✍️ माधव सयपत्री
‘तपाईंले खाता सार्नु भो त ? दिनभरिमा सारिसक्नु भो होला नि !’ चियाको गिलास टेबुलमा राख्दै बसन्तीले दिलमानलाई सोधी ।
‘कति कचकच गर्न सकेकी होली यो आइमाई ?’ दिलमानले मनमनै भन्यो ।
रिसाएर श्रीमतीलाई हे-यो मात्रै । खाता अर्कोमा नसारेको कुरा बसन्तीले थाह पाई । उसले पनि रिसाएकै अनुहारले जवाफ दिई । दिलमानलाई आप्mनी श्रीमती चिलाउने लुतो जस्तो लाग्न थाली । जति कन्याए पनि कहिल्यै चिलाइ नमर्ने । एक झापड दिऊँ जस्तो पनि लागेको थियो । उसको हात उठाउने बानी थिएन । केही प्रतिक्रिया दिएन । ऊ चिया पिउन थाल्यो ।
अर्को खाता फेर्न उसकी जहानले पटकपटक भनेकी पनि हो । खाता परिवर्तन गर्ने विषयले धेरै पटक जोईपोइबीच ठाकठुकसमेत परेको थियो । तर दिलमान खाता परिवर्तन गर्ने कुरामा टसमस भएन ।
बसन्तीले भनी, ‘तपाईंलाई जति भने पनि लागेन है ! खाता पुरानो भैसक्यो । अर्कोमा सार्नू भन्दा टेर्दै नटर्ने ! कस्तो अटेरी मान्छे तपाईं ! हरायो, च्यातियो भने बर्बाद हुँदैन ! अर्कोमा सार्दा के बिग्रिन्छ ! झन् दुइटा खाता हुन्छन् । एउटा हराए अर्कोमा हुन्छ । तपाईं सार्नु हुन्न भने म छोरालाई सार्न लाउँछु ।’
श्रीमतीको लामो अर्ति सुन्यो दिलमानले । अनि भन्यो, ‘तिमी धेर कचकच नगर बसन्ती । कतिवटा खाता चाहिन्छ ? यै पुरानाले भएकै छ नि । दुइटा खातामा हिसाब राख्दा अलमलिन्छ । दोहोरो नाम पर्न सक्छ । एउटामा असुल गरेपनि अर्कोमा बाँकी रहन सक्छ । त्यस्तो भयो भने ग्राहक भाँडिदैनन् ?’
कुरा त दिलमानले तर्कयुक्तै गरेको थियो । श्रीमतीले भनेको पनि ठिकै ठान्यो । तर अर्को खातामा बाँकीवाला ग्राहकको नाम चढाउने लेठो गरेन । उसले भन्यो, ‘यो खाता सकिएपछि अर्को खाता चलाउँला नि !’
अर्को दिन बिहानै बसन्तीले नयाँ खाता ल्याएर लोग्नेको अगाडि बजारी । कड्किएर भनी, ‘जति भन्दा पनि लागेको हैन । म त वाक्क भैसकेँ । आपूmलाई सार्न अल्छी लागे छोरालाई लाउनु नि ! त्यति त छोराले पनि सार्छ ।’
दिलमानलाई स्वास्नीको करकरले दिक्कै लागेको थियो । ऊ रिसायो । पुरानो खाता बसन्तीको काखमा फाल्दियो । भन्यो, ‘हैन, कति कराउन सकेकी ! खाता मात्रै सारेर पैसा असुल हुन्छ ? पैसा तिरे पो नयाँ खातामा नयाँ नाउँ लेख्नु ! पुरानो बाँकी नयाँ खाता के गर्नु ! बेकार खाताको खर्च मात्रै । खाता पनि त्यसै त आउँदैन नि ! दिनभरिको बेपारको हाल यै हो । आज एउटा मुसो पनि आएको छैन ।’
बसन्तीले लोग्नेको अनुहारमा चढेको रिसको पारोलाई तल झार्न ठट्यौली पारामा भनी, ‘कपडा काट्ने मुसो त यतै चेपचापतिर होला नि ! तपाईंलाई मुसो चाहिएको हैन !’
