✍️ किरन सिवा
रातले बिहानीलाई स्वागत गर्नु भन्दा अगावै
झिसमिसेमै ब्युझनु हुन्छ र खेतको कुलो मिलाउदै
जानु हुन्छ सिलाइ मेसिनसम्म
बुवा हरेक दिन अभाव सम्झेर
आवस्यकता सिउनु हुन्छ , परिवार सम्झेर आफ्नै रहर सिउनु हुन्छ
जब
मेसिन घुमाउनु हुन्छ बुवा
बर्षौ देखि नफेरिएको आमाको साडिले रङ्ग फेर्छ ,
किस्तामा फसेको घरको लालपुर्जाले अलिकति सास फेर्छ
बुवा
बिभेदको संघारमा आफ्नै इमान बन्धकी राखेर
आउने जानेहरुलाई स्वागत गर्नु हुन्छ
हिजो
देश र जनताको हितकै लागि बोल्दै हिड्ने
तल्लो घरे दाजुले पनि
बुवाकै मेसिनमा झण्डा सिलाउन दिनु भयो
र भन्नू भयो
हावामा स्वतन्त्र सुर्यचंन्द्र फर्फराउने झण्डा बनाउनु,
बुवा झण्डा बनाएर घर सम्म पुग्नु हुन्छ
र दैलो बाहिरै बाट झण्डा बुझाँउनु हुन्छ
यसरी सम्झिनु हुन्छ
बरु मान्छेहरुले भन्दा त ,मेरै मेसिनले बुझेको छ
जस्ले जात हेर्दैन , वर्ण हेर्दैन
र सिलाई रहन्छ समानताको धागोले मान्छेकै इज्जत
आँयुको आधा युग छिचोल्दै यहाँ सम्म आईपुग्दा
स्वतन्त्रताको ठेगाना आज सम्म पनि ,पत्ता लगाउन नसकेको मेरो बुवा आफैले आफैलाई
जिन्दगीको तमाम उत्कर्षहरुबाट सिउनु सक्नु हुन्छ
बुवा मेसिन अगाडी आफ्नै उमेर राखेर जिन्दगी जिउनु हुन्छ ।
कवि किरण सिवाको यस कविता ‘राष्ट्रिय कविता महोत्सव-२०७९’ मा तृतीय पुरस्कार प्राप्त गर्न सफल भएको थियो ।
प्रतिक्रिया
-
४
