काठमाण्डौ – चितवनलाई केन्द्रमा राखेर विभिन्न साहित्यिक गतिविधी गर्दै आईरहेको कविडाँडा साहित्य समाजको २० औँ वार्षिकोत्सवको अवसरमा पनि विभिन्न व्यक्तिहरूलाई सम्मान तथा पुरस्कार वितरण गर्ने भएको छ ।
कविडाँडा साहित्य समाज चितवनको कार्यसमितिको बैठकले समाजको २०औँ वार्षिकोत्सव तथा सम्मान/ पुरस्कार वितरण समारोह २०७९ जेठ १४ गते गृहनगरमै भव्यताका साथ सम्पन्न गर्ने निर्णय गरेको छ ।
सो समारोहमा समाजले कविडाँडा राष्ट्रिय सुवर्ण-तुलसी काव्य पुरस्कार पोखराका वरिष्ठ कवि तीर्थ श्रेष्ठलाई प्रदान गर्ने निर्णय समेत गरेको छ । ३० हजार रूपैयाँ राशिको सो पुरस्कारसँगै सम्मानसमेत गरिने छ ।
यसैगरी कविडाँडा देव-खीना स्मृति सम्मान तथा पुरस्कार मकवानपुर जिल्लाका वरिष्ठ साहित्यकार तुलसी थापालाई १५ हजार १ सय ६० रूपैयाँ र सम्मान गरिने भएको छ ।
यस्तै चितवनका वरिष्ठ साहित्यकार रेशम विरहीलाई १५ हजार १ सय ६० रूपैयाँ नगदसहित सम्मान गरिने पनि सोही बैठकले निर्णय गरेको छ ।
यसैगरी कविडाँडा अविनाशी कृति पुरस्कार २०७८ सालमा प्रकाशित मोक्ष उपन्यासलाई प्रदान गरिने भएको छ । यो उपन्यास सिर्जन अविरलले लेख्नु भएको हो । उहाँलाई पनि १५ हजार १ सय ६० रूपैयाँसहित सम्मान गरिने भएको छ ।
यसैगरी कविडाँडा राष्ट्रिय युवा बागमयी प्रतिभा पुरस्कार
नवलपुर जिल्ला गैंडाकोट निवासी पत्रकार तथा गजलकार लेखाराम सापकोटालाई १५ हजार १ सय ६० नगदसहित सम्मान गरिने भएको छ ।
कविडाँडाले राष्ट्रिय उत्कृष्ट आख्यान पुरस्कार समेत प्रदान गर्ने गरे पनि सोको घोषणा केही समय पछि गरिने कविडाँडा साहित्य समाजका अध्यक्ष एलबि क्षेत्रीद्वारा जारी गरिएको विज्ञप्तिमा जनाइएको छ ।
प्रतिक्रिया
-
४
