✍️ जिएसएम खनाल
मुक्तक – एक
नमानी डर नमानी लाज लेखाउनै पर्नेछ
थाती राखेर सारा कामकाज लेखाउनै पर्नेछ
मैले सर्वस्व सुम्पिदा सुम्पिदै छोडेर गएकी होस्
तेरो नामको अघि धोखेबाज लेखाउनै पर्नेछ
मुक्तक – दुई
छुट्याउन खोज्यो सकिन्न झन,उस्तै देखिन्छ
जस्तो कि शिरको फेटा र कफन,उस्तै देखिन्छ
कसलाई बिश्वास गर्नु कोसँग सतर्क रहनु ?
झट्ट हेर्दा खेरी मित्र र दुश्मन, उस्तै देखिन्छ
मुक्तक – तीन
बुझेन मनको कुरा आफ्नै मान्छेले
बनायो सपना टुहुरा आफ्नै मान्छेले
उपचार गरौं कि मरौं अन्यौलमा परे
धस्यो पिठ्युँमा छुरा आफ्नै मान्छेले
मुक्तक – चार
खानै मन छैन भनेर ढाटेको, बल्ल बुझ्दैछु
एक्लै पहाड उचाल्न आटेको, बल्ल बुझ्दैछु
हामीले जे माग्यो त्यही पुर्याइदिने मेरा बाले
लगाउथे कपडा किन फाटेको, बल्ल बुझ्दैछु
मुक्तक – पाँच
नसोचेको कदम चाल्यो कसरी भनौं
अटुट सम्बन्ध छिनाल्यो कसरी भनौं
कसैले सोधे निःसन्तान विधवा हुँ भन्छु
छोराले घरबाट निकाल्यो कसरी भनौं
प्रतिक्रिया
-
४
