✍️ कविन्द्र घिमिरे
गजल – एक
सम्पत्तिको लागि यो मारकाट हो सम्झेर बस्नु ।
सुख या दुःख आफ्नो ललाट हो सम्झेर बस्नु ।
कि मरेर आउँला कि सम्पत्ति लिएर आउँला
आमा ’ परदेशिनु एउटा आँट हो सम्झेर बस्नु ।
चिनो के दिउ ? प्रिया यो एउटा रुमाल लैजाउ
यो एउटा रुमाल पनि जुगाट हो सम्झेर बस्नु ।
तिर्खाएकाहरूलाई एक घुट्की पानी दियौ भने
त्यो महायज्ञ भन्दा पनि बिराट हो सम्झेर बस्नु ।
महलमा बस्नेको पनि झुपडीमा बस्नेको पनि
अन्तिम गन्तव्य त आर्यघाट हो सम्झेर बस्नु ।
गजल – दुई
घर न घाटको भएको त बा ले पिएर हो ।
उ टुहुरो भएको पनि आमा झुण्डिएर हो ।
पोईल गएकी श्रीमती पनि फेरि स्वीकार्यो,
सायद आफ्ना साना नानीहरू सम्झिएर हो ।
उ जेलको चिसो छिडीमा रहनुको कारण,
अगेना छेउमा राखेको नौनी पग्लिएर हो ।
आमालाई ब्यथाले च्याप्दै गएको बुझ्नु भो नि ?
आफ्नै छोरोको पनि चुल्हो अलग्गिएर हो
यसरी बारम्बार प्रहार मात्र किन गर्छौ हँ ?
कि तिम्रो दिन कि मेरो दिन सकिएर हो ?
प्रतिक्रिया
-
४
