वीरेन्द्रनगर – वीरेन्द्रनगरकी सिर्जना गुरुङले साँझ बिहान पेटभर खान पाइएला भनेर सोचेकी थिइनन् । १४ वर्षकै उमेरमा विवाह बन्धनमा बाधिएकी उनको आर्थिक अवस्था नाजुक रहनाका साथै मजदुरी गरेर ल्याएको पैसाले साँझ बिहानको गुजारा चलाउन समस्या थियो ।

विगतमा सिर्जनाका दुई छोरा र दुई छोरी सानै भएकाले मजदुरी गर्न जान पनि नसकिने अवस्था थियो । त्यतिबेला कयौँ रात भोकै बस्नुपरेको उनी सुनाउछन् ।

“काम गरेको पैसाले कहिले आधा किलो चामल र चाउचाउ किन्थे तर सबैलाई पेटभर खान पुग्थेन”, विगत सुनाउँदै उनी भन्छन्, “कहिलेकाहीँ कोही छिमेकीले दिएको खाएर बस्थ्यौँ।”

छोराछोरीलाई भोकै सुताउँनुपर्दा राति सिर्जनालाई निद्रा लाग्दैनथ्यो । श्रीमान्को सहयोग नभएकाले चार छोराछोरीको पालनपोषण गर्ने जिम्मा उनको काँधमा थपिएको थियो ।

जीवनमा कहिले घाम त कहिले छाँया भनेझैँ सिर्जनाको जीवनले पनि अर्को मोड लियो । त्यो हो ‘अटो रिक्सा’ उनले अटो चलाउन थालेपछि आर्थिक अवस्था सुधार हुँदै आएको छ । “अहिले भोकै बस्नुपरेको छैन”, सिर्जना भन्छिन्, “अटो चलाएपछि पेटभर खान पाएका छौँ”,

उनले दैनिक गुजारा गर्नाका साथै मनग्य आम्दानी गर्न सफल भएकी छन् । अटो चलाएरै मासिक रु ३० हजार बढी आम्दानी हुने गरेको सिर्जना बताउछिन्।

सरकारी विद्यालयमा पढाउँदै आएका छोराछोरीहरुलाई अहिले बोडिङ स्कुलमा पढाउने सोच उनले बनाएकी छन् । विद्यालय नगएर बसेकी ठूली छोरी पनि अब विद्यालय जान पाउने भएकी छिन् ।

वीरेन्द्रनगर–१२ की कल्पना सिंहका श्रीमान्ले दोस्रो बिहे गरे । आफ्ना दुई छोरासहित भाडामा बसकेी कल्पनालाई श्रीमान्ले सहयोग नगरेपछि समस्यामा परिन् ।

छोराछोरीसहित उनलाई भने बिहान बेलुकाको छाक टार्नै हम्मेहम्मे थियो । एकदिन उनले नगरपालिकाले अटोरिक्सा चलाउने तालिम दिन लागेको छ भन्नेकुरा गाउँमा सुनिन् ।

वीरेन्द्रनगर नगरपालिकाले महिलालाई लक्ष्य गरी एक महिनासम्म अटो रिक्सा चलाउने तालिम दिने कार्यक्रम ल्याएको थियो । कल्पनाले पनि उक्त तालिम लिइन् र त्यसपछि नगरपालिकाबाट अटो किन्न रु दुई लाख पनि सहयोग पाइन् ।

रु दुई लाखमध्ये रु एक लाख अनुदान हो भने अर्को लाख एक वर्षमा तिर्ने ऋण । अटो चलाउन थालेपछि उनलाई श्रीमान्को आश गर्नै परेन ।

“श्रीमान्ले सहयोग नगरे पनि आफैँ आत्मनिर्भर बन्दै आउनुभएको छ”, उनी भन्छिन्, “रिक्सा चलाउन थालेपछि तीन जनाको मेरो परिवार सजिलै पाल्न सकेकी पालेकी छु ।”

अटो सिक्ने बेला कल्पनालाई समाजले के भन्ला भन्ने डर लागेको थियो तर अहिले अटो चलाएर मनग्य आम्दानी गर्न थालेपछि टोल–समाजले उल्टै हौसला दिन थालेका छन् ।

“समाजमा मैले अटो चलाउँदा अर्कै सोच्छकी भन्ने लागेको थियो”, उनी भन्छन्, “तर सोचेजस्तो छैन, राम्रो गरेकी छाँै, अझ मेहनत गर्दै जाउ भन्छन् ।”

कल्पनालाई एउटा समस्या भनेको सवारी चालक अनुमतिपत्र नहुँदा समस्या भएको छ । उनी अहिले अनुमतिपत्र निकाल्ने प्रक्रियामा छिन् ।

