘स्कुलमा ऊ अनुशासित नै देखिन्छे भाउजू । पढाइ चैँ बिग्रेको छ ।’
भाउजुले अँध्यारो अनुहार पारिन् ।

+++

दशौँ कक्षाको स्कुल टेस्ट अगाडि अनपेक्षित घटना घट्यो । सविता हराई । कसैलाई ऊ कतै हिँडिहाल्ली जस्तो लागेको थिएन । तर हिँडी । घरमा हल्लाखल्ला भयो । गाउँमा हल्लाखल्ला भयो । उसले बोकेको फोन अफ गरिएको थियो । इष्टजन, आफन्त र उसका साथीकोमा कतै गएको प्रमाण भेटिएन ।

सविताका बाआमाका आँखामा प्रत्येक पल आँसु देखिन थाल्यो । ‘आउँछे, आउँछे’ भन्नुबाहेक मैले पनि सम्झाउन सकिन । सहारा बनेकी छोरी हराउँदा कुनचैँ बाआमाको मन रुँदैन होला र !

दुई तीन वर्ष बैनीझैँ भएर सँगै बसेकी । ऊ हराउँदा मलाई रुँन मन लाग्यो । धेरै दिनसम्म मन अमिलो भएर बस्यो । ‘दादा ! तपाईंलाई त्यो सुट खुब सुहाउँछ’ उसले बोलेको वाक्य याद आइरह्यो ।

पन्ध्र दिनपछि सविताको टुङ्गो लाग्यो । जिल्लाकै उत्तरी सिमानातिरको तामाङ केटासित गइछे । उनीहरू जोईपोइ भइसकेछन् । सविताका बाआमाले के जात, कस्तो जात भनेर दिग्मिग माने । जात थाह पाएपछि सविताकी आमाले नाक खुम्च्याउँदै भनिन्, ‘बर्बादै पारी । क्षेत्रीकी छोरी भोटेसँग गएपछि हाम्रो नाक काटिएन !’

मैले भनेँ, ‘यो समय जातको हैन भाउजु, मान्छेको हो । ज्वाइँसाप असल भए भइहाल्यो नि !’
लामो समय सविता र यताको सम्बन्ध टुट्यो । बाआमाले फोन गरेनन् । उसले पनि गरिनँ । म सोचिरहन्थेँ– त्यो चञ्चल र मायालु सविता के गर्दै होली ! कुन अवस्थामा होली ! यो दादालाई बिर्सी ! बाआमालाई पनि बिर्सी !

सविताले बिहे गरेको टुङ्गो लागेपछि खासै खोजखबर भएन । जिउँदै रैछे भन्ने भयो । दाजुहरूले ‘बैनीले बुद्धि बिगारी’ भनेर अपसोच माने । उनीहरूले बैनी माइत आओस् जस्तो गरेनन् । आए आओस्, नआए नआओस् जस्तो गरे ।
अनपेक्षित ! एक वर्षपछि एक साँझ सविताले अर्कै नम्बरबाट मलाई फोन गरी । बाआमाको खबर सोधी । मैले भनेँ, ‘किन माया मारेकी सविता ! तिमीलाई बाआमाको माया लागेन ! माइत कहिले आउँछ्यौ ?’

उसले भनी, ‘म आफूखुसी हिँडेकी हुँ । बाआमाले के सोच्नुभा होला ! दाजुहरूले पनि नराम्रो मान्नुभाको होला । भो दादा, म अहिले आउँदिनँ ।’
आखिर सन्तान न हो ! त्यत्रो समय पूरा व्यवहार धानेकी छोरी । आज आज भोलि भोलि भन्दै बाआमाको मन पलाउँन थाल्यो । सविताको बाले सोधे, ‘सर, कतैबाट सवितासित सम्पर्क गर्न सकिँदैन ?’
मैले भनेँ, ‘प्रयास गर्दा सकिन्छ होला ।’

‘लु न प्रयास गर्नु । के गर्नु आप्mनो सन्तान । अब त सारै याद आउँन थाल्यो । कतिवेला मुख देख्नुजस्तो भाछ ।’
भोलिपल्ट बिहानै सविताका बाआमा मेरो कोठामा आए । बाले सोधे, ‘नम्बर पत्तो लाउनु भो त सर ?’

