✍️ राधिका कल्पित

बाबु ! परिबारमा मिलेर काम गरौँ भन्यौ
मलाई फकाइफुल्याइ
हलो र जुवा थमाई खेतमा पठायौ
आफुले श्रीखण्ड र शिखा समायौ
आफु मुरी र पाथी भरुवा बन्यौ
मलाई हरुवा चरुवा बनायौ ।

कान्छा ! तँ गीत गा म सुन्छु भन्यौ
म सोझो, दाजुलाई खुसी बनाउन
काठमा तार जोडेर सङ्गीत भर्न तल्लिन भएँ
आफ्नै कर्म र धुनमा रनभुल्ल भएँ
तिमी आफ्नो जिउमा धागो बेर्यौ र
आफुलाई तागाधारी घोषित गर्यौ
सङ्गितशास्त्रीलाई अछुत गाइने भनिदियौ
आफू जमिन, जल र जङ्गलको मालिक बन्यौ
मलाई आफ्नै घर भित्र छिर्न नपाइने बनायौ ।

साने ! तँ सहनाई बजाई म स्वस्ति गर्छु भन्यौ
मैले पञ्चेबाजामा पञ्चध्वनी भर्न थालेँ
तिमी वेद र भागवत पढ्न थाल्यौ
आफुलाई कथित चोखो हड्डी भनिदियौ
वाद्यवादकलाई वर्जित बर्ग बनाइदियौ ।

भाइ ! म सिकार खेल्छु तँ हतियार बनाई भन्यौ
मैले आगो बालेँ, फलाम पगालेँ र औजार बनाएँ
तिमी तिनै हतियार बोक्यौ र राजा बन्यौ
म आरन धान्नेलाई कामी भनिदियौ।

कान्छा१ हामी अब सभ्य भयौँ जिउ ढाक्नुपर्छ भन्यौ
म सियो र धागो लिएर कलमा कला भर्न थालेँ
तिमी दुइचार अक्षर सिक्यौ र म माथि मर्जि चलायौ
सूचिकारलाई शुद्र भन्दै दर्जी बनायौ ।

ठुल्दाजु ! के के मा सुनपानी छर्कन्छौ ?
तिम्रा कमिजका टाँकका हेभिङमा मेरा रगतका छिर्काहरु छन्
तिम्री बाहुनीको चोलाको तुनाको तुरपाईमा
मेरी सुजिनीको थुक र आँसु लतपतिएको छ ।

तिम्रा हरेक मंगलकार्यमा
अछुतको जुठो मुखबाट निस्केको
सहनाई र कर्नालको संगित फेरि कसरी मंगल ?
मेरा अस्पृश्य पाइतालाले माडेर निस्केका अक्षताका बियाँहरू
फेरि कसरी शुद्ध ?
मैले बनाएको ओदानमाथि बसालेर मैले बनाएको ताप्केमा
मैले नै माडेको परालको धानको भात कसरी चोखो ?
मेरो अछुत आङबाट निस्केका पसिना मिसिएको पाइनले
तपाईंका जिउमा सजिने अलंकार कसरी पबित्र ?

हे ! मेरा अस्त्रहरु खोसेर मलाई नै कमजोर बनाउनेहरू हो
हे ! मेरा बस्त्रहरु खोसेर मलाई नै नाङ्गा बनाउनेहरु हो
मेरा हातगोडामा तिमीले लगाएका फलामका साङ्लामा
खिया लागिसकेको छ
मलाई पढ्याइएका झुठा शास्त्रको भेद अब खुलिसकेको छ ।

हे ! मैले नै बनाएको कुन्जीले
मलाई नै दासत्वको जेलखानाको थुन्नेहरू हो
हे ! जदौ ! जदौ ! गर्नेहरुमाथि ज्यादती गर्ने विस्टहरू हो
खबरदार !
अब जदौ जदौ गर्नेहरू
जालन्दरहरुका बिरुद्ध
जङ्ग सुरु गरिसकेका छन्
गर ! प्रहार गर ! के ले गर्दा रहेछौ !
तिम्रा औजार अर्जाप्ने
हाम्रा आरन बन्द भइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर