काठमाडौं- काठमाडौं उपत्यकासहित वागमती प्रदेशमा सार्वजनिक यातायातका साधन र ट्याक्सीको बढेको भाडा आजदेखि लागू भएको छ।
इन्धनमा भएको मूल्यवृद्धिसँगै संघीय सरकारले केन्द्रीय भाडा १० देखि १५ प्रतिशतले बढाएपछि वागमती प्रदेश सरकारले पनि भाडादर समायोजन गरेको थियो। श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयको शुक्रबारको निर्णय अनुसार भाडा वृद्धि गरिएको हो। वृद्धि भएको भाडा नयाँ वर्ष अर्थात आजबाट लागू गरिएको छ।
आजबाट सार्वजनिक सवारी साधनको ५ देखि २० किलोमिटरसम्मको भाडादर २ देखि ३ रुपैयाँसम्म बढेको छ। काठमाडौं उपत्यकामा ५ किलोमिटरसम्मको दूरीका लागि २ रुपैयाँ बढेको छ। २० किमिभन्दा बढीका लागि ३ रुपैयाँ बढेको छ।
नयाँ भाडाअनुसार ५ किमिमा २० रुपैयाँ हुनेछ भने २० किमिभन्दा बढीको दूरीमा भाडा ३८ रुपैयाँ भाडा तिर्नुपर्ने छ।
सुरुमा ट्याक्सी चढ्दा (फ्ल्याग डाउन) ५० रुपैयाँ कायम गरिएको छ। यसैगरी वाग्मती सरकारले ट्याक्सीको प्रति २०० मिटरको भाडा १० रुपैयाँ बनाएको छ। प्रतीक्षा शुल्क प्रतिमिनेट १.२० रुपैया तोकेको छ। बढीमा ३० मिनेटसम्म मात्रै प्रतीक्षा गर्न पाइने छ।
रात्रिकालीन ट्याक्सीको भाडादर प्रति २ सय मिटर १३ रुपैयाँ तोकिएको छ। मालवाहक सवारीको भाडा १३ प्रतिशतले बढाइएको छ।
प्रतिक्रिया
-
४
