बेग हानी आको बतास ठूलो पर्खालमा ठोक्किए जस्तै बेग हानी आको ‘डिलक्स’ बुढीगंगाको किनारमा रोकियो । म निद्राबाट ब्युँझिएँ । “ल है ल । खाजा खानेहरू ओर्लिनुस । चिया बिस्कुट खाने ओर्लिनुस । सर्ट ट्वाईलेट , लङ्ग ट्वाईलेट गर्नेहरू पनि गरिहाल्नुस । अब गाडी बिच बाटोमा रोकिने छैन ।” खलासी यति भनेर बसको पाङ्ग्रा अड्याउन ढुंगा खोज्दै थियो । बुढीगंगा किनारको चिसो हावाले नुहाएँ ।
गुलाबी घाम डुब्नै लागेको थियो । क्षितिजले सूर्य आधा निलिसकेको थियो । मान्छेका छाया लामालामा थिए । ब्यस्त साँफे बजारमा चहलपहल निकै थियो । गाडीहरूले हारन बजाईरहेका थिए । बस छुट्ने समय थियो त्यो । सायद उनीहरू पनि हारन बजाएर यात्रु फकाउँदा हुन । जसरी उहिले मुरली बजाएर कृष्ण , गोपिनीलाई फकाउँथे रे ।
फेरि खलासी बोल्यो ,” यात्रुहरू मज्जाले आराम गर्नु होला । टायरमा केही खराबी आएको छ । टायर फेर्नु पर्ने भयो । केही समय लाग्नेछ ।”
सबै जना नजिकैको ठूलो होटेल तिर कुदे । मैले छेऊ तिरको सानो खाजाघर तिर खुट्टा लम्काएँ । त्यो खाजा घरमा त्यती भींड थिएन । एक जना म भईहालेँ , एक जना अर्को यात्रु कुना तिर बसेर हुक्का तानीरहेका थिए । ती यात्रुले मुखबाट धुवाँ यसरी फालीरहेका थिए कि मानौँ- ती मान्छे होईनन् । ईटाभट्टा हुन् ।
लामो कपाल । बहुत कालो कपाल । थेप्चो नाक । गहुँ गोरो बर्णकी । गाजलु आँखा। पिपल पाते ओठ । बाटुलो निधार । बारूली कम्मर । कानमा झुम्काना लाएकी । अग्ली । पिङ्क कलरको कुर्तामा सजिएकी एक जना केटीमा ध्यान पुग्छ मेरो । मन तानेर उसले लैजान्छे । मेरा आँखाहरु उसलाई तान्छन् । सायद साहुजीकी छोरी हुन क्यारे !
नभन्दै एकै छिनमा साहुनीले भनिन् ,” माघी । जा लाटी बाख्रालाई घाँस काटी लैया पन (पनि ) त ।”
आमाको बोली भुँईमा पोखिन नपाउँदै छोरी डालो , हँसिया र नाम्लो बोकेर बुढीगंगा पारी गै । ऊ बिस्तारै बिलाई । भुँईमा पोखिएको असिना बिलाए जस्तो । म एकोहोरो हेरीरहेँ । हेरीरहेँ । रेल छुटेको यात्रु जस्तो । मैले पोखिएको उनको सुन्दरतालाई टिप्न सकिनँ । न उनलाई नै टिप्न सकेँ।
टाउकोमा रातो सल बेरेकी साहुनीलाई मैले चिया बनाउन भनेँ। चियाको अर्डर गरेर म साहुजी बसेको छेऊको रातो कुर्चीमा बसेँ।
के छ साहुजी ? आराम हुनुहुन्छ नि ?
ठीक छु । तपाईलाई के कस्तो छ ?
आराम छु हजुर । उफफ् कस्तो गर्मी है यो साँफेमा ।
यहाँ त यत्तिको हजुर । धनगढी, महेन्द्रनगर झन् कसो होला ? लकडाउन हुन लाईगो । छोरालाई उतै बस भन्या । भन्याको मानेई न । नाई, बुवा म गर्मीमा बस्न सक्दैन भन्यो । अनि अब भोलि पोरू (पर्सी) आउला ।
ए हो र ? हजुरको छोरा के पढ्नु हुन्छ?