‘अँ लगाएँ लगाएँ’ भन्दै मैले फोन डायल गरेँ । आमालाई दिएँ । आमाले फोन कानमा राखिन् । उनी भक्कानिइन् । बर्बर आँसु खसालिन् । उनलाई बोल्न निकै गाह्रो भएको थियो । सकस मान्दै उनी बोलिन् ‘छोरी ! तिमीलाई सञ्चै छ ? यता कहिले आउँछ्यौ ?’

सविताकी आमा फोनमा धर्धरी रोइन् । बोल्न नसकेर उनले फोन लोनेलाई दिइन् । बुढा पनि भक्कानिएर बोले । उनले अन्तिममा भने, ‘एकचोटि ज्वाइँलाई नि लिएर आऊ छोरी !’

हिजो अस्ति मात्र हो, उनीहरू छोरीको नाउँ सुन्दा पनि मुर्मुरिएर बोल्थे । ‘नाकै काटी’ भनेर सराप्थे । आज छोरीको आवाज सुन्नासाथ धर्धरी रुन थाले । यही फरक छ, अरूको र सन्तानको मायामा । बुढाबुढी रोएको देखेर मलाई पनि मन थाम्न गाह्रो भयो । मनको भित्री कुना एकतमासको भएर आयो ।

+++

मैले त्यो गाउँको स्कुलमा पढाउन लागेको चार वर्ष नाघिसकेको थियो । घरतिरै सरुवा भएर जान प्रयास गर्दा पनि सकेको थिइनँ । पन्ध्र पन्ध्र दिनमा घर जान्थेँ । बसेको गाउँ आफ्नै जस्तो लाग्न थालेको थियो । घर पनि आफ्नै जस्तो लाग्थ्यो । घरका केटाकेटी पढाइदिएको थिएँ । कोठाको भाडा दिनुपर्थेन । चामल, तरकारी, दुध केही किन्न पर्दैनथ्यो । आफ्ना सन्तानसँग बस्न पाइएन भन्ने मात्रै हो, त्यो घर मेरै घरजस्तो भएको थियो ।
एक दिन म स्कुलबाट कोठा जाँदा सविता आएकी रहिछे । परैबाट ‘नमस्ते दादा’ भनेर बोली । निकै मोटाएकी रैछे । जिउडाल अस्वाभाविक लाग्यो । मलाई सविता देख्दा औधी खुसी लाग्यो । नजिकै गएर हालखबर सोधेँ । आफ्नै बैनी भेटेजस्तो भयो ।

मैले भनेँ, ‘ज्वाइँ खै त ? ल्याइनौ ?’
उसले भनी, ‘कोठामा हुनुहुन्छ ।’
‘नयाँ ज्वाइँलाई ससुरालीमा गाह्रै हुन्छ नि ! म पहिलो पटक ससुराली जाँदा कत्ति लजाएको थिएँ । तीन दिनसम्म कोठाबाटै बाहिर निस्किनँ । ज्वाइँलाई पनि लाज लागेको होला ।’

ज्वाइँ बाहिर निस्के । लजाएरै बोले । भलाकुसारी भयो । पोख्खली रहेछन् ज्वाइँ । हाँसी हाँसी बोल्ने । प्रष्ट कुरा गर्ने ।
सवितालाई भनेँ, ‘राम्रै ग-यौ सविता तिमीले । तर एउटा कामचैँ बिगा-यौ । पढाइ छाड्न हुन्नथ्यो ।’
उसले भनी, ‘मेरो फाराम भर्दिनु दादा । अर्को वर्ष म परीक्षा दिन्छु ।’

सविताले पढाइ छाडेकोमा मलाई बहुत खल्लो लागेको थियो । परीक्षा दिने उसका कुराले मलाई औधी खुसी लाग्यो ।
साता दिनपछि सविताका दुई जना घर जान तयार भए । जाने वेला मेरो कोठामा आएर भनी, ‘दादा, हामी जान्छौँ । राम्ररी बस्नुहोला । हाम्रा बाआमाको पनि ख्याल गर्दिनु होला । फाराम भर्दिएपछि मलाई खबर गर्नु । भ्याएसम्म म परीक्षाको तयारी गर्छु ।’
‘बाआमाको माया मारेर हिँडेकी सविताको कत्ति छिट्टै मन फर्केको !’ मनमनै कुरा खेलाएँ । भनेँ, ‘हुन्छ । म फाराम भर्दिन्छु । परीक्षा दिन चैँ आउन पर्छ नि !’

