काठमाडौं – नेपाली काँग्रेसका नेता गगन थापाले आफ्नो मन निकै भारी भएको प्रश्नहरुले घेरिएको टिप्पणी गरेका छन् । ‘आखिर हामी कहाँ चुक्यौँ ?’ भन्दै आफूलाई प्रतिप्रश्न गर्दै मस्तिष्क प्रश्नहरुले घेरिएको बताएका छन् । सामाजि सञ्जालमा ट्वीट गर्दै नेता थापाले एकपछि अर्को युवाहरुले आत्महत्या गर्नुलाई गम्भिर भएको बताउँदै यतिका वर्षदेखि गरेको राजनीतिक सङ्घर्षको अर्थ अनर्थ भएको विचार ब्यक्त गरेका छन् । एक्लोपन बढेको छ। मान्छे स्क्रिनसँग बढी निकट हुन थालेको छ। मनका कुरा राख्ने ठाउँ भेट्न छोडेकोतर्फ उनले संकेत गरेका छन् । पढौं उनको विचार जस्ताको तस्तैः

पछिल्ला केही हप्तामा सामाजिक सञ्जाल, युवा कलाकारहरूको आत्महत्याको खबरले भरियो। एकपछि अर्को प्रतिभाले आफ्नो जीवन अन्त्य गरेको देख्दा मन कुँडिएको छ। आज बिहान सामाजिक सञ्जाल खोल्दै गर्दा एक जना अर्को कलाकारको त्यस्तै खालको अभिव्यक्ति देखेँ। एकदमै अत्यास लाग्यो।

आखिर हामी कहाँ चुक्यौँ ? हाम्रो समाज कहाँ चुक्यो ? किन हरेक वर्ष आत्महत्या गर्नेहरूको सङ्ख्या बढिरहेको छ ? हामीले यतिका वर्षदेखि कसका लागि सङ्घर्ष गर्‍यौँ ? हामीले गरेको राजनीतिले, युवाहरू आफ्नै मनसँग लडी रहँदा उनीहरूलाई सहारा दिन सक्दैन भने, युवाहरूलाई बाँच्ने आशा दिन सक्दैन त्यो राजनीतिको के अर्थ ? खै हामीले समाजको आवश्यकता बुझेको ? हामीले गर्ने राजनीति जनताको लागि हो। उहाँहरूको जीवन भौतिक विकास बाहेक अरू पनि थुप्रै विषयसँग जोडिएको छ भनेर बुझ्न अझै कति समय लाग्ने हो ?

सामाजिक सञ्जालमा साथीको सङ्ख्यासँगै मानिसहरूको एक्लोपन बढेको छ। मान्छे स्क्रिनसँग बढी निकट हुन थालेको छ। मनका कुरा राख्ने ठाउँ भेट्न छोडेको छ। मानसिक रूपमा सङ्घर्ष गर्दै छु भन्दा लाज मान्नु पर्ने कस्तो समाजको निर्माण गर्‍यौँ हामीले ? कसैले हिम्मत गरेर मलाई परामर्श चाहिने छ भन्यो भने पनि शुल्कका कारण त्यो सुविधा लिन नसक्ने अवस्था छ।

अब पनि हामीले ठोस कदम नचाल्ने हो भने, हामीले भविष्यमा धेरै मानिका र सरोनहरूलाई गुमाउने छौँ। हामीले त्यो अवस्था कदापि आउन दिनु हुन्न। यसमा तपाईँ हामी सबैको भूमिका रहन्छ। हाम्रो नेतृत्वमा काठमाडौँ महानगर वार्ड नं ३० मा सञ्चालन भइरहेको शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रले निस्शुल्क परामर्श सेवा प्रदान गरिरहेको छ। हामी चाँडै नै मानसिक स्वास्थ्यका लागि आवश्यक थप सेवाहरू बिस्तार गर्ने छौँ। तपाईंले यहाँबाट पनि निःशुल्क सेवा लिन सक्नु हुने छ।

अब मानसिक स्वास्थ्य सम्बन्धी चेतना, परामर्श र उपचार स्थानीय निकाय बाट हुने गरी सामान्य व्यक्तिको पहुँच पुग्ने संयन्त्र निर्माण गरौँ। हरेक व्यक्तिले आफ्नो भावनात्मक, मानसिक स्वास्थ्यलाई बुझ्ने, सहयोग चाहिएमा प्रोफेसनल सहयोग पाउने अवस्था सृजना गर्नु पर्छ। विद्यालयहरूमा सानै उमेरबाट बालबालिकाले यस्ता खाले जानकारी र सहयोग पाउन सके भने, कालान्तरमा उनीहरूका लागि सहज हुन्छ। हामीले यस सम्बन्धी पहल कानुनी रूपमा नै गर्नुपर्छ। हामीले आफ्ना नानीबाबु, भाइबहिनीहरूलाई नै बचाउन सक्दैनौँ भने हामीले गरेको सङ्घर्षको, हाम्रो राजनीतिको के अर्थ ?

प्रतिक्रिया

सम्बन्धित खवर