बसन्तीले यसो भन्दा संयोगले एउटा मुसो कपडाको थाकबाट ‘चीँ चीँ’ गरेर अर्कोतिर भाग्यो । बसन्तीले भनिन्, ‘उः मुसो ! तपाईंलाई चाहिएको मुसो आयो त ! उः त्यता कराउँदै छ ।’
दिलमानको अनुहारमा चढेको रिसको पारो अलि तल झ-यो । फिस्स हाँसो । उसले बसन्तीलाई तानेर छेउमा राख्यो । भन्यो, ‘बसन्ती, तिमी आपैmँ खाता सार बरु भन्दिउँला ।’
बसन्तीले खाता सार्दिन भनरै दिलमानले यो कुरा भनेको थियो । बसन्तीले कर्र्के आँखा लगाएर हेरी । उसले भनी, ‘आ… तपाईं नि ठट्टा गर्नुहुन्छ ! मैले जान्या भए तपाईंलाई करकर गर्नु पथ्र्यो र ! छोरालाई भन्दा ‘हेर्नुस् मम्मी, म खातासाता सार्ने मान्छे हैन, जमाना कता पुगिसक्यो । बाउ त्यै ढ्याब्रे खाता तेस्र्याएर बस्छन् । बरु एउटा कम्प्युटर किन्दिनु भन्नुस् । म त्यसैमा सार्छु ।’ भनेर क्यारमबोर्ड खेल्न कुद्यो । नजा भन्दा टेर्दै टेरेन । बीस रुपियाँ मागेर लग्यो । नदिई धरै पाइनँ । उः पर केटाहरूसित क्याराम खेल्दै छ । यत्रो बडो भैसक्यो । बुद्धि कहिले आउने हो ! जस्तो बाउ उस्तै छोरा ।’
दिलमानले थप ठट्टा ग-यो, ‘बुद्धि आउने बाटो तिमीले छेकिदिएकी छ्यौ अनि कहाँबाट आओस् त बुद्धि ! जस्तो आमा, त्यस्तै छोरा ।’
एकछिन् जोईपोइको छेडखानी प-यो । बसन्ती दिलदेखि नै मुसुक्क हाँसी । बसन्तीको मुस्कुराहटले दिलमानको दिल पनि हाँस्यो । एकछिन् दुवैले हेराहेर गरे । त्यो परिहासपूर्ण वार्तालापले सायद वातावरण पनि हाँस्यो ।
पर केटाहरू क्यारमबोर्ड खेल्दै थिए । दिलमानको छोरा क्यारम खेल्दाखेल्दै दौडेर आयो । ‘मम्मी मम्मी, अब बीस दिनुस् न । हाम्रो बाजी छ । एकैचोटि सय आउँछ क्या ।’
दिलमानलाई छोरादेखि पनि ज्यादै रिस उठ्यो । उसले भन्यो, ‘जा पशु औषधि पसलमा विष पाइन्छ । त्यै किनेर बाजी राख ।’ बसन्ती रिसाई । फन्किई । सायद एउटी आमाको दिल दुख्यो । झर्किएर भनी, ‘के भनेको नि छोरालाई नचाहिने कुरा ।’
छोरा बाबुसित बोलेन । मम्मीसित करकर मात्र गरिरह्यो । दिलमान फेरि उही खाता पल्टाउन थाल्यो । ‘नरे काइँलो दश हजार बाँकी । कत्ले दमाईं पाँच हजार बाँकी । भुने कटुवाल तीन हजार बाँकी । पुन्टे बाहुन सत्र सय बाँकी । लुरे कान्छो पन्ध्र सय बाँकी ।’
बाँकी नै बाँकी । पसलको कुल पुँजीभन्दा बाँकी बढी देखियो । बाँकी हेर्दा हेर्दै दिलमानको दिमागै बाँकी नरहने भयो ।
+++
दिलमान साहुको एउटा खाता छ । त्यो उसका लागि ज्यादै प्यारो मात्र छैन, नङमासुको सम्बन्ध छ । खाता सरकारी ढाँचाअनुसार दोहोरो स्रेस्तामा राखिएको पनि छैन । त्यो केवल दिलमान साहुको पसलको नितान्त व्यक्तिगत र अनौपचारिक सोझो हिसाब राखिएको खाता हो ।
खाता बाक्लो जिल्दको लाम्चो र मोटो रजिस्टर आकारको छ । त्यो खाता वर्षौँदेखि दिलमानको मनमा बसेको खाता हो । दिलमानको त्यो दिलभित्रको खातामा उधारो लैजाने ग्राहकको नाम, रकम, सामान र मितिसमेतको विवरण लेखिएको छ ।
दिलमानको खाता जतन गर्दागर्दै, हिफाजत गर्दागर्दै मैलिसकेको छ । छेउको भाग ठाउँ ठाउँमा च्यातिन लागेको छ । खाताको वायन्डिङ्ग खुस्किँन लागेको छ । खाता जति नै थोत्रिएपनि दिलमानले खाता विस्थापन गर्न नचाहनुमा मुलतः दुई वटा कारण छन्ः
– यसमा लाखौँको बाँकी रकम लेखिएको छ । यो उसको सर्वस्व हो ।
