✍️ सविन सिटौला
गजल – एक
थोरै भए पनि चुनौती होस् शत्रुको हिम्मतमा पनि
जिन्दगी ! हाँस्न नछोड् जस्तोसुकै आपतमा पनि
तिमीसँग भेट्न नदिन बाटैभरि बार लगाइएछ
सम्झ काल हुँ आउन सक्छु जस्तो हालतमा पनि
झुप्रोमा आफैलाई उच्च देखेर हाँस्ने हामी गरिब हौँ
धनी आफ्नो उचाइ नदेखेर दुःखी छ छतमा पनि
तिम्ले पठाएको पत्र मैलो थ्यो आँसु लागेर होला
मलाई घाउ हुँदा आँसु नै दिन्छ्यौ राहतमा पनि
आज निराश छस् , के भयो निर्धन ? सोध्नुहुन्छ
अरे म कहाँ खुसी भएको थिएँ र विगतमा पनि !
गजल – दुई
पथहरू खनोस्, चोट कोहीको पहिचानमा नपुगोस्
यो डोजर हाम्रा मूर्ति र हाम्रा चिहानमा नपुगोस्
तिम्रा आँखाभित्र पलपल पौडिँदो रहेछ आक्रोश
निस्किए पनि कसैको ओठको मुस्कानमा नपुगोस्
मेरो खेतको धान सखाप पार्यो तर केही छैन
चाहना छ कि यस्तो मूसो संविधानमा नपुगोस्
मलाई बुझ्ने रहर छ मानवता आगोभित्रको
फैलिएर आमा सुत्नु भुको मतानमा नपुगोस्
घर नजिकैको बगानमा पुगोस् एक अबोध बच्चा झैँ
घिस्रिनै परे पनि जिन्दगी घुरानमा नपुगोस्
प्रतिक्रिया
-
४