ईन्जिनियर पढ्छ हजुर ।
ए ए । कति छोरा छोरी हजुरका ?
एकै छोरा हो हजुर ।
अनि भख्खरै घाँस काट्न गएकी छोरी कसकी हुन ? हजुरकी होईनन् र ?
आफ्नी छोरी भनुँ कि नभनुँ कि ? अढली (गाह्रो) प्रश्न सोध्नुभो हजुर ।
किन र हजुर त्यस्तो चै ?
त्यसको लामो कथा छ ।
सुनाउनुस न साहुजी । म सुन्छु नि । मेरो गाडी बिग्रेको छ
केही समय अझैँ लाग्छ । यहीँ बस्नुपर्ने भो ।
सुन्नु हुने हो त ?
सुन्छु नि ।
मेलै आँखा साहुजीको मुख तिर सोझ्याएँ अनि कान भुईँभरि ओछ्याएँ ।
टेबुलमा राखिएको हरियो जगको पानी साहुजीले घुटुघुटु एकै सासमा पिए । केही पानीका बाछिटा जगेलोमा पोखिए । पुर्णिमाको दिन धर्तीमा जून पोखिए जस्तो । पोखिएका बाछिटाहरूलाई हत्केलाले यताउती पुछ्दै साहुजीले कथा यसरी सुरू गरे । हृदयमा हिम्मतको क्षेत्रफल बढाउँदै म ध्यान पुर्वक सुन्न लागेँ ।
—000—
यो एउटी त्यस्ती छोरीको कथा हो , जसले आज सम्म आफूलाई जन्मदिने आमाबाट ‘छोरी’ शब्द सुनेकी छैन । यो एउटा त्यस्ती बच्चीको कथा हो , जसले आज सम्म आफ्ना बुवाको चित्र समेत देखेकी छैन । यो एउटा त्यस्ती बहिनीको कथा हो , जसका आफ्नै दाई छैन। र यो एउटा त्यस्ती दिदीको कथा हो , जसको आफ्नो भाई छैन ।
हाम्रो घर बाजुराको हिमाली गाउँ पालिका हो । हाम्रो अझैँ पनि बसोबास त्यहीँ छ । हामी आमाका तीनटा छोरा हौँ । आज आमा हामी संगै हुनुहुन्छ । बुवा हुनुहुन्न । कान्छो भाईको परिवार र आमा उतै गाउँमा बस्छन् । म यतै होटेल चलाएर बसेको छु ।
हाम्रा थुप्रै भेडाहरू थिए । हामी भेडी गोठाला हौँ । उहिलको समय साह्रै अढली छियो (थियो ) । अहिलेका जस्ता बाटाघाटा थिएनन् । बजार थिएनन् । भेडाहरूबाट ओसारेर अख्खडी (पुरै) कर्णालीका हुम्ला, जुम्ला , कालिकोट , जाजरकोट , मुगु , डोल्पाका जनतालाई नुन चखाएकै हो । भात चखाएकै हो । यता सुदुरपश्चिमका बाजुरा , अछाम , डोटी , बझाङग , दार्चुलामा पन हामी भेडाबाट नुन , चामल ओसारेर लिन्थ्यौ । कैयौँ उकाला चढ्यौँ । कैयौँ ओराला झर्यौँ ।
माघको महिना थियो । हिमाल हिउँ पड्न लाग्यो । अब भेडा औल (बेंसी) लैझाऊ भनेर बाले भन्न थाले । माघका एक छकालै (बिहानै) माईलो भाई , माईली बौरानी र मेरा दुई जना , सबै मउकविला (परिवार ) भेडा औल लिन लाग्यौँ। ठण्डो (चिसो) भन्याको बैरी ।
माईली बुहारीको लादोउदो (पेटमा ) र मेरी वालीको गादाउँदो (पिठ्युँमा) बच्चा थियो । बिहानै भेडा लिएर हिँड्यौँ हामी ।
बाजुराको मार्तडी र कोल्टी छुट्याउने ठूलो डाँडो छ । पोरख्या भन्छन् त्यसलाई । त्यहाँ पुग्दा बासाको छ बज्याको हुँदो हो । बेल बुढीगयो (सूर्य अस्तायो) । अब एक बास त्यतै बस्नु पर्ने भो । हामी दाजुभाई दाउरा मुढा खोज्न लाग्यौँ । माईली बौरानी पेट दुख्यो भनेर त्रीपाल भित्र बसिन् । घरवाली पानी लिन गई ।
एकैछिनमा त्रिपाल भित्रबाट बच्चा रोएको आवाज आयो । हामी खुशी भयौँ । छोरी जन्मिछ । भोट्याको जात हजुर । कहाँको घरमा बसी बच्चा पाउनू , कहाँको अस्पताल झानू । सबैका बच्चा बाटोघाटोमै जन्मिँदा । हिँड्दा हिँड्दै जन्मिँदा । अस्पताल क्या हो कनैले (कसैले) रायाको नाई ( चिनेको नाई ) । मेरो छोरो पन हिँड्दा हिँड्दै बाटोमै जन्मियो । यो छोरी पन बाटोमै जन्मी। हामीलाई पन हाम्री आमाले बाटोमै जन्माएकी हुन ।
भेडाको घ्यूमा तात्तातो जौको धुलो भुटीकन गजगजे (हलुवा) बनाई दियौँ । मलाई ठ्याक्कै दिन र गते त याद छैन । त्यस दिन माङ्लबार (मंगलबार ) थियो । छोरी माघ जन्मेकी हुनाले उसको नाउँ “माघी” राख्यौँ हामीले । त्यहाँबाट पाँच दिन बसेपछि हामी भेडा लिएर खप्तड गयौँ।
फागुनको मध्य तिर असाध्यै ठूलो पानी र हिउँ पर्यो खप्तडमा । घुँडा घुँडा हिउँ आयो । जाडी झिक्कै (चिसो धेरै) । भेडाहरू हिउँमा डुब्या । राती सुतेका बेला ठूलो चिड्को ( चट्याङ) पड्यो ( पर्यो ) । हामीले टेन्ट बनाएको नजिकै । माईलो भाईको निस्सै (नजिकै ) पड्यो । भाई अधघाईते भयो । छकाल उज्यालो नहुँदै भाईले यो धर्ती छाड्यो । भाई सधैँका लागि गयो । सास र हामीलाई एकै चोटी बिर्स्यो । पापी दैबले अकालै लियो मेरो भाईलाई ।
यतिञ्जेल साहुजीका आँखाभरि आँशु थिए । केवल खस्न बाँकी थिए । छेऊमा मेरा आँखाहरु पनि ओभाना रहेनन् । साहुनी बाहिर भट्टीमा थिईन् । चिया अघि नै आईसकेको थियो । मैले गिलास अघि नै रित्याईसकेछु । साहुजीले फेरि पानी घुटुघुटु पिए । बायाँ हातले निधार माथिको पसिना पुछे । फेरि उसै गरी कथा सुरू गरे ।
खप्तडमा हामी लगायत अरू मौकविलाका (परिवारका) पन भेडा थिए । दिउँसो अलिलि घाम झुल्क्यो । हामीले लासलाई त्यहाँ बाट बोकेर दारूगाउँको आर्यघाटमा जलायौँ । मैले दागबत्ती थिएँ । हेर्दाहेर्दै मेरो भाई रखानी (खरानी) भयो । हेर्नुस हजुर । मान्छेको जीवन भन्नु पन साला खरानी रैछ । उहिले , अहिलेका जस्ता फोन थिएनन् । घरमा फोन गर्न पन पाईएन ।
चैत लाग्यो । अब गर्मी सुरू भयो । हामी फेरि भेडा घर लिन लाग्यौँ। खप्तडबाट हिँडेको दश दिनमा घर पुग्यौँ। घरमा बा आमाले , भाई खोई भनेर सोध्न लागे । म रून लागेँ । घरवालीले देवर बितेको सुनाई । अब बुवा , आमा , म , मेरी घरवाली ,मेरो छोरो , माईली बौरानी र छोरी मात्रै भयौँ । छोरी साढे तीन महिनाकी भई ।
साहुजी एकछिन रोकिए । बातावरण शून्य भयो । होटेल अगाडिको आरूको बोटमा चराहरू चिरबिर चिरबिर गरेको होटेल भित्रै सम्म सुनिन्थ्यो । भट्टीमा साहुनीले केही फ्राई गरीरहेको आवाज र बासना संगै आउँथ्यो । साहुजी फेरि बोल्न थाले ।
छोरी उन्नाईस महिनाकी भएकी थिई । छोरीको मुख ठ्याक्कै आफ्ना बुवाका जस्तो थियो । एकदिन माईली बौरानी घट्ट धुलो (पिठो) पिस्न गएकी थिइन् । पछि बेलुका घट्टालाले (घट्ट मालिकले ) धुलो ल्याईदियो । माईली बौरानी उतैबाट कालिकोटका एक भोट्या संग पोईल गएको रैबार (खबर) सुनायो । हामी त्यसपछि उसको खोजीमा निस्केनौँ । मेरा र भाईका सुईनामी (सपनामा)आगो लगायो बौरानीले । हामी मान्छे नाना (साना) भया पन सुईना ठूला देख्थ्यौँ ।
पछि बुवाकै सल्लाहले भेडा बेच्यौँ । भेडा बेचेको पैसाले यहीँ होटल किनेँ । छोरीलाई पाल्यौँ , ताल्यौँ । टुहुरी छोरी पाल्नु भनेको शीतका थोपाथोपा बटुलेर गाग्री भर्नु जत्तिकै अढली हुँदो रैछ । छोरी ठूली भई अब । छोरीलाई आज सम्म कसैले सुनाएको छैन , ” तेरी आमा छैन । तेरो बा पनि छैन । दिमागमा असर नपुगोस् भनेर कहिल्यै सुनाएका छैनौँ । उसले सम्झेकी छे , उसका बा आमा हामी हौँ । हामी उसका आमा बा त हौँ तर कर्मदिने आमा बा हौँ । जन्मदिने आमा बा होइनौँ । त्यसैले अब तपाई आफै भन्नुस हजुर छोरी कसकी हो ? छोरी कसकी होईन ?
—-000—–
मेरो गाडीले हारन बजायो । धर्तिमा अँध्यारो पोखिनै लागेको थियो । हाटबजार झिलिमिली हुने बेला भयो । साहुजीलाई चिया बिस्कुटको पैसा तिरेँ।
बस चढ्नु अघि साहुजीलाई फोन नम्बर मागेँ । साहुजीका आँखाले “अब साँफे आउँदा फेरि आउनू” भनिरहेका थिए । मेरा आँखाहरु कथा सुनेर अघाएका थिएनन् । “हुन्छ” भन्ने ईशारामा मैले टाउको हल्लाएँ । हात हल्लाउँदै काँधमा झोला भिर्दै म त्यहाँबाट निस्केँ। मेरा पाईलाहरू बहुत गरुङ्गा भएका थिए ।
बसले एक पछि एक मोडहरू पछाडि धकेल्दै साँफे माथिको उकालो चढ्यो । हेर्दाहेर्दै साँफे छुट्यो । हेर्दाहेर्दै साहुजीको होटेल छुट्यो । हेर्दाहेर्दै बाँकी कथा उतै छुट्यो । छुट्नु भनेको फेरि भेट हुनु हो भनेर चित्त बुझाएँ । गाडीमा गीत बजिरहेको थियो–
“पैयाँ गुडन लाग्या , बम्बै जान्या रेलगाडीका , पैया गुडन लाग्या
अब छुटन लाग्या , पहाडका डाँगा खोला , अब छुटन लाग्या ।”
प्रतिक्रिया
-
४