“ट्रायल कटाउन सक्दिनकी भनेर चिन्ता लाग्छ”, उनी भन्छिन्। कल्पना मात्र होइन, अहिले सुर्खेतका यस्ता अटो रिक्सा चालक महिला धेरै छन् ।

प्रदेशको राजधानी रहेको वीरेन्द्रनगरमा उपत्यकाभित्रको सार्वजनिक यातायात भनेकै अटो रिक्सा हो । वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालका अनुसार महिला स्वरोजगार कार्यक्रममार्फत तालिम लिएका १५ जनाले अहिले अटो चलाउँदै आएका छन् ।

वीरेन्द्रनगरको झुप्रा खोलामा गिट्टी कुट्ने र बालुवा चाल्दै आएकी २८ वर्षीया पवित्रा रावतले अहिले अटो चलाउँदै आएकी छन् ।

पहिले मजदुरी गरेर कमाएको पैसाले घरखर्च चलाउन कठिन थियो । उनका श्रीमान्ले पनि मजदुरी काम गर्छिन् ।

दुवैजनाले मजदुरी गरे पनि घरखर्च चलाएर छोराछोरी पढाउन समस्या परेको थियो तर अहिले अटो चलाउन थालेपछि मासिक रु ५० हजार देखि ६० हजारसम्म आम्दानी हुने गरेको छ ।

घरखर्च चलाउन सजिलो भएपछि उनका श्रीमान् पनि खुुसी छन् । पहिला सामान्य घरायसी सामान किन्न पनि आँट नगर्ने पवित्रा अहिले जग्गा किन्ने सोचमा छन् ।

“आफू आत्मनिर्भर भएपछि मात्र आँट आउँदो रहेछ”, उनी भन्छिन्, “अब घरको ऋण सबै तिरिसकेपछि जग्गा किन्ने सोच बनाएकी छु ।” पवित्राले गाउँको सहकारी संस्थामा बचत पनि गर्न थालेकी छन् ।

अटो चलाउँदा थरिथरिका व्यक्तिसँग कुराकानी गर्दै बाटो काट्नु पर्छ । “कोही कति पीडामा हुन्छन् अनि कोही खुसीमा रमाएका भेटिन्छन्”, उनी भन्छिन्, “उनीहरुसँग कुरा गर्दा आफ्ना पीडा पनि बिर्सन्छु ।”

कहिलेकाहीँ पीडित र समस्यामा परेका व्यक्ति भेटाएमा सहयोग पनि गर्ने गरेकी छु । वीरेन्द्रनगर–७ की मौसमी शाही पनि अटो रिक्सा चालक हुन् ।

साँझ बिहानको घरको कामबाहेक दिउँसोको समय सदुपयोग गर्न उनले अटो रिक्सा तालिम ल्याएकी हुन् ।

सानोतिनो खर्च चाहिए पनि श्रीमान्कै हात थाप्नुपर्ने भएपछि आफैँ आत्मनिर्भर बन्नुपर्छ भन्ने सोचले तालिम लिएको मौसमी बताउछिन् ।

उनका श्रीमान् नेपाल प्रहरीमा छन् । अटोको आम्दानीबाट मौसमीका परिवार सन्तुष्ट छन् । अटोबाट मासिक रु ४० हजारसम्म आम्दानी हुने गरेको उनी बताउँछिन् ।

अटो चलाउन थालेपछि घरखर्च चलाउन सहज भएको मौसमी बताउछिन्। “पहिला श्रीमान्को कमाइले मात्र सम्पूर्ण घरखर्च चलाउन समस्या हुन्थ्यो”, मौसमी भन्छिन्, “अहिले दुवैजनाले कमाउन थालेपछि बचत पनि हुन थालेको छ ।”

अटो चलाउन थालेपछि बढेको आम्दानीले उनले एक तले घरमा तला थप्न लागेकी छन् । “आफ्नो हातमा पैसा भएपछि आँट पनि आउँदो रहेछ”, मौसमी भन्छिन्, “मेरो कमाई देखेर श्रीमान् पनि खुसी हुनुहुन्छ र उहाँलाई भार पनि कम परेको छ ।”

नगरपालिकाले विपन्न महिलालाई अटो रिक्सा तालिम दिएपछि यहाँका महिलाको अटोतर्फ आर्कषण बढेको हो । अटोबाट राम्रो आम्दानी भएको देखेपछि अहिले छिमेकी महिला पनि अटो चलाउन थालेको अटो चालक मौसमी शाही बताउछिन् ।

“मैले अटो रिक्सा तालिम लिने बेलामा छोरी मान्छेले पनि अटो चलाउने भन्ने दिदीबहिनी नै अहिले अटो चलाएर आम्दानी गर्न पाए हुन्थ्यो भनेर सोध्नुहुन्छ”, उनी भन्छिन्, “कतिपयले त अटो किनेर चलाउन सुरु पनि गर्नुभएको छ ।”

पुरुषको तुलनामा महिला चालकले ट्राफिक नियम पालना गर्ने भएकाले दुर्घटना पनि कम हुने गरेको पाइएको ट्राफिक प्रहरी यज्ञबहादुर वली बताउछिन् ।

“महिला चालकले तीव्र गतिमा चलाउँदैनन् र दुर्घटना हुने सम्भावना कम हुन्छ”, उनी भन्छिन्, “प्राय महिला चालकले लापर्बाही गर्दैनन् ।”

महिलाले संवेदनशील भएर अटो चलाउने गरेको ट्राफिक प्रहरी वलीको भनाइ छ । वीरेन्द्रनगर–१० की यशोदा सापकोटाले पनि कक्षा १२ को परीक्षा दिएपछि खाली समय सदुपयोग गर्न नगरपालिकाको सहयोगमा अटो रिक्सा चलाउने तालिम लिइन् ।

त्यसपछि आफैँले अटो रिक्सा पनि किन्नुभएकी उनले कमाइ गर्दै मासिक रु १७ हजार ५०० किस्ता तिर्दै आएकी छन् ।

“प्रायः पुरुषले मात्र गर्ने काम खाली बस्नुभन्दा मैले पनि सुरू गरेँ, अहिले परिवारका अरू सदस्यको आम्दानीमा मेरो पनि थप भएको छ”, यशोदा भन्छिन्, “घरखर्च चलाउन सजिलो भएको छ ।”

उनको परिवारमा नौ जना छन् । परिवारको खर्चमा आफ्नो आफ्नो आम्दानीले पनि सहज बनाएको उनी बताउछिन् ।

“कामलाई सानो वा ठूलो भनेर वर्गीकरण गरेर मात्र बस्ने पनि समाजमा छन्, मैले कामलाई समानरूपमा सोच्छु,” यशोदा भन्छिन्, “म पनि त्यसै गरेर बसेको भए बेरोजगार युवामा पर्थें, अहिले त आत्मनिर्भर भएकी छु ।”

वीरेन्द्रनगर नगरपालिकाकी प्रमुख मोहनमाया ढकालले पनि महिला आफ्नै खुट्टामा उभिनका लागि यो पेसा रोज्न थालेको बताउछिन् ।

“सुरुसुरुमा त हामीले खोलेको जति सङ्ख्यामा पनि आवेदन पाएनौँ”, उनी भन्छिन्, “अटो चलाउने भनेपछि अर्कै सोचाइ हुन्थ्यो अब भने कार्यालयमै आएर हामी यो व्यवसाय गर्छौं तालिम कहिले खुल्छ भनेर सोध्नुहुन्छ ।”

नगरपालिकाको ‘महिला स्वरोजगार कार्यक्रम’ अन्तर्गत आर्थिक वर्ष ०७५÷७७ बाट अटो रिक्सासम्बन्धी तालिम दिन थालेको हो नगरपालिकाका ६५ जनालाई अटो रिक्सा चलाउने तालिम प्रदान गरेको नगरप्रमुख ढकाल बताउछिन् ।

“सुरूमा तालिम पूरा गरेका १४ महिलाले अटो किनेर पनि व्यवसाय गरिरहनुभएको छ”, उनी भन्छिन्, “त्यो देखेपछि अरू महिला दिदीबहिनीको पनि अटोमा आकर्षण बढ्दै गयो, यो विपन्न महिलालाई लक्षित कार्यक्रमलाई हामी निरन्तर सञ्चालन गर्छौं ।”

“जसले आफ्नो तर्फबाट धितो राखेर ऋण निकाल्न सक्दैन, त्यस्ता विपन्न परिवारका महिलालाई छनोट गरी तालिम प्रदान ग¥यौँ”, उनी भन्छिन्, “लाइसेन्सको प्रक्रियामा गइसकेपछि उनीहरूलाई अटो किन्न रु एक लाख अनुदान दियौँ, रु एक लाख बिनाब्याज एक वर्षभित्र तिर्ने गरी ऋण दियौँ ।”

तालिम खर्च पनि नगरपालिकाले नै व्यवस्था गरेको छ । रु दुई लाख नगरपालिकाका तर्फबाट पाएपछि उनीहरूलाई सुरूमा तिर्नुपर्ने रकम तिरेर आफैँले रोजेको कम्पनीको अटो रिक्सा किन्न दिने गरेको नगरप्रमुख ढकाल बताउछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर