✍️ गोविन्द लाफाली
मुक्तक – एक
मनमा ठूलै आस्था बोकेर हिँडेका छन्
जहाँ देखे भेटेपनी ढोगेर हिँडेका छन्
भगवानकै विरोध गर्नेहरू खुसी छन् बरु
दिनहुुँ पुजा गर्ने मान्छे रोएर हिँडेका छन्
मुक्तक – दुई
आफू जस्तै अरू एक हुल, लिएर आएछ
बाँकी रैछ तिर्नलाई महसुल, लिएर आएछ
जिन्दगीभर पत्थरको बर्षाद गरिरहने मान्छे
आज मेरो शवदाहमा फूल, लिएर आएछ
मुक्तक – तीन
राम्रोसँग बुट्टा भरिदियो रंग लगाई दियो
दया देखाउँदै दुई थोपा आँसु खसाई दियो
जो ओत लाग्ने छानो नभएर चिसोले मर्यो
उसैको चिहान भने सिमेन्टको बनाई दियो
मुक्तक – चार
जुनिजुनीसम्म तिम्रै बनी बाँच्ने रहर गर्छ
धोका दियो मृत्युले भनी बाँच्ने रहर गर्छ
तिमीलाई देखेपछि तिम्रो रूप देखेपछि
चिताको लासले पनि बाँच्ने रहर गर्छ
मुक्तक – पाँच
न कसैलाई दिक्क लाग्नेछ न झर्को लाग्नेछ
यो दुनियाँ नै एकपटक त अर्को लाग्नेछ
कसैले मेरो मृत्युको हल्ला फैलाई दिनुस्
यहाँ मेरो तारिफ गर्नेहरूको लर्को लाग्नेछ
प्रतिक्रिया
-
४
