– देवकी अभिलाषी

म चरा बन्नु अगाडि
आकाशको राजमार्गमा
छुट्नेछन् प्रिय चीजहरु
मात्र हुनेछ बाँकी
छुटिसकेको एउटा छायाँ
आमाले अन्तिम पटक स्पर्श गरेको
औंलाहरुको अलिकति तापक्रम ।

यो भूगोलको माटो छोएर
जब मैले आफ्नो पैताला उठाएँ
कतै बजिरहेथ्यो एकतमासले
भायोलिनको  धून जस्तै
यो देशको राष्ट्रिय गान
हवाइजहाजको पारदर्शी झ्यालबाट
तल हेरें
र पखेटा हाल्दै मनलाई
देश छोएर फर्किएँ एकपटक
दुरी बढ्नु
अत्यन्त दुखद कुरा रहेछ
चाहे आफ्नो प्रिय मान्छेसँग होस्
या त  भूगोल सँग  ।

सोचेथेँ
चुपचाप निक्लनेछु घरबाट
म त जाने मान्छे
सरासर गए हुने थियो
किन बनिरहेछु विक्षिप्त प्रेमीजस्तै ?

म जाँदै गर्दा
फर्काउन  खोजे हिमालहरुले/पहाडहरुले/नदीहरुले
ऐठन जस्तो सपनाको ग्रहमा
जानै पर्ने थियो हिँडिहाले
साच्चै भनौं भने
उस्तै कष्टकर कुरा रहेछ
देश छोड्नु र मृत्युवरण गर्नु !

यति बिघ्न त कहिल्यै
दुखेकै थिएन छात्ती
यति गर्हौ त
भएकै थिएन यो शरीर
किन यो जुन पनि
गाइरहन्छ आगोको गीत
लाग्छ मुटु घरमै छोडेर आएको छु
यति बेला त
आमा पनि  देख्दै होलिन् मेरो सपना
देश छोडेको यो रात
म  रातभर जागै छु ।

***

प्रतिक्रिया

सम्बन्धित खवर