✍️ वसन्त अनुभव

मुक्तक – एक

यहाँ केही गरेर देखाउनु छ, मर्नुभन्दा पहिले
निकम्मा बिल्ला हटाउनु छ, मर्नुभन्दा पहिले
हे दैव१ क्षमता भरिदे ममा, अनि साहस पनि,
आमाको मुहार हसाउनु छ, मर्नुभन्दा पहिले

मुक्तक – दुई

रहेन खेत र बारी कसैको खाने गाँस रहेन
भोलिसम्म जीवित हुनेनहुने विश्वास रहेन
अतिक्रमित गरेपछि खोला नदिको किनार,
उजाडियो बस्ती नै कसैको घरबास रहेन

मुक्तक – तीन

रगतको डल्लो जब हुर्केर बढेर आउँछ
जवान भएसँगै घरमा श्रीमती भित्राउँछ
विचार मिल्दैन, अर्घेलो हुन्छन् बाआमा,
लाज नमानेर उसैले वृद्धाश्रम पठाउँछ

मुक्तक – चार

काम गर्नै पर्यो पापी पेटको सवाल छ
घरको अवस्था नै नाजुक र बेहाल छ
पढ्ने रहर हुँदाहुँदै बाध्य छु काम गर्न,
अन्नको दानो छैन घरमा अनिकाल छ ।

मुक्तक – पाँच

द्वन्द्व होइन विश्वमा शान्ति ल्याउन सक्नुपर्छ
हरेक मनुष्य हेर निर्धक्क रमाउन सक्नुपर्छ
धेरै पियो आलो रगत आततायी हतियारले,
अब बन्दुकलाई नै कलम बनाउन सक्नुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर