– बलदेव के.सी.

म जाँदै जान्न
रुपैयाँको परदेश

मेरा कानले सक्दैन टुटाउन
बग्दै गरेको  नदिको आवाज
सुनाउन चाहेर पनि
म सक्दिन सुनाउन
मेरा छतिका सुकिला अनूभवहरू

मलाई थाहा छ
रुपैयाँको लागि परदेश गएँ भने
मेरा आँखा बिरानो हुन्छ
नदेख्दा, भिर पाखामा फुलेका थरिथरिका रङ्गहरू

म माटोको साथी हुँ
र त बादलले थोपा पार्न साथ
खेतबारीको सुगन्ध आईपुग्छ मेरो नाकसम्म
म कसरी अलग गरुँ ?
खेतबारीबाट मेरो यो चुच्चे नाकलाई

मलाई खुब मन पर्छ
हल गोरुको पाईलामा हिंड्न
भर्खर ब्याएको बाख्राको पाठो बोक्न
हरेक बिहान भाले बासेको सुन्न
जन्म दिने आमाको पछिपछि हिँडन

म परदेश गएँ भने
गौँथलीले पनि मेरो घरमा घर बनाउने छैन

जङ्गल र घरहरूमा लागेको आगो निभाउँदा निभाउँदै
बाढी र पहिरो पन्छाउदा पन्छाउदै
भूकम्प र कम्पहरूमा खटिँदा-खटिदैँ
जोगिएको यो सानो शरीरसँग
अलिकति छ पसिनाको म‍ोति
यदि तिमी पनि
अल्झाउन चाहन्छौ भने आफ्ना पाईला यहीँको माटोमै
आउ म सँग लिएर जाउ
र रोप अदुवा र बेसार
घर भन्दा पहिले देश बनाउ

हेर त
घर माथिको घाम र जून को दुरीभन्दा
देश माथिको घाम र जूनको दुरी नजिक हुन्छ ।

***

प्रतिक्रिया

सम्बन्धित खवर