– यो खाता बाउकै पालाको हो । त्यसैले यो पुर्खाको विरासत हो ।
दिलमान सुत्दासमेत खाता सिरानमै राखेर सुत्छ । श्रीमतीलाई समेत राख्न दिँदैन । छोरालाई त झन् छुनै दिँदैन । खाता हरायो भने दिलमान डुब्छ, समुद्रमा जहाज डुबेझैँ । उसको सपना तासको घरझैँ ढल्छ । तासकै ढलेको घरको भग्नावशेषभित्र ऊ च-यापचुरुप भएर किचिन्छ ।
दिलमान अलि पुरानै मान्छे हो । उमेरले पचास पार गरेको । उसका अक्षर हत्पपती नबुझिने खालका छन् । उसको लेखाइ नै त्यस्तै हो । चालीस सालतिर बल्लबल्ल थर्ड डिभिजनमा एसएलसी पास भएको थियो । अगाडि अरू पढूँ भन्दा उसको बाउले भने, ‘अब पसल जिम्मा लिएर बस् । पढ्नु पर्दैन । तैँले पढेर खाँदैनस् ।’ बाउकै करबलले उत्तराधिकार समालेर साहु बनेको थियो दिलमान ।
दिलमानका लागि बेपार रहरको पेसा थिएन । ऊ शाही नेपाली सेनामा जागिर खाएर देशको सेवा गर्न चाहन्थ्यो । आफ्नो चाहना बाउसामु राख्दा बाउले फिटिक्कै वास्ता गर्दिएिनन् । आप्mनो प्रस्ताव बाउले अस्वीकार गरेपछि दिलमान बलात् बेपारको पेसा अँगाल्न बाध्य भएको थियो ।
दिलमानको कपडा पसलमा मझौला लगानी थियो । धेरै लगानी गर्न सकेको थिएन । प्रक्रिया पु-याएर बैङ्क, सहकारीतिर रिन मागेको भए पाइन्थ्यो पनि होला । तर त्यो झन्झट गरेन दिलमानले । बाउले लगानी गर्दिएको सामान्य लगानीलाई नै यताउता गरेर बेपार चलायो ।
जीवन–जगत्लाई हेर्ने दिलमानको आफ्नै दृष्टिकोण थियो । उसका लागि जीवन चले पुग्यो । कुनै बढ्ता महत्वाकाङ्क्षा थिएन उसमा । कुस्त पैसा कमाएर समाजमा बढप्पन देखाउने जुगुप्सा थिएन । ऊ सामान्य भैकन असामान्य बेपारी लाग्थ्यो ।
बाउले उसलाई भनेका थिए, ‘पैसा कमाउन सजिलो छ तर इमान कमाउन गाह्रो छ । पैसा गुमे अर्को पटक फर्किन्छ तर इमान गुमे कहिल्यै फर्किँदैन । बेपार पैसा कमाउने पेसा मात्र हैन, इमान जोगाउने पेसा हो । सामानको बेपार गर्दा विवकेको बेपार कहिल्यै नगर्नू ।’
बाउका यी कुरालाई दिलमानले दिव्य वचन सम्झेको थियो । सम्झिरहन्थ्यो यी आदर्श वाक्य । त्यसैले उसले बेपारमा कुनै रस्साकस्सी गरेन । अरूको आरिस गरेन । अवाञ्छित फाइदाका लागि अर्कालाई ठगेन । जति बेपार ग-यो इमानले ग-यो । विवेक राखेर ग-यो ।
ऊ बजारकै सोझो–सिधा व्यापारी थियो । लामो समय ग्राहकले पैसा नतिरे पनि माग्दैनथ्यो । कहिल्यै तुच्छ वचन गर्दैनथ्यो । उसकोमा बाँकी हुनेले आँखा छलेर अर्कै पसलबाट कपडा लान्थे । दिलमान देखे पनि नदेखेझैँ गथ्र्यो । ऊ अरू पसलेझैँ सामान खोस्न जाँदैनथ्यो । दिलमानको त्यही सोझोपनाको फाइदा उठाएर छट्टु ग्राहक उसैलाई ठग्थे । लामो समय पैसा नतिरेका ग्राहकलाई केही भन्नै परे ऊ भन्थ्यो, ‘हाम्रो पुरानो केही थियो कि ?’ वा ‘तपाईंसित केही कुरा छ’ भनेर एकान्तमा बोलाएर सम्झना गराउँथ्यो ।
धेरैजसो ग्राहक ‘हुन्छ, म असुल गर्छु ।’ भन्थे । तर कति त ‘लुटेर लगेको हैन, दिएरै लगेको हो । एक दिन तिरिहालिन्छ नि ! पैसा भै भै कोही रिनी बस्दैन नि ! भाको वेला तिरौला ।’ तेस्राथरी भन्थे, ‘तिमीले नदिए अरू पसल छन् ।’
ग्राहकको जवाफ सुन्दा दिलमान फर्सी गल्दाझैँ फतक्कै हुन्थ्यो । तर उसले कुनै ग्राहकलाई धरपकड गरेन । जोरजुलुम गरेन । जबर्जस्ती गरेन । ग्राहकलाई भगवान सम्झियो । तर ग्राहकले ?
व्यापार व्यवसाय सधैँ जोखिममा रहने पेसा हो । बुद्धि पु-याएन भने छिनको छिनमै चौपट हुनसक्छ । चनाखो भएर टेक्निक अप्नाएमा केही महिनामै कायापलट पनि हुनसक्छ । यो कुरा दिलमानलाई थाह नभएको होइन । तर सुधो दिलमानको मनले सोच्यो, ‘दुई दिनको जिन्दगीमा किन छुचो हुनु !’
दिलमानको बाउ नरमान पुस्तैनी बेपारी थियो । बाउ भुक्तमानको शेषपछि दाजुभाइसँग आफ्नो बेपारको हिस्सा लिएर नरमान धुलीखेलबाट पूर्व हान्निएको थियो । नरमानलाई सबैले ‘धुलीखेले साउ’ भनेर सम्बोधन गर्थे । त्यै विरासत अहिले दिलमानले थामेको छ । उसलाई पनि ‘धुलीखेले साउ’ भन्छन् ।
पचपन्न सालमा दिलमानको बाउ म¥यो । बाउको चीर बिदाइपछि दिलमानले बेपार नगरी सुखै पाएन । त्यो वेलासम्म राम्रै बेपार चलेको थियो । कमाइ राम्रै थियो । काठमाडौँबाट त्यहीँ आएर बस रोकिन्थे । यात्रुहरू त्यै ठाउँमा वास बसेर रामेछाप, ओखलढुङ्गा, सोलुखम्बुतिर लाग्थे । काठमाडौँ जानेहरू पनि दुई दिन लगाएर त्यहाँ आइपुग्थे । भोलिपल्ट बस चढेर काठमाडौँ लाग्थे ।
छिट्टै अवस्था बदलियो । त्यहाँबाट अन्तिम बस बिसौना स-यो । बस त्यो बजार छिचोलेर रामेछाप पुग्न लाग्यो । एकाएक बजारमा मन्दी आयो । अलि पुँजी खेलाउनेहरू बिरालाले बच्चा सारेभैझैँ बसको अन्तिम बिसौनीतिर पसल सार्न थाले । तर दिलमानले पसल सारेर थप झन्झट बोक्न चाहेन । त्यसैले ऊ पुरानै थातथलो कुरेर बस्यो ।
बसन्तीले भनेकी थिई, ‘बस यहाँ बस्न छाडेपछि बेपार घट्यो । बजारका सबै सरिसके । अब हामी पनि सर्नुपर्छ ।’ दिलमानले उत्तर दिएको थियो, ‘सर्ने जति सरिसकुन् । सबै सरे भने त हाम्रो बेपार चम्किन पनि सक्छ नि बसन्ती । अहिले सर्ने हतार नगरौँ ।’
एक हिसाबले लोग्नेको तर्कमा दम थियो । को जान्ने ! बेपार भनेको अपार हो । केही समयमै मालामाल हुन पनि सक्छ । अरू कपडा पसल नहुँदा सबै ग्राहक उसकोमै ओइरिए भने ! उसले ठिकै ठानी । ठाउँ सर्ने कुरामा पूर्ण विराम लगाई ।
खुर्कोटको पुल बनेपछि चरिकोट हुँदै बस आउनै छाडे । विकास पनि कसैका लागि अभिशाप हुन जाँदो रहेछ । अचेल दिलमानको बेपार खहरे सुक्दाभैmँ स्याप्पै सुकेको छ । पेट पाल्न पनि धौ धौ परेको छ । ठुला भएका छोरीहरूको बिहेवारी भैसक्यो । कान्छो छोरा छ साथमा । त्यो ६ कक्षामा पढ्दै छ । अलि उट्पट्याङ छ छोरा । कहिले त बाउलाई पनि ठग्छ । गाली ग-यो रिसाउँदैन । उसैले बाउलाई हँसाएर मार्नु पार्छ ।
दिलमानले श्रीमतीले भनेको मान्दै मानेन । अर्को खातामा बाँकीवाला ग्राहकको नाम सारेन । यस विषयमा लोग्नेस्वास्नीको दैनिकै जसो ठाडाबाजी प¥यो । दिनभरि जसो दिलमान खाता वल्टाईपल्टाई गथ्र्यो । खातामा लेखिएको नाम, सामान, र रकम, मिति उसलाई कण्ठ जस्तै भएको थियो ।
साँझ प¥यो दिलमान खाता थन्क्याएर पूजा कोठामा पस्यो । त्यहाँ उसले आफुनो आराध्य देवतासित पुकारा माग्यो, ‘प्रभु, मलाई यो बाँकीबाट छिट्टै छुटकारा दिनुहोस् । हैन भने त मेरो जहाजै डुब्छ ।’
बेलुका खाना खाएर दिलमानको परिवार सुत्यो । आमाछोरा भने अबेरसम्म गुनगुन गरिरहेको सुनिन्थ्यो ।
+++
एकाएक दिलमानको खाता हरायो । धुईंपत्ताल खोज्यो दिलमानले । खाता कतै फेला परेन । तरक्क आँसु चहायो । पश्चाताप पनि लाग्यो । श्रीमतीले अर्कोमा सार भन्दा टेरिएन । खाता हरायो भनेर श्रीमतीलाई कसरी भन्ने होला ? दिलमानको दिमाग हल्लियो । मुटु बल्कियो । टाउको रन्कियो । उठेर बलेसीमा आयो । जिउमा चिटचिट पसिना आएको थियो ।
देख्यो– पानीले भिजेको टुक्रा टुक्रा कागज । एक एक गरेर कागजका टुक्रा टिप्दै गयो । नरे काइँलो कति बाँकी ? पुन्टे बाहुन कति ? कत्ले दमाई कति ? भुने कटुवाल कति ? नाउँ मात्रै भेट्यो बाँकी रकमतिरको टुक्रा भेटेन ।
‘अब के आधारले बाँकी पैसा माग्ने ? श्रीमतीले त्यत्रोविधि भन्दा टेरपुच्छर लगाइएन ।’ सोच्दै त्यसैको पाप सम्झियो उसले । स्वास्नीको कुरा नमानेकोमा खल्लो लाग्यो । पछुतो लाग्यो । स्वास्नी आपूmभन्दा दूरदर्शी ठान्यो । सोच्दा सोच्दै दिलमानलाई रिँगटा चल्यो । आँतै खरो भएर आयो । दिलमान भुईंमै पछारियो, ‘अर्ध तन्द्रामै चिच्यायो, ‘खाता कसले च्यात्यो ?’
बसन्ती आँत्तिएर आइपुगी । सोधी, ‘खाता के भयो भनेको तपाईंले ?’
दिलमान निकैबेर बौरिएन । बसन्ती आँत्तिई । उसले पानी छम्केपछि दिलमानले आँखा हे¥यो । धर्खरिँदै उठ्यो । बल्ल्बल्ल गयो । सिरानमुनि हे¥यो । खाता त्यहीँ रहेछ । उसले भन्यो, ‘बसन्ती, मैले हाम्रो पुरानो खाता च्यातिएर धुजाधुजा भएको देखेँ । सपना पो रहेछ ।’
‘धन्न सपना रहेछ । जपना भाको भए ? भो अब सुत्नुस् । भर्खर रातको बाह्र बजेको छ । भोलि जसरी नि खाता सार्नुस् ।’
उसले भन्यो, ‘बसन्ती, मलाई यो खाता सार्नै मन छैन ।’
बसन्तीले सोधी, ‘किन नि ?’
उसले भावातीत भएर भन्यो, ‘त्यसमा मेरा बाका अक्षर छन् । बाले नै लेखेको बाँकी छ । बाका अक्षरमा म बाको अनुहार देख्छु । अर्कोमा सार्दा यो खाता हराउन सक्छ । अबदेखि मलाई खाता सार्ने कुरा नगर ल बसन्ती !’
बसन्तीले भनी, ‘पैल्यै भन्न पर्दैनथ्यो त ।’
दुवै जना एकचोटि मिठो हाँसो हाँसे । छोरा लामो सास तानेर निदाइरहेको थियो । उनीहरू दुवै जना फेरि सुते र एकैछिनमा निदाए ।
प्रतिक्रिया
-
४
