मनिराम मञ्जिल

हामी युवा….
रहेपनि सुदुर प्रदेशका गल्लिहरूमा
बाँचे पनि प्रदेशको निर्मम भूमिमा
निदाउन नपाए पनि एक चैनको निद्रा
सपना देख्न रोक्दो रहेनछ अनिद्राले
पूरा गर्न नपाए पनि वाल्य वयका रहरहरू
इच्छा राख्न छेक्दो रहेनछ निरासाले

आकाङ्क्षा छ
फर्किएर मातृभूमिमा, छर्न सकौँ
सगरमाथाको उचाइदेखि
तराईका विशाल फाँटहरूमा
समृद्धिका विजहरू
उमार्न सकौँ सुरम्य नेपालमा
समृद्धिका मखमली फूलहरू
छर्न सकौँ सुगमताको सुगन्ध

तमाम युवाहरूको अपार उर्जा
र सिर्जनशीलताले
श्रृङ्गार्न सकौँ नेपाल आमाको स्निग्ध अनुहार
रङ्ग उड्नै आँटेको वीर गोर्खालीहरूको
तस्बिरमा पुनः रङ्ग भर्न सकौँ
प्रत्येक नेपालीको निदाएको
स्वाभिमान बिउझाउन सकौँ।

देशले हामीलाई ठूलो गुन लगाएको छ
नेपाली हुनुको गौरव दिलाएको छ
हामी युवा हुनुले पनि देशमा धेरै गर्नु छ
त्यसैले फर्कौ आफ्नै देशमा
पूरा गर्न तिम्रा हाम्रा
साझा सपना, साझा आकाङ्क्षा..

झुक्नै आँटेको सगरमाथा फेरि उठाउनु छ
हराउनै आँटेको बुद्ध मार्ग पुुनः पहिल्याउनु छ
बुद्ध वचनले सान्त पार्नु छ
आणविकको कोलाहाले
रन्थनिएको दुनियाँलाइ

हाम्रो स्वागतार्थ पहाडले
फुलाएको छ लाली गुराँसको सौन्दर्य
हाम्रो स्वागतार्थ हिमाल मुस्कुराएको छ
त्यसैले फर्कौ स्वदेशमै
पूरा गर्न तिम्रा हाम्रा
साझा सपना, साझा आकाङ्क्षा …।

***

प्रतिक्रिया

सम्बन्धित खवर