उसले भनी, ‘हुन्छ दाइ । म परीक्षा दिन आउँछु ।’
सविता बाआमासँग बिदा मागेर मलाई हेर्दै बाटो लागी । ज्वाइँ पछिपछि लागे । आज चैँ घरबाट छोरी अन्माएको जस्तो लागेछ क्यारे बुढाबुढीलाई । हेर्दै रुँदै गरे । मैले पनि सविता ओझेल नपरुन्जेलसम्म हेरिरहेँ । सोचेँ– मेरी पनि एउटी बैनी छ । हाम्रो परम्पराअनुसार उसलाई पनि अन्माएर अन्तै पठाउनु पर्ने छ । आँखामा आफ्नै बैनी अन्माएर पठाएको दृश्य नाच्न थाल्यो ।
जुम्ल्याहा छोराछोरी लिएर सविता अर्को वर्ष माइत आई । छोराछोरी नाटीकुटी सविताकै अनुहार परेका रहेछन् । ज्वाइँ आएका थिएनन् । मैले सोधेँ, ‘ज्वाइँ किन नआउनुभएको सविता ?’

उसले भनी, ‘विदेश जाने सुरमा हुनुहुन्छ । खै, केके मिलाउँदै हुनुहुन्छ ।’
‘ज्वाइँलाई बाहिर पठाएर तिमी एक्लै बस्न सक्छ्यौँ त ?’
‘सकिहाल्छु नि । सासूससुरा हुनुहुन्छ । केही गाह्रो हुँदैन ।’
‘प्रयास गर्दा काम मिलिहाल्थ्यो नि । आफ्नै देशमा बस्दा राम्रो हुन्थ्यो ।’
‘छोराछोरी बढेपछि पढाउन प-यो । दुःखबिमारमा पैसै चाहियो । याँ बसेर के काम गर्नुथ्यो र दादा !’
अर्को बिहान सविता मसँग बिदा हुन कोठामा आई । गहभरि आँसु पारेर भनी, ‘दादा, म जान लागेँ । राम्ररी बस्नुहोला ।’

त्यसपछि सवितासँग खासै कुरा भएन । ज्वाइँ विदेश गएछन् । घरव्यवहार छाड्न नमिलेर होला ऊ तीन वर्षपछि मात्र माइत आई । लामै समय माइत बसी । म दसैँतिहार बिदामा घर गएको थिएँ । छठ बितेर स्कुल खुलेपछि मैले सवितालाई भेटेँ । भान्जाभान्जी रहर लाग्दा भएका रहेछन् ।
एक दिन बिहानै उसले मेरो कोठामा आएर भनी, ‘दादा ! म पनि विदेश जान लागेकी छु । अब यहाँ बसेर भएन । वेलामा पैसा कमाउन सकिएन भने बुढेसकालमा दुःख पाइन्छ ।’

सविताका अप्रत्यासित कुराले म स्तब्ध भएँ । निरुत्तर बसिरहेँ । मन कता कता पुगेर बहकियो । सविताको भन्दा ती साना अबोध भान्जाभान्जीको माया लागेर आयो । गिलासमा चिया हाल्दै भनेँ, ‘यस्ता तामाका मुनाजस्ता छोराछोरी छोडेर जान्छ्यौ ? यी भान्जाभान्जी कोसँग कता बस्छन् ? ज्वाइँले कमाएर पठाउनु भएकै होला । किन जान प-यो तिमी विदेश ?’

उसले न्याउरो अनुहार पारेर भनी, ‘ज्वाइँको कमाइ घरखर्च गरेर आधाउधी पनि बचेन । सँगैकाले कस्तो प्रगति गरिसके । धेरैले सहरमा घडेरी किने । ज्वाइँको मात्रै कमाइले केही प्रगति गर्न सकिएलाजस्तो छैन । मैले दुई तीन वर्ष कमाएँ भने एउटा घडेरी जोड्न सकिन्छ कि भनेर जान लागेको दादा !’

‘पैसा र घरघडेरीको लागि यी दुधे नानीहरू छाड्न सक्ने कस्ती आइमाई हो यो !’ यसो भनिनँ । अलि फरक प्रश्न गरेँ, ‘सहरको घडेरी ठुलो कि यी छोराछोरी ?’

‘छोराछोरी बढ्दै गर्छन् । म कमाउँदै गर्छु । भैहाल्छ नि दादा । यिनीहरूलाई यतै छाड्छु । बाआमासँग बस्छन् । तपाईं यहीँ हुनुहुन्छ । तपाईं सरुवा नहुन्जेल तपाईंसँगै स्कुल जान्छन् । कोठामा पढ्छन् । कमाउन थालेपछि सरलाई म हेल्प गरुँला नि !’
‘स्कुल जाने र पढ्ने कुरासम्म ठिकै हो । यी साना लालाबालाले आमा खोज्दा के भन्नु ! कसलाई देखाउनु !’

‘दुईचार दिन न्यास्रो मान्छन्, त्यसपछि बिर्सिछन् । भिडियोमा कुरा भैहाल्छ । अहिले को चैँ कसको साथमा रहेको छ र ! साथमा नभएपनि भए जत्तिकै हो । आम्नेसाम्ने गफ भएपछि नजिक हुन पर्छ र दादा !’

सविता यी साना नानीहरूलाई छाडेर नजाओस् भन्ने मेरो कामना थियो । भावना थियो । विदेशका लागि उचालिएका सविताका खुट्टालाई मेरो भावना र कामनाले रोक्न सकेन । मेरो कोठाबाट ऊ टक्टकिएर हिँडी । मेरो आशामा हिमपात भयो । बाआमाले रोक्न नसकेका उसका पाइला मैले के रोक्न सक्थेँ र !

अन्ततः सविता बाआमालाई रुवाएर हिँडी । दुधे नानीहरूको मायाले उसलाई रोक्न सकेन । अहो ! जन्म दिएर हुर्काउने दायित्वबाट पन्छिने आइमाई आमा हुन सक्छे ! के सविताको वात्सल्य बाँझो छ ! कि रित्तो छ ! मेरो लागि सविता ‘आमा’ को दायित्वबाट च्यूत भई । विदेश गएपछि दुईचार पटक कुरा भएको थियो । त्यसपछिका दिनमा सवितासँग खासै सम्पर्क भएन । सम्पर्क गर्न मन लागेन । उसले पनि नचाहेरै होला, फोन–अनलाइनमा आइन ।

मेरो छुट्टै दैनिकी थिँदै थियो । नियमित स्कुल आउजाउ गर्ने । स्कुल टाढा थिएन । भान्जाभान्जी हिँड्न सक्ने भएपछि मैले नै स्कुलमा लगेर नाम लेखाइदिएँ । उनीहरूलाई म दुईतिर डो-याएर स्कुल लानेल्याउने गर्थँे । तिनका सुकोमल हात समाउँदा मलाई मेरै छोराछोरी स्पर्श गरेभैmँ लाग्थ्यो । तिनीहरू मलाई खुब पछ्याउन लागेका थिए । हजुरबा हजुआमाको भन्दा मेरोमा उनीरू बढी रमाउँथे । धेरै समय मेरै कोठामा बस्थे । पाकेको खान दिन्थेँ । कोठामै गृहकार्य गराउँथे ।

उनीहरू घर गएपनि धेरै समय नबसी मेरै कोठामा आइहाल्थे । ‘जाऊ’ भन्न यो मनले मानेन । अंकिता दिदी थिई, अंकित भाइ थियो । दुध कटुवा ती नानीहरूको टिठलाग्दो अनुहार देख्दा मन भक्कानिएर आउँथ्यो । ‘सुसन’ को ‘स’ लाई ‘च’ उच्चारण गथ्र्यो तिन्को जिब्राले । उनीहरू मलाई चुचन मामा भन्थे । ‘चुचन’ मेरो प्रिय शब्द भएको थियो ।

तिनलाई मैले हात समातेर लेख्न सिकाएँ । भान्जाहरू अक्षर चिन्ने भए । अक्षर लेख्ने भए । तिनकी आमाले छाडेर गएपनि मैले आमाको अभाव हुन दिइनँ । रोजेको खान दिएँ । लाउन दिएँ ।

अंकित र अंकिता अब ठुला भए । स्कुल जाँदा हात समातेर डो¥याउनु नपर्ने भयो । छिमेकी साथीहरूसँग खेल्न जान थाले । नानीहरूको बालसुलभ खेल देख्दा मलाई रमाइलो लाग्थ्यो ।
+++
तीन वर्षपछि सविताका दुई जना स्वदेश फर्केर आए । पहिले घर गएर सविता माइतमा आई । सविताले आप्mनो उद्देश्य पूरा गरिछ । सहरमा उनीहरूले घडेरी किनेछन् । तर, सविताप्रतिको मेरो पहिलेको प्रेम र श्रद्धा स्खलन भएको थियो । ऊ मेरो कोठामा आउँदा उसका छोराछोरी त्यहीँ थिए । उसले नानीहरूलाई बोलाई । तिनले अनास्थाभावले आमालाई हेरे ।

सविताले छोरीलाई तानेर काखमा राखी । म्वाइँ खान खोजी । छोरी जिप्टिएर पर पुगी । छोराको हात समाती । छोराले हात झड्कारेर हटायो । उसले भनी, ‘मलाई चिनेनौ ? म तिमीहरूको आमा ।’
अंकिताले भनी, ‘हाम्री आमा छैनन् । मरिसकिन् ।’
अंकित बोलेन । परपर भयो ।

आमा र छोरीको यो अनपेक्षित संवादले मेरो मन नराम्रोसित चिमोटियो । फेरि सविताले नानीहरूलाई तान्न खोजी । तिनीहरू भागेर पर पुगे । अनि यता आएर मेरो पछाडि उभिए ।

सविताले भनी, ‘आऊ, अब घर जाऊँ । घरमा बाबा आउनुभएको छ । तिमीहरूलाई नयाँ लुगा ल्याइदिएका छौँ । खेल्ने गाडी, साइकिल ल्याइदिएका छौँ । अरू केके छ केके !’
अंकितले भन्यो, ‘हाम्रो बाबा छैनन् । मरिसके ।’
अंकिताले भनी, ‘हाम्लाई केही नि चाहिँदैन ।’

सविता घोसेमुन्टो लगाएर उभिइरही । मेरो कोठामा एकछिन सन्नाटा छायो । केटाकेटीले मेरो अनुहारमा हेरिरहे । तिनीहरूको बालमनमा केले झड्का हानेको थियो ! म अनुभव गर्न सक्दिनथेँ । मलाई बोल्न गाह्रो भएको थियो । ‘के साँच्चै तिनीहरूले आप्mनी आमालाई चिनेका थिएनन् !’
सविताले तानेर अंकितलाई बोकी । अंकितालाई समातेर तानी । भनी, ‘हिँड, घर जाऊँ ।’ अंकित र अंकिता रुँन थाले । अंकितले भन्यो, ‘मामा ! हामी यीं बस्छौँ । हाम्रो घर यै हो ।’

अंकिता चिच्च्याई, ‘नाईं, हामी जाँदैनौँ । हामी मामासितै बस्छौँ ।’
अंकित सविताको अँगालोबाट उम्कियो । अंकिता परपर हुँदै थामलाई अँगालो हालेर लेप्सिई । सविता असमञ्जस्य भएर उभिई । उसभित्रको आमापन ब्यूँझियो । बाँझो वात्सल्य उर्वर बन्न थाल्यो । उसले भावविह्वल भएर भनी, ‘दादा ! यिनीहरूलाई अब कसरी घर लैजाने ?’
मैले केही भन्न सकिनँ । सविताको आँखा आँसुले भिजे । आँसुको मूल उसका गालामा लत्पतिएर तप्प भैँमा खस्यो । सायद, यतिवेला उसले पैसा र घरघडेरी बिर्सेर छोराछोरी सम्झेकी थिई ।

प्रतिक्रिया

सम्बन्धित खवर