सविन सिटौला

गजल १
एक घर बराबर कम्तीमा एक लास देखाएर
के वीर कहलिनु युद्धको तमास देखाएर!

अन्धकारमा छामछुम गर्नु नै जाती थियो बरु
रन्थनिएँ उसले आँखै छेड्ने प्रकाश देखाएर

मरुमराउमा सान्त्वना पस्किन पुग्नु पर्थ्यो
साथीले भुलायो बुङका बुङ तास देखाएर

अबेर भो, अब त घर जान्छु भनिटोपल्छु म
‘थुप्रै चियर्स गर्नुछ’ भन्छ यार गिलास देखाएर

लौरी सम्म दिएको भा’ निकै उचाइ चुमिसक्थेँ
ऊ उम्क्यो काँधैमा बोकी लैजाने आस देखाएर

गजल २
उठ्दैन अब सँगै भइन्छ भन्ने आसको घाँटी
तिम्ले पहिल्यै निमोठिसक्यौ विश्वासको घाँटी

किन यसरी बेमौसममा बान्ता गरिरा’छ?
कसले निचोरिरहेछ हँ त्यो आकाशको घाँटी ?

डोरीले बाँधी आफै झुण्डिए झैँ पारेकोथ्यो
हैट् , हत्याराले सुमसुम्याइरहेछ लासको घाँटी

मायाले मुसार्दैमा छिन्नभिन्न हुन खोज्छ
हेर प्रिय, मेरै त छ यहाँ कपासको घाँटी

त्यो मुटु समान भूमि हाम्रोपट्टिको हो बाजे ,
काँडाले छोपेर छोपिन्न इतिहासको घाँटी

***

प्रतिक्रिया

सम्बन्धित खवर