– सरस्वती श्रेष्ठ सरू
१.
समयले हर दु:ख पिउन सिकाउँछ
फाटेको हृदयलाई सिउन सिकाउँछ
पढ्नै पर्दैन जीवन लेखिएको शब्दकोश
ढुक्क हुनुस् भोगाइले जिउन सिकाउँछ ।

२.
बालापनमै बेहुलीको घुम्टो ओडेपछि
आफ्ना छोडी पराइसँग नाता जोडेपछि
साथीसङ्गी, इष्टमित्र, पानी पँधेरो
कस्तो भयो होला मैले गाउँ छोडेपछि ।

३.
मायाको मानो भरिन्न न भरिन्छ पाथी
न गहिराइ नापिन्छ न उचाइ साथी
एक अर्काको विश्वासमा अडिन्छ माया
यो विराट हृदयको आवृत्तिभन्दा माथि ।

४.
जसले घात गर्‍यो जीवनमा उसलाई सम्झिन्न
आँत कठ्याउने चिसो पुसलाई सम्झिन्न
होस्, जेसुकै होस् त्यो अतितको कुनामा
दिल झिकेर राखेको मदुसलाई सम्झिन्न ।

५.
मायामा स्वार्थ फल्न थालेपछि
आगोबिना नै दिल जल्न थालेपछि
के हुन्छ, के हुँदैन प्रेमको दुनियाँमा
अनायास विश्वास ढल्न थालेपछि ।

***

प्रतिक्रिया

सम्बन्धित खवर