✍️ दीपक श्रेष्ठ

उसले
क ख ग घ…
अ आ इ ई…
ए बी सी डी…
१ २ ३ ४…
1 2 3 4…
सबै साउँ अक्षरहरू
चिन्न थालेपछि
नहेरी भन्न थालेपछि
उसका बा-आमा, हजुरबा-हजुरआमा
हिजै जस्तो लाग्छ
खुशीले गद् गद् हुनुभएका

उसले ‘आम्मा’ भनेर पहिलो पटक बोलेको सुन्दा
उसले ‘बाब्बा’ भनेर आँखा चम्किलो पारेको देख्दा
हिजै जस्तो लाग्छ
सुखको अनुभूति गरेका

उसले
तोतेबोलीमा रमाउँदै
आफैले पनि ताली बजाउँदै
अङ्ग्रेजी राइम्सहरू गाउँदा
Johnny Johnny! Yes Papa!! फेरि गाउ त!
Twinkle Twinkle Little Star दोहोर्याउ त!
भन्दै उसका बा-आमाले
उसका हजुरबा-हजुरआमाले
रमाउँदै ताली बजाएका
हिजै जस्तो लाग्छ।

उसले स्कूलमा सिकेको
‘सयौं थुङ्गा फूलका हामी……..’
छातीमा हात राख्न लगाएर
तोते बोली मै बोली मिलाएर
घरमा संगै गाएका
कहाँ बिर्सिएका छन् र!

उसँग बिताएका
उसका बालापनका मायालु पलहरू
उसका अबोध ढाँट छलहरू
संगाल्न पाउँदा नपाउँदै
उसैका लागि
कन्सल्टेन्सी धाएको
घर जग्गा बन्धकी राखेको
भिसाको लागि दौडधुप गरेको
कहाँ बिर्सिएका छन् र!

उसलाई
ध्यान दिएर पढ्नु है
समयमा खानु, सुत्नु है
भन्दै अंगालो हालेको
आँखामा आँसु लुकाएको
भारी मनले बिदाइ गरेको
कहाँ बिर्सिएका छन् र!

बिर्सिएको त उसले पो छ सजिलै

उसले भुलिसकेको छ
बा-आमाको माया
हजुरबा-हजुरआमाका आशीर्वाद
शिक्षकहरूको मार्गदर्शन

दौंतरीहरूको प्रेम
नातागोताको सम्झना

देशको हावापानी
माटोको सुगन्ध,
संस्कृति अनि रितरिवाज

उसको मस्तिष्कमा
केही थान अनुहारका
धमिलो चित्रमात्र बचेको छ
उसको मानसपटलमा
आइरहने आजकल
दुइचार कुराहरू छन् केवल-

अपार्टमेन्टको इएमआई
गाडीको इएमआई
सप्ताहन्तमा घुम्न जाने ठाउँ
अनि बेहिसाब रिल्याक्स गर्ने समय

हो, समयको पक्का भएको छ ऊ
कलिलो हड्डी
निकै घोटिसकेको छ उसले
दु:ख, पीर अनि वेदनाहरू
सारा सहिसकेको छ उसले

बोलीको भने पक्का हुने छाँटकाँट नै छैन
फर्किन्छु छिट्टै भन्छ हरेक चाडबाडमा
धेरै कुरा नै बिर्सन्छ उसले हडबडमा

खै, के गुमाएको छ उसले
खोज्न भौंतारिरहेछ के-के
के जितेको छ उसले
खै, हारिरहेछ के-के

हिजोआज देखिन्छ ऊ
छटपटीमा हरपल
बिर्सिएर सारालाई, भुलेर आफैलाई
कि मरिरहेछ ऊ पलपल?

उसका सामु प्रश्नहरू
गरिरहेछन् प्रियजन-
मेटाउन खोजिरहेछ ऊ
कस्तो सुखको तलतल?

प्रतिक्रिया

सम्बन्धित